मीनले ल्याए ‘साला पहाडमें क्या है’

समाधान संवाददाता २०८० असोज १६ गते १२:२७

काठमाडौं ।
कवि मीनबहादुर विष्टका चोटिला कविताको संग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटा झल्काउने ६४ कविता समावेश छन् ।


पश्चिम नेपालको प्युठानमा २०११ सालमा जन्मिएका कवि विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी लेखनका हकमा आलोचनात्मक चेतका कवि हुन् ।


आफ्नै शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि–परिचयबाट टाढिएका विष्ट २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’का सहभागी हुन् । ‘कवि विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरंग ल्याउँछ, तिनै उर्लिएका भावहरुले उनलाई कविता कोर्न बाध्य बनाउँछन्,’ शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, ‘सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिंगो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरुभन्दा अलग कवि पहिचानमा उभ्याएको छ ।’

Advertisement


विष्टको यो कविता संग्रहमा ‘यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ’, ‘चुनावपछिको गाउँ’, ‘जर्साबको कुकुर’, ‘नागरिकता’, ‘एउटा अलपत्र देश’, ‘लासहरुको सगरमाथा’ लगायत अनेक कालजयी रचना समाविष्ट छन् । विष्टका थुप्रै कविता देश–चिन्तामा केन्द्रित भएका देखिन्छन् । तिनले आम मानिसका समस्याहरु झल्काएका हुन्छन् ।


समाजका विसंगतिहरुमाथि धावा बोलेको पाइन्छन् । गाउँहरु समेटिएका भेटिन्छन् । अनि जनतालाई बारम्बार झक्झक्याउन खोजेका हुन्छन् । उनले लेखेका छन्
तिनीहरुले–
हाम्रा देख्ने आँखा खोसे
सुन्ने कान खोसे
सोच्ने मस्तिष्क खोसे
त्यसको बदला
एउटा टोपी
एउटा दौरा
र एउटा सुरूवाल दिंदै भने—
अब तिमीहरु नेपाली नागरिक हौ

Advertisement

तपाईको प्रतिक्रिया