बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव

समाधान संवाददाता २०८० असोज ९ गते १०:५७

पोखरा ।
बिरामीको मृत्युपछि आफन्त आक्रोशित आफन्त र चिकित्सकबिचको विवादले मणिपाल शिक्षण अस्पतालमा तनाव भएको छ । लमजुङबाट उपचारका लागि ल्याइएकी बिरामी ५७ वर्षीया सुकमाया दुराको सोमबारबार निधन भएको थियो ।


आइतसियुमा राखेर उपचार गराइराखिएकी बिरामीको निधन भएपछि आक्रोशितहरुले सोमबार डाक्टर शाहमाथि हातपात गरेको प्रहरीले जनाएको छ । अस्पतालमा सोमबार दिनभर आक्रोशित भीडले तनाव उत्पन्न भएको थियो । डक्टरमाथि हातपात गरेको सिसीटिभी फुटेजमा देखिएका पोखरा ५ मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । आक्रोशित भीड नियन्त्रण गर्न सोमबार दिउसोदेखि नै ठूलो संख्यामा प्रहरी परिचालित गरिएको थियो ।


बिरामीका आफन्तले भने चिकित्सकबाट आफूहरुलाई अभद्र व्यवहार भएको बताएका छन् । उपचार गर्न लगेको बिरामी भित्र लगेको केही समयपछि नै मृत्यु भइसकेको जानकारी चिकित्सकले दिएपछि आफन्त आक्रोशित बनेका थिए । ‘केही सोधपुछ गर्न लाग्दा उल्टै डक्टरहरु आएर घेर्न थाल्नुभयो,’ एक आफन्तले भने, ‘हातमा हतियार जस्ता सामान लिएर हामीलाई नै आक्रमण गर्न लाग्नुभयो ।’

Advertisement

बिरामीको अप्रेसन गरिएको जानकारी नै दिइएन, बिरामी भेट्न पनि दिइएन के के भयो भनेर बुझ्न जाँदा महिलामाथि नै डक्टरबाट उल्टै अभद्र व्यवहार भयो— आफन्त


बिरामीको अप्रेसन गरिएको जानकारी नै आफूहरुले नपाएको आफन्तले बताएका छन् । ‘एकपटक पनि भेट्न पनि दिइएन,’ ती आफन्तले भने, ‘के के भयो भनेर बुझ्न जाँदा महिलामाथि नै डक्टरबाट उल्टै अभद्र व्यवहार भयो ।’ ती आफन्त डक्टरहरु आफै उत्तेजित हुँदै सिसा फोर्ने लगायत काम गरेको पनि बताउँछन् । त्यसो त तनाव उत्पन्न भएपछि जम्मा भएको भिडसँग चिकित्सकहरुको समूह आमनेसामने पनि भएको थियो ।

Advertisement

भुइँतलामा जम्मा भएको आफन्त र आक्रोशितको भिडलाई माथिल्लो तलाबाट चिकित्सक समूहबाट बोतल प्रहार गर्ने, गाली गर्ने भएको थियो । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई पनि उनीहरुले ‘हामीलाई तपाईहरुको सुरक्षा चाहिँदैन भन्दै च्याँठ्ठिएका थिए । हाम्रो मणिपालबाट तिनलाई निकाल्नोस् भन्दै प्रहरीलाई थर्काएका पनि थिए ।

चिकित्सकमाथि हातपात गर्ने र अस्पतालमा हुलहुज्जत गर्नेमाथि फौजदारी अभियोग लगाएर कारबाही गर्ने ग्यारेन्टी नभए अस्पतालका सबै सेवा ठप्पः चिकित्सक


आफन्तहरुले चिकित्सकमाथि छानबिन हुनुपर्ने माग राखेका छन् । ‘कुनुकन औषधि दिइएको थियो, अप्रेसन गर्दा किन जानकारी गराइएन, के उपचार गरिएको हो, छानबिनबाट खुल्नुपर्छ,’ उनीहरुले भनेका छन् ।


तर आक्रोशित भिडले अरु चिकित्सकहरुमाथि पनि हमला प्रयास, गालीगलौज गरेको चिकित्सकहरुको आरोप छ । अस्पतालका आवासीय र इन्टर्न चिकित्सकहरुले दोषीलाई कडा कारबाही माग गरेका छन् । चिकित्सकमाथि हातपात गर्नेलाई फौजदारी अभियोग लगाएर कानुनी कारबाही अगाडि नबढाएसम्म अस्पतालको इमरजेन्सीसहित सबै सेवा बन्द गर्ने चेतावनीसहितको विज्ञप्ति उनीहरुले निकालेका छन् ।

‘यसबाट पर्न जाने असुविधाको जिम्मेवार सम्बन्धित नै हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ । आइसियुमा कार्यरत चिकित्सकलाई अराजक समूहका एक व्यक्तिले टाउकोमै प्रहार गरेको र चिकित्सक प्रहारबाट केहीबेर अचेतसमेत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सोमबार बेलुका अबेरसम्म पनि मणिपाल अस्पताल अशान्त रह्यो । बिरामीका आफन्त र चिकित्सक पक्षबीच प्रहरीले समझारी गराउने प्रयास गरे पनि बेलुका अबेरसम्म निष्कर्ष निस्केको थिएन ।

तपाईको प्रतिक्रिया