प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुआत

समाधान संवाददाता २०८० असोज १२ गते ११:३८

पोखरा ।

अध्ययन वा अन्य कुनै बहानामा विदेशिन बाध्य यस्तै युवाको विषय वस्तुलाई कथामा उनेर बनेको फिल्म ‘परदेशी–२’ प्रदर्शनमा ल्याउने तयारी छ । असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको केही दिनअघि गीत सार्वजनिक गरिएको थियो ।


फिल्म प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका कलाकार र निर्माता फिल्मको प्रचारमा जुटेका छन् । नेपालगञ्ज, बुटवल हुँदै प्रचार टिम पोखरा आइपुगेको छ । गायक प्रकाश सपूत यही फिल्मबाट नायकको रुपमा देखिँदैछन् । त्यसबाहेक केकी अधिकारी पनि फिल्ममा छिन् । नारायण रायमाझी निर्देशित यो फिल्मको अधिकांश दृश्य पोखरा आसपासमा केन्द्रित छ । फिल्मले विदेशिएका युवाको कथावस्तुलाई बोकेको रायमाझी बताउँछन् ।

Advertisement


‘अहिले १२ कक्षा पास गर्नासाथ विदेश जाने धेरै छन् । यो फिल्मको कथा तिनै विदेश जाने युवामा केन्द्रित छ,’ फिल्म प्रचारको क्रममा बिहीबार पोखराको प्रतिभा माविमा आयोजित कार्यक्रममा रायमाझीले भने, ‘पोखराको कलेजबाटै यो फिल्मको कथाको छायांकन सुरु भएको छ ।’ परदेशीको त्यही कथा सुनाउन आफू पोखरा आएको पनि रायमाझीले बताए । प्रचारको क्रममा विद्यालयमा परदेशी–२ को कथामा आधारित रहेर नाटक पनि प्रदर्शन गरिएको थियो ।


फिल्मको प्रचार गर्दै हिडेकी नायिक केकी अधिकारीले झन्डै २ महिने छायांकन अवधिमा पोखरा सहरको गल्लीगल्लीमा छिरेकाले पोखरासँग फिल्मको विशेष साइनो रहेको समेत बताइन् । नायक प्रकाश सपुतले पोखरामा प्रचारप्रसारको सुरुआत प्रतिभा माविबाट भएको बताए । पोखराका अरु विद्यालयमा पनि यस्तै प्रचारात्मक कार्यक्रम गर्ने उनले बताए ।

Advertisement


प्रतिभा माविका प्राचार्य किरण सापकोटाले पनि युवापुस्ताको विदेश मोहले गर्दा अहिले सबैतिर निराशा छाउन थालेको बताए । उनले परदेशिएका छोराछोरीको कथा अहिलेको परिस्थितिसँग मेल खाने पनि बताए । प्रचारको त्यही अवसरमा फिल्मका कलाकारहरुले विद्यालयमा मनोरञ्जनात्मक गतिविधि पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया