गण्डकी बोर्डिङमा अभिभावक दिवस

समाधान संवाददाता २०८० असोज ७ गते १३:४७

पोखरा ।
गण्डकी बोर्डिङमा शनिबार सिनियर लेभल अभिभावक दिवस भएको छ । फरक ढंगले अभिभावक दिवस मनाउने गण्डकीले विद्यार्थीलाई नै विविध क्रियाकलापमा सरिक गराउँछ ।


कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा उनीहरुले विभिन्न नृत्य, गायन तथा विविध प्रस्तुति दिएर अभिभावकलाई दंग पारे । विद्यालय प्राचार्य वीरेन्द्र खड्काले विद्यार्थीले पठनपाठनमात्र सीमित नभई चौतर्फी विषयमा ज्ञान हासिल गर्नुपर्ने बताए । उनले शिक्षाको गुणस्तर वृद्धिमा विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहने बताए ।


अभिभावकतर्फबाट अभिभावक संघ सदस्य बिमला भण्डारीले विद्यालयले कक्षा १२ को परीक्षामा ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गरिन् । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षसमेत रहेकी उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा गण्डकी बोर्डिङको गुणस्तर सधैं अब्बल रहेको बताइन् ।

Advertisement


कक्षा ९ देखि १२ भनेको विद्यार्थीका लागि ऊर्जाशील समय हो भन्दै अभिभावकको लगानी सम्झेर निकै संवेदनशील भइ पढ्नुपर्ने सुझाव दिइन् । कार्यक्रमका कक्षा १२ की छात्रा आयुशा गुरुङले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रमको मुख्य प्रस्तोता कक्षा १० की सृपना थापा र कक्षा १२ की श्रीषा कोइरालाले संयुक्तरुपमा सञ्चालन गरे ।


विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मानबहादुर थापाले कार्यक्रम सञ्चालनमा सघाएका थिए । यस्तै, कक्षा १० का सुयोगप्रताप बानियाले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा विभिन्न जातजाति, भेषभूषा, भूगोल समेटिएका ८ नृत्य एवं २ गीत प्रस्तुत गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया