विद्यालयमा पठनपाठन बन्द, ट्युसन सञ्चालन

प्रमिला कुँवर २०८० असोज ५ गते १७:२०

पोखरा ।
बागलुङको गलकोट १० मा रहेको पाण्डवखानी माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरेर ट्युसन सञ्चालन गरेको भन्दै अभिभावकले विरोध गरेका छन् । ट्युसनन सञ्चालन गर्न सक्ने विद्यालय खोल्न नसक्ने भन्दै उनीहरुले विरोध गरेका हुन् ।


शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थीको पढाइ प्रभावित भएको र विद्यार्थी मारमा परेको दलबहादुर घर्तीले बताए । आन्दोलनका कारण विद्यार्थीको पढ्न पाउने अधिकार हनन गर्नु विद्यालय बन्द गर्नु उपयुक्त कार्य नरहेको उनले धारणा राखे ।


‘आन्दोलनको नाममा विद्यालयल बन्द गर्ने तर ट्युसन कक्षा सञ्चालन गर्ने यो त शिक्षकले पैसा कमाउने बाटो जस्तो भयो’ उनले भने, ‘शिक्षकको माग, आन्दोलन आफ्नो ठाउँमा छ, त्यसमा हाम्रो पनि समर्थन छ तर विद्यार्थीको पढ्न पाउने मौलिक हक नै हनन हुने गरी विद्यालय बन्द गरेर विद्यार्थीलाई मारमा पार्ने कुरामा हाम्रो सहमति छैन’ ।

Advertisement


अर्का अभिभावक मनबहादुर काउचा (नाम परिवर्तन)ले विद्यालय बन्द गर्ने तर ट्युसन कक्षा सञ्चालन गर्ने कुरा जायज नरहेको तर्क गरे । शिक्षकहरु सुविधा नपुगेर आफ्नो स्वार्थको लागि विद्यालय बन्द गरेर आन्दोलनमा जानाले विद्यार्थीको भविष्यसँग खेलवाड भएको उनले जनाए ।


‘ट्युसन कक्षा चलाउन सकिन्छ भने विद्यालय पनि त चलाउन सकिन्छ होला नि? ट्युसन शिक्षकको पैसा कमाउने माध्य बनेको छ । भदौ असोज देखि नै ट्युसन कक्षा सञ्चालन गरेपछि आर्थीक अवस्था नाजुक भएका विद्यार्थीले ट्युसनन फी कसरी तिर्ने’ काउचाले भने ‘ट्युसन पढाएर विद्यार्थीको शैक्षिक गुणस्तर उकासिँदैन, ट्युसन भन्दा एक्सट्रा कक्षा लिनु उपयुक्त हुने थियो । शिक्षकको मिहिनेतको मुल्यांकन गरेर फी तिर्ने थियौं ।

Advertisement


उनी प्रश्न गर्छन् ‘कक्षा १० को एउटा विषयको महिनाको ट्युसन फी ८०० छ । आर्थीक अवस्था कमजोर भएको विद्यार्थीले महिनाको ३ विषयको फी २४०० कसरी तिर्ने ।

ईश्वर दर्जीले ट्युसनमा कक्षाकै पाठ्यक्रम अगाडी बढाइने हुँदा ट्युसन नजाने विद्यार्थीको पढाइ छुट्नुका साथै उनीहरुलाई पाठको बारेमा थाह समेत नहुने जानकारी दिएका छन् । ‘सबै विद्यार्थी ट्युसन जान सम्भव छैन, ८ कक्षाको एउटा विषयको फी महिनाको ५०० रहेको छ, तीन वटा विषयको महिनाको १५ सय भनेको महंगो शुल्क हो’ उनले भने ‘प्रध्यानाध्यापक मात्र आन्दोलनमा जानु भएको छ अरु सबै शिक्षक विद्यालयमै हुनुहुन्छ उहाँहरुले पठनपाठनलाई निरन्तरता दिन सक्नुहुन्थ्यो नि ।’

विद्यालयका अंग्रेजी विषयका शिक्षक चन्द्र भुषणले व्यवस्थापन समिति र अभिभावकको निर्णय पछि मात्र ट्युसन कक्षा सञ्चालन गरिएको बताए । ट्युसन फी पनि व्यवस्थापन समिति र अभिभावकको भेलाले निर्धारण गरेको शिक्षक चन्द्रले जानकारी दिए ।
उनी भन्छन् ‘अभिभावकले नै हाम्रो बच्चा पढाइदिनुस् भनेपछि कक्षा सुरु गरेका हौं । मैले विद्यार्थीलाई सहयोग गर्न खोजेको हो । ट्युसन कक्षा सञ्चालन गर्नु राम्रो हो होइन मेरो सरोकारको विषय होइन । म विद्यालयको शिक्षक मात्र हुँ ।


विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० को विरोधमा शिक्षकहरु बुधबार देखि आन्दोलनमा उत्रिएका थिए । काठमाडौंमा जारी शिक्षक आन्दोलनले देशभरका सरकारी तथा सामुदायिक विद्यालय ३दिन बन्द भएका थिए ।


विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने उनीहरुकाे माग थियाे ।


त्यस्तै राहत दरबन्दीका शिक्षक, साविक उच्चमाविका शिक्षक, अस्थायी र करार शिक्षक, बाल विकास कक्षाका शिक्षक, विशेष शिक्षा र प्राविधिक धारका शिक्षकलाई आन्तरिक परीक्षाबाट स्थायीको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लैजानुपर्ने लगायत माग अघि सारेका थिए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया