निर्णायक र अन्तिम आन्दोलन जरुरी

डा सञ्जय कोइराला २०८० असोज १४ गते १४:२३

कानुनी राज्यमा कसैले पनि कसैलाई हातपात गर्न पाउदैन । अझ स्वास्थ्य क्षेत्र जस्तो सबैभन्दा संवेदनशील क्षेत्रमा रहेका कर्मचारी वा चिकित्सकमाथि हातपात गर्नुलाई त अन्तर्राष्ट्रिय कानुनले पनि बर्जित गरेको छ । स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश (पहिलो संशोधन) २०७९ ले स्पष्ट रुपमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हुने दुव्र्यवहार, हातपात या तोडफोड, आगजनी गर्न नहुने र सो गरेमा दफा १५ अनुसार विभिन्न सजाय तोकेको छ । यति हुँदा हुँदै पनि हाल देशभर स्वास्थ्यकर्मी, अझ चिकित्सकमाथि नै शृंखलाबद्ध रुपमा सांघातिक हमला हुनु सरासर कानुनी राज्यको अवहेलना हो ।


बिडम्बना अझ यहाँ छ कि राज्य संयन्त्र ती अराजक तत्वलाई निरुत्साहित गर्नुको साटो उल्टो चिकित्सकमाथि नै जाइलागेको अवस्था मणिपालको घटनामा उदांगो भएको छ । कानुनको पालना गराउन बसेकाहरु आज ती केही सीमित अराजक तत्वहरुसंग जुध्न नसक्ने नै भएको हो कि नचाहेको हो, कुरा गम्भीर छ । ती अराजक तत्व नै अझै आफूहरुले गरेको गैरकानुनी कार्य गर्न पाउनुपर्ने आवाजका साथ चोक चोकमा चक्का जाम गर्दै, सामान्य नागरिकले स्वतन्त्र रुपले व्यवसाय गर्न पाउने अधिकार पनि हनन हुने गरी बजारका सटरहरु बन्द गर्दै गृहमन्त्रीसम्मको राजीनामा माग्दै हिडिरहेको अवस्था छ । यस्तो कसरी र किन सम्भव भयो त ? सूक्ष्म विश्लेषण गर्न अत्यन्त जरुरी छ ।


देशमा अहिले हरेक क्षेत्रमा बेथिति छ । नैतिकता र अनुशासन भन्ने कुरा त अब इतिहास नै हुने अवस्था आइसकेको छ भन्दा फरक पर्दैन । हरेक क्षेत्रमा रहेका योग्य, सक्षम र सच्चा देशभक्त नागरिक अहिले आफू अझै पनि यो देशमा किन बसिरहेको भनेर आफैंले आर्फैंलाई धिक्कार्न थालेका छन् । हामी जस्ता शिक्षित योग्य जनशक्ति सबैले देश छोडेर गए त देश झन् कुनै पनि हालतमा बन्दैन भन्ने भावनाले ओतप्रोत भई सोही अनुरुप आफू जस्तै अरुलाई सक्दो प्रभावमा पारी राज्यप्रति सकारात्मक भावना जगाउन तल्लिन म पनि सोही अवस्थामा पुग्छु कि भन्ने डर अब लाग्न थालेको छ । अवस्था निकै गम्भीर छ ।

Advertisement

जनताको नाममा जनताकै बलिदानीमा आएको परिवर्तनले पनि जनताकै जिउ, ज्यानको सुरक्षाको ग्यारेन्टी गर्न नसक्नु जस्तो बिडम्बना अरु के हुन्छ ?


अनेक आरोह अवरोह पार गर्दै राज्यले अहिले जनताद्वारा लिखित संविधान, नेपालको संविधान २०७२ पाएको पनि ८ वर्ष बितिसकेको छ । अहिलेको अवस्थामा देशलाई ल्याई पु¥याउन देशका ठूला या साना सबै राजनैतिक दलको योगदान छ । कथित सामन्ती शासनबाट देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गराउन अधिकांश दल एकजुट भएर हजारौं जनताको बलिदान दिएर लडेका थिए ।

Advertisement


जनताकै बलिदानीले सम्भव भएर आजको दिनमा हामी आएका हौँ । जनताका लागि भनेर जनताकै बलिदानीमा आएको परिवर्तनले पनि अहिले राज्यमा झनै जनताकै जिउ ज्यानको सुरक्षाको ग्यारेन्टी गर्न नसक्नु जस्तो ठूलो बिडम्बना अरु के हुन सक्ला र ?


यसो किन भएको होला ?
कारण खोज्न कतै जानु पर्दैन । माथि उल्लिखित जुन अराजक प्रवृत्ति छ, यो अराजक प्रवृत्तिको प्रवद्र्धक राज्यमा व्याप्त दण्डहीनता हो । यो दण्डहिनतालाइ पोषण गर्ने अरु कोही नभएर तिनै पुरातनवादी राजनैतिक दल हुन् भन्दा कुनै आश्चर्य मानु पर्दैन । सबैले जाने बुझेकै कुरा हो, राज्यका हरेक क्षेत्रमा आफ्नो नाक घुसाएको वर्तमान नेपालको दुर्गन्धित राजनीतिका कारण नै ती क्षेत्र तहसनहस भएको तथ्य अब सबैले स्वीकार्ने पर्छ । किनकि सत्य यही नै हो । लोकतन्त्र र कानुनी राज्यका लागि सबैभन्दा अपरिहार्य कुरा स्वतन्त्र न्यायालयमै लामो जरा घुसाएको नेपाली राजनीतिले लोक हसाइरहँदा पनि हामी जनता टुलुटुलु हेर्नु.बाहेक अरु केहि गर्न सकेका छैनौं ।


शिक्षा जस्तो राज्यको विकासको आधारभूत स्तम्भलाई पूरै तहसनहस पारेको पनि अरु कसले होला र ? राजनीतिको नाममा बनिएका शिक्षक र विद्यार्थी संगठनले आफ्नो धर्म नै भुलेर शिक्षाको उद्देश्यको खिल्ली उदाउँदै व्यापारको एक प्रमुख माध्यम बनाइरहेको पनि हामी चूपचाप हेरिरहेकै छौं ।


स्वास्थ्य क्षेत्रको हालत त अझै गम्भीर छ । हरेक नागरिकको नैसर्गिक अधिकार भनी संविधानमा व्याख्या गर्ने अनि त्यही क्षेत्रमा सबैभन्दा बढी व्यापार आफैं पनि गर्ने र प्राइभेट क्षेत्रलाइ पनि गर्न छुट दिने राज्य कसरी समाजवाद उन्मुख भनी जनताले पत्याएर बसिरहेका छन् ? अचम्म लाग्छ, करोडौं खर्च गरी चिकित्सा शिक्षा लिन बाध्य पार्ने अनि उसको जीवन निर्वाहका लागि अति निम्न सेवा, सुविधा र भौतिक संरचना दिएर जनतामाझ उच्चस्तरीय सेवा दिन बाध्य पर्ने ?


राज्य के अहिले देशमा व्याप्त स्वास्थ्य क्षेत्रको चरम बेथितिको जिम्मेवार होइन ? विभिन्न राजनीतिक दलकै नेता तथा कार्यकर्ताको प्रत्यक्ष या अप्रत्यक्ष लगानी रहेका देशका अधिकांश स्वास्थ्य संस्थाको भौतिक तथा अन्य संरचनाको हालत यही क्षेत्रमा काम गर्नेले मात्रै बढी बुझेका छन् ।


समाजवादको पाठ घोकाएर राज्यमा मिल्नेसम्म हरेक क्षेत्रमा राज्यकोष दोहन गर्ने प्रवृत्ति बोकेका वर्तमान राजनीतिक नेतृत्व पूर्ण रुपले असफल रहेको उदाहरणको फेहरिस्तले अब एउटा महाकाव्य नै बन्छ होला । यही वर्षमात्रै चर्चित भएका शरणार्थी काण्ड, ललिता निवास काण्ड, जलाहरी काण्ड, गिरी बन्धु टि स्टेट काण्ड लगायतका काण्डमै उदांगो भई नैतिक रुपले पतीत भइसक्दा पनि राज्य शक्तिको आडमा जनतामाथि अझै शासन गर्न नछोडेका यो प्रवृत्तिबिरुद्ध जाग्न अब ढिलो भइसकेको छ ।


अतः अब अहिले चिकित्सा क्षेत्रबाट देशमा सल्किएको आगोले सही दिशा लिनका लागि हरेक क्षेत्रबाट देशभक्त जनता पार्टीभन्दा माथि उठी आफ्नो सन्तति र देशको भविष्यका लागि एउटा अन्तिम आन्दोलनमा होमिनैपर्ने आवश्यकता मैले बोध गरेको छु । बिचौलिया र अराजक तत्वलाई निमिट्यान्न पार्न अब हरेक क्षेत्रमा घुसेको राजनीतिको त्यो नाक काटेर राजनीतिलाई सही मुहारमा ल्याउन अब किमार्थ ढिलो गर्नु हुँदैन ।
डा कोइराला पोस्सोन केन्द्रीय उपाध्यक्ष हुन् ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया