सर्भे टोलीको निष्कर्ष

फिर्केखोला फोहोरको डम्पिङ साइट बन्यो, अस्वित्व मेटिने खतरा

रिखिराम जिसी २०८० असोज ७ गते ११:१४

पोखरा ।
पोखरा महानगरपालिका ८, सिमलचौरमा लिटिल स्टेप माध्यमिक विद्यालयका भवन छन् । विद्यालयका २ भवन अँधेरीकुनादेखि सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिने फिर्के खोलामै पर्छ । पोखरा ८ मै रहेको पोखरा इन्जिनियर कलेजको एउटा भवन पनि फिर्के खोलामै छ । ८ नम्बर वडामै रहेको गिरी समाज घर, सोपाल समाज घर, किरियापुत्री भवन पनि खोलाकै क्षेत्रमा बनेका छन् ।


यी संरचनासहित १८ वटा संघसंस्थाका स्थायी संरचना खोलाको खोलाघर नै मिचेर निर्माण भएका छन् । कतिपय संरचनाहरू शतप्रतिशत खोला घरमा बनेका छन् भने कतिपय संरचनाहरूको आंशिक भाग खोला घरमा बनेका छन् । पोखरा महानगरले गठन गरेको सिमांकन टोलीले पेस गरेको प्रतिवेदनअनुसार फिर्के खोला मिचेर १६० वटा अस्थायी र स्थायी संरचना बनाएका छन् ।


खोला मिचेर ९७ वटा अस्थायी, ३५ वटा स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेको सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

खोला मिचेर ९७ वटा अस्थायी, ३५ वटा स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेको सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पेस गरेको प्रतिवेदनमा उल्लेख छ


सर्वेक्षण टोलीले खोलामा फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनमा औंल्याएको छ । खोलामा बग्ने विषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेकोसमेत प्रतिवेदनमा उल्लेख छ । सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ ३ सय ३ र पूर्वतर्फ २ सय ८५ वटा सीमा स्तम्भहरु गाडिएको छ ।

Advertisement


टोलीले साउन ३ देखि भदौ २ गतेसम्म नापजाँच गरेको थियो । मानवीय अतिक्रमण र प्रदूषणका कारण फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तित्व रक्षाको संकटपूर्ण घडीमा पुगेको छ । ८ किमी लम्बाइको यो खोला पोखरा महानगरपालिकाको वडा नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर बग्छ ।


खोलाघरमै मापदण्ड विपरीत पक्की संरचनाहरु निरन्तर निर्माण भइरहेकाले खोलाघरको हरियालीमा ह्रास आएको सर्भे टोली संयोजक पौडेलले बताए । सहरी तापमानमा वृद्धि भई जलवायु परिवर्तनका असरहरुको नकारात्मक प्रभाव मानव जीवन र वातावरणमा प्रत्यक्ष रुपमा देखिएको उनले सुनाए ।


खोला छेउमा रहेका सार्वजनिक तथा प्रतिजग्गाहरु निरन्तर अतिक्रमण भई भविष्यमा आइपर्ने कुनै पनि प्रकारका विपत्तिहरुमा सुरक्षाका लागि आवश्यक पर्ने खाली स्थानहरुको अभाव हुने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ । खोला आसपासमा हुने भौतिक निर्माणको कार्यलाई तत्काल रोक्का गरी सचेतनासहितका सरसफाइ अभियानहरु सञ्चालन गर्नुपर्ने सर्भे टोलीले सुझाव दिएको छ ।


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिवेदन कार्यपालिकाबाट पारित गर्ने र फिर्केको नयाँ मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिक्रिया दिए । ‘पर्यटकीय रुपमा फिर्के करिडोर निर्माण गर्छाैं । प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न महानगर पछि हट्दैन,’ उनले भने ।


त्यसअघि पनि खोलाको पटक पटक सीमांकन र नक्सांकन भएका छन् । प्रतिवेदन पनि बनेका छन् । तर, ती प्रतिवेदन कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ ।


२०६९ मा गुरुदत्त बरालको संयोजकत्वमा फिर्केखोलाको सीमांकन गरिएको थियो । बराल तत्कालीन समयमा क्षेत्रीय प्रसारणमा कार्यरत हुँदा सीमांकन समितिको संयोजक भएर सीमांकन गरेका थिए । बराल हाल जिल्ला प्रशासक कार्यालय कास्की सहायक प्रमुख जिल्ला अधिकारी छन् । बराल नेतृत्वको समितिले २०३२ सालको नापी नक्साका आधारमा खोलाको सीमांकन प्रतिवेदन तयार पारेको थियो ।


पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीको पालामा पनि महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा फिर्के खोलाको सीमांकन गरिएको थियो । सो टोलीले खोलाको रेखांकन तथा सीमांकन प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । व्यवसायीदेखि सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना मापदण्डविपरीत बनेको प्रतिवेदनले उल्लेख थियो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया