व्यास नगरपालिकामा डेंगुविरुद्ध अभियान

समाधान संवाददाता २०८० असोज १२ गते १०:४६

दमौली ।
दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि व्यास नगरपालिकाले लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको छ । नगरपालिकाले बजारी क्षेत्रहरुमा रहेका वडामा डेंगु रोकथाम र न्यूनीकरणका लागि सरसफाइदेखि सचेतना कार्यक्रमसँगै लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको हो ।


नगरपालिकाले बुधबारदेखि सबै वडामा सामाजिक संघ, संस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल संगठन, राजनीतिक दललगायतको सहभागितामा घर घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘प्रदेश सरकारबाट खटिएका चिकित्सकसहितको विशेष टोलीलाई वडाका जनप्रतिनिधिको नेतृत्वमा घर घरमै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्ने गरिएको छ ।’


बिहीबार नगरपालिकाले बजारी क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय, टोलमा सरसफाइ गरिएको उनले बताए । नगर प्रमुख न्यौपानेले डेंगु नियन्त्रणमा जिल्ला समन्वय समिति तनहुँ, जिल्ला प्रशासन कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ, संस्थाको सहयोग पाएको बताए । बिहीबारदेखि नै घर घरमै चिकित्सक, जनप्रतिनिधिसहितको टोली पुगी बिरामीको अवस्था बुझ्न थालिएको नगरपालिकाको स्वास्थ्य तथा जनंसख्या शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

Advertisement


टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै हो । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेरमात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया