इन्टर कलेज ब्यान्ड कम्पिटिसनमा २१ टिम

समाधान संवाददाता २०८० असोज ११ गते १३:२८

पोखरा ।

पोखरामा असोज १२ र १३ गते हुने इन्टर कलेज ब्यान्ड कम्पिटिसनमा २१ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजक पोखरा सांगीतिक कलाकार संघले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाख, उपविजेतालाई ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई पनि जनही नगद५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

Advertisement

कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले सहभागिता जनाउने पाउने प्रतियोगितामा भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, इन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोबल कलेजियट, सगरमाथा मावि र लाभेन्ज बोर्डिङ स्कुलले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले जानकारी दिए ।

प्रगति बोर्डिङ स्कुल, प्रतिभा मावि, पोखरा एकेडेमी, न्यु ग्यालेक्सी, मदरल्यान्ड, न्यु डायमन्ड मावि, लिंकन कलेज र पश्चिमाञ्चल मावि पनि सहभागि हुने भएका छन् । प्रतिभा, प्रगति र न्यु डायमन्डले समान २ टिम पठाउँदै छन् ।

Advertisement


प्रतिष्पर्धाका लागि धेरै कलेजले फर्म भरे पनि डिजिटल अडिसनका आधारमा २१ टिम छनोट गरिएको संघ सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । असोज १२ गते हुने प्रस्तुतिका आधारमा १० टिम फाइनलमा प्रवेश गर्ने उनले बताए । फाइनल राउन्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतिका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिनेछ ।

प्रतियोगितामा सहभागी दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिनेछ । ब्यान्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । अध्यक्ष गुरुङ भन्छन्, ‘सुस्ताएको सांगीतिक क्षेत्रलाई उठाउने प्रयास हो ।’

एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगीतिक माहोल सृजना गर्न कार्यक्रम कोशेढुंगा साबित हुने विश्वास संघका सचिव श्रेष्ठले बताए । संघका सहसचिव विनोद बानियाँले शिक्षा र संगीतलाई जोड्ने प्रयास आफूहरुले गरेको बताए । ‘कुनै बेला पोखराले सांगीतिक ब्यान्डको शहरको परिचय बनाएको थियो,’ बानियाले भने–‘अहिले शून्य छ । फेरि उठाउने प्रयास गरिएको छ ।’

प्याब्सन कास्की अध्यक्ष मधुराप्रसाद पौडेलले कलाकार संघले शिक्षा र संगीतलाई जोड्ने प्रयास सह्रानीय भएको बताए ।

तपाईको प्रतिक्रिया