आर्किटेक्चर शोध प्रदर्शनी हुने

समाधान संवाददाता २०८० असोज १२ गते ११:१९
Exif_JPEG_420

पोखरा ।
विद्यार्थीको शोधकार्यमार्फत भवन तथा सहरी विकासको अवधारणामा केही आयाम थप्न पोखरा इन्जिनियरिङ कलेज फिर्केले आर्किटेक्चर शोधकार्य सडक प्रदर्शनी २०२३ गर्न लागेको छ ।


कलेजको स्नातक तह आर्किटेक्चर अन्तिम वर्षका विद्यार्थीको शोधकार्यको प्रदर्शनी गर्न लागिएको प्रिन्सिपल सोम गुरुङले जानकारी दिए । उनले पोखराको लेकसाइडको हल्लनचोक ताल किनाराको ५ सय मिटरको फुट ट्रयाकमा सञ्चालन गर्ने प्रदर्शनीले नवआगन्तुक विद्यार्थी, आर्किटेक्चर पेशाकर्मीलाई रचनात्मक र कलात्मक डिजाइन गर्न प्रेरित गर्ने दाबी गरे ।


‘पोखरामा पहिलो पल्ट गर्न लागिएको प्रदर्शनीमा कलेजका पहिलो ब्याचका २२ विद्यार्थीले तयार पारेका सामाग्री राखिनेछ,’ उनले भने, ‘विद्यार्थीको शोधकार्यको सिर्जनालाई सार्वजनिक गरेर थप हौसला प्रदान गर्न लागिएको छ ।’ उनले विद्यार्थीका सिर्जनाको व्यवसायिक उपयोगिताको प्रवद्र्धन सहयोग पुग्ने बताए । उनले इको रिसोर्ट, क्रिकेट रंगशाला, फुटबल रंगशाला, हेरिटेज होटल, बस टर्मिनल, सिनेमा सेन्टर, सार्वजनिक पुस्तकालय, अन्तर्राष्ट्रिय स्कुल प्रर्दशनीका मुख्य आकर्षण छन् ।

Advertisement


प्रिन्सिपल गुरुङले विभिन्न उद्योग, व्यवसाय, निर्माण कम्पनी, शैक्षिक संस्था सबै सरोकारवालालाई प्रर्दशनीको अवलोकन गराउने बताए । उनले ३ देखि ४ हजारले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको जानकारी दिए । प्रदर्शनी हेर्न कलेजले पोखराका ८० र पोखरा बाहिरका १२ कलेजलाई पत्राचार गरेको छ । सबै विद्यार्थीलाई निशुल्क आवतजावतको व्यवस्था गरिएको छ ।


कलेजका प्रशासक चिजकाजी गुरुङले नयाँ प्रविधि र राज्यको दिगो विकासमा सहयोग पु¥याउन प्रदर्शनी गर्न लागेको बताए । उनले समुदाय र आर्किटेक्चर पेशाकर्मीबीच संवाद र अन्तक्र्रिया गराई समाजको मूल्य र मान्यता वस्तुपरक डिजाइन स्थापित गर्न टेवा पुग्ने जनाए । कलेजले नियमित रुपमा प्रदर्शनी लगायतका शैक्षिक गतिविधि गर्दै आएको छ ।

Advertisement

गत वर्ष पनि कलेजले सबै समेस्टरका विद्यार्थीको परियोजना कार्यको प्रदर्शनी गरेको थियो । कलेजका प्रशासक गुरुङले सन २०१७ देखि पहिलो पटक आर्किटेक्चरको पठनपाठन सुरुवात गरेको बताए । उनले आर्किटेक्चर विषयको अध्ययन पूरा गरेर पहिलो ब्याज उत्पादन भएको जानकारी दिए ।


पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले शुक्रबार प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया