हाम्रो विकास कसका लागि ?

डा सञ्जय कोइराला २०८० असोज ४ गते १२:३९

जनावरहरुमा सबैभन्दा बुद्धिमान हौं हामी मानव जाति । प्रकृतिको अनुपम रचनामध्ये एक हामी मानव जाति विकासको नाममा प्रकृतिबाट अहिले टाढामात्रै होइन, प्रकृति र प्राकृतिक नियमहरु विरुद्ध नै पैठेजोरी खेलिरहेका छौँ । प्राचीन कालमा डाइनासोर सबैभन्दा बलवान प्रजाति थियो भन्ने मानिन्छ । तर प्राकृतिक प्रकोपकै कारण अहिले त्यो प्रजाति नै लोप भइसकेको छ । आफू लोप हुनुमा डाइनासोरको कुनै गल्ती थिएन तर अहिले हामी मानिसहरु प्रकृतिसँगै हिड्न नोखोजेकोमात्रै होइन, आफूले आफैंलाई सर्वोपरी ठानेर प्रकृति विरुद्ध नै खेल खेलिरहेका छौं । हाम्रो अस्तित्व के होला, अब विचार गर्ने बेला आइसकेको छ ।


संयुक्त राष्ट्रसंघका अनुसार हेर्ने हो भने विकास भनेको ती सबै बहुआयामिक पक्ष हुन्, जसले मानिसको जीवनको गुणात्मक स्तर बढाउँछन् । आर्थिक, सामाजिक, शारीरिक, मानसिक पक्षहरु सँगसँगै बिना कुनै डर आफ्नो जीवन खुला रुपमा प्राकृतिक वातावरणमा जिउन सक्ने हुनु नै विकासको अन्तिम उपलब्धि हो भनी दिगो विकास लक्ष्यले परिभाषित गरेको छ । जीवनको साश्वत सत्य भनेको खुसी हो, मानिसले आफू खुसी हुन गर्ने हरेक क्रियाकलाप नै विकासका आधारहरु हुन् । तर आज पूर्ण रुपमा विकसित मानिएका देशहरुमा पनि के मानिस साँच्चै नै खुसी छ ? के ऊ बिना कुनै डर त्रास आफ्नो जिन्दगी बाचिरहेको छ त ? के उ प्रकृतिको नजिक छ त जस्ता प्रश्न उठ्न थालेका छन् ।


वर्तमानमा हामीले बुझेको र जानेको विकासको परिभाषा भनेको कमभन्दा कम मेहनतले मनग्ये धन आर्जन गर्ने, विलासिताका सम्भव भएसम्मका भौतिक उपकरणहरुको स्वामित्व लिने र प्रयोग गर्ने, प्रकृति र प्राकृतिक उत्पादनबाट यथासम्भव टाढा रहने, सामाजिक मूल्य मान्यताबाट कोशौं पर रहने, क्षणिक भौतिक सुखलाई नै अन्तिम सत्य मानेर जिन्दगी बिताउने हो । अहिले मानिस यसरी यो भौतिकवादको दुनियाँमा दौडिरहेको छ कि, उसलाई एक पाइला पनि अरुभन्दा पछि पर्न सकिने त्रासले कुनै पनि क्षण शान्तसँग बस्न दिने अवस्था छैन ।

Advertisement

शारीरिक र मानसिक रुपमा विक्षिप्त रहने र पूरा आरामदायी जीवन बिताउने ! हाम्रो विकासको अन्तिम लक्ष्य यही नै हो त ?


विकासको नाममा भइरहेका वायु, थल र जल प्रदूषणका कारण मानिसले अहिले जीवनको लागि चाहिने हरेक तत्वहरु (हावा, पानी, खाद्यान्न) मा गरेको सम्झौताले उसलाई लोपोन्मुख दिशातर्फ धकेलिरहेको छ । हामीले फेर्ने सास, पिउने पानी र खाने खाना जस्ता हरेक कुरामा मिसावट गर्ने गरेका छौँ । प्राकृतिक रुपमा कुनै पनि वस्तु पाउनु अहिले दुर्लभ भइसकेको छ । यहाँसम्म कि हामीले खाने फलफूल, तरकारीहरुमा समेत कुनै न कुनै मानवीय परिमार्जन भएका छन्, अन्य कुराहरु त आफैं विचार गरौँ । सोही कारण वर्तमानमा मानिसले स्वास्थ्यमा भोग्न थालेका समस्याका चाङ त यति छन् कि हरेक अन्वेषणले नयाँ नयाँ रोग थपिरहेको अवस्था छ । प्रकृतिलाई चुनौती दिँदै गरिएका आणविक परीक्षण, प्राकृतिक स्रोत, साधनहरुको चरम उत्खनन्, जल तथा थलचरहरुप्रति गरिएका चरम शोषणले प्राकृतिक अशान्तिको मार्गमा यो पृथ्वीलाई लागिरहेको छ ।

Advertisement


सुख खोज्दै भौतिक दुनियाँमा रुमल्लिएका हामी मानव जाति अहिले यो भौतिक विकासको चक्रमा यसरी फसेका छौँ कि सायद यसबाट निस्कन सम्भव नभएको आकलन गर्नेहरु नै बहुमतमा छन् । मानव निर्मित भौतिक उपकरणले यसरी हामीलाई जकडेको छ कि यसबाट उम्किने प्रयास पनि गर्न अब मानव जाति असमर्थ भइसकेको छ । मानिस आफूले होइन, अब आर्फैद्वारा निर्मित उपकरणहरुले नै उसलाई दास बनाइसकेको छ । बिना मोबाइल, बिना सामाजिक सञ्जालको अब मानिसले आफ्नो जीवनको परिकल्पना पनि गर्न सक्दैन ।


कृत्रिम बुद्धिमत्ताको अवधारणाले त झनै मानव जीवनमा क्रान्ति नै ल्याउने सबैको आकलन छ । यसले मानिसलाई मानिसबाट नै अब मिलौं टाढा पु¥याउने निश्चित छ । सबै कुरा हातमा रहेको मोबाइलको भरमा सम्भव हुने भएमा त मानिसले अब बाँकी रहेको आफ्नो मस्तिष्कको प्रयोग गर्ने १ प्रतिशतको मागज पनि चलाउन छोड्नेछ । न त अब कुनै शारीरिक परिश्रम चाहियो, न कुनै साथी संगीको सहयोग । न आफ्नो बंश बढाउन प्राकृतिक गर्भधारण नै, बस के चाहियो र, बसी बसी खाने, कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्ने । शारीरिक र मानसिक रुपमा विक्षिप्त रहने र पूरा आरामदायी जीवन बिताउने ! हाम्रो विकासको अन्तिम लक्ष्य यही नै हो त ?


के यही हो त हामीले चाहेको विकासको परिभाषा ? जुन हिसाबमा हामी अहिले अघि बढिरहेका छौँ, यसले त हामीलाई एक दिन अवश्य नै लोप गराउनेछ । आणविक हातहतियारले सुसज्जित हामी हुन पनि जुनसुकै समयमा लोप हुने खतरा त यसै पनि छ, तर बिना कुनै विध्वंश पनि मानव जाति आफ्नै सिर्जनाबाट नै खतरामा रहेको छ । विकासलाई भौतिक उन्नतिको नजरबाट मात्र हेरिरहँदा मानिसले आफूभित्र रहेको सुखको खजानालाई पूरै अनदेखा गरिरहेको वर्तमान अवस्थाबाट पार पाउन पुनः स्वयम् र प्रकृतितर्फ नै फर्किनुको विकल्प छैन । संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यले पनि यी कुराहरुमा विचार गरेको देखिन्छ ।
डा कोइराला पोस्सोन केन्द्रीय उपाध्यक्ष हुन्

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया