सुकुमलाई ‘विश्वराधानेत्रा साहित्य पुरस्कार

समाधान संवाददाता २०८० असोज १७ गते १२:४१

पोखरा ।
‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’का अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’– २०८० विगत ३ दसकभन्दा बढी समयदेखि निरन्तर साधनारत स्रष्टा गोविन्दप्रसाद शर्मा (सुकुम) लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि १५ हजार रुपैयाँ छ ।


यो पुरस्कार समाजवादी यथार्थवाद अथवा आलोचनात्मक यथार्थवादी धारामा कलम चलाउने स्रष्टा–द्रष्टालाई प्रदान गरिँदै आएको छ । स्याङ्जामा जन्मी काठमाडौंमा रहेर साधना गरिरहेका सुकुमले प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित हुँदै समालोचना, निबन्ध, आख्यान, कवितालगायत विधामा कलम चलाउँदै आएका छन् ।


उत्कृष्ट निबन्ध पुरस्कार (२०५४); पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार (२०६४); मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार (२०६७); पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति पुरस्कार (२०७६); भूपि स्मृति पुरस्कार (२०७७) आदि मानसम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका सुकुमका अमिला अणु (मुक्तक संग्रह, २०४८); मर्मै मर्म (गीतिकविता संग्रह, २०४९); आगोको यात्रा (गद्य खण्डकाव्य, २०५७); समय सीमा (गीतिनाटक, २०७७) लगायत २० भन्दा बढी सिर्जनात्मक कृतिहरु प्रकाशित छन् ।

Advertisement


उनका नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण (शोधग्रन्थ, २०५६); कवि इच्छुक कविताका सन्दर्भमा (समालोचना, २०६०); परिचयका सन्दर्भमा घनश्याम ढकाल (समालोचना, २०७६); साहित्यमा मोहनविक्रम सिंह (समालोचना, २०७७) आदि १४ भन्दा बढी समालोचनात्मक तथा अनुसन्धानमूलक कृतिहरु प्रकाशित छन् । यसपूर्व ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’बाट २०७६ मा ताराकान्त पाण्डेय, २०७७ मा रविलाल अधिकारी, २०७८ मा दिल साहनी र २०७९ मा कृष्णराज अधिकारी सम्मानित भएका थिए ।

ज्याग्दीखोला साहित्य सम्मान– २०८० वनमाली निराकारलाई प्रदान गरिने
‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’ले वि.स. २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मेर भैरहवामा साधनारत कथाकार वनमाली निराकारलाई ‘ज्याग्दीखोला साहित्य सम्मान’– २०८० द्वारा सम्मान गर्ने भएको छ । आधुनिक नेपाली कथाको दोस्रो चरणका सशक्त हस्ताक्षरका रुपमा परिचित वनमालीका ‘समयको पर्खाल’ कथासङ्ग्रह (२०४६), ‘लोकतन्त्रको शङ्खनाद’ कवितासङ्ग्रह (२०६२), ‘पत्र संचयन’ (२०६३), ‘विवरूका कथाहरु’ (२०६५), ‘एउटा बस्तीको कथा’ कथासङ्ग्रह– (२०७१) लगायतका कृतिहरु प्रकाशित छन् । वर्तमानमा पनि लेखनमै क्रियाशील वनमालीका कथाहरु सामाजिक यथार्थमा आधारित छन् । यस सम्मानद्वारा हालसम्म २०७४ मा डा. महेश्वर शर्मा, २०७५ मा प्रा.डा. गोविन्दराज भट्टराई, २०७६ मा केदार शर्मा ढकाल, २०७७ मा देवीप्रसाद वनवासी, २०७८ मा ईश्वरी ओझा र २०७९ मा पीताम्बर नेपाली सम्मानित भइसकेका छन् ।

Advertisement

पोषराज पौडेललाई ज्याग्दीखोला साहित्य–कला पुरस्कार– २०८०
‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’, स्याङ्जाले साहित्य, सङ्गीत तथा कलामा साधना गरी विशिष्ट योगदान पु¥याउने स्रष्टाको सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ प्रदान गर्दै आएको छ । प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारद्वारा कवि पोषराज पौडेल (वि.सं. २००१) लाई सम्मान गर्ने भएको छ । कास्की, पोखराको घार्मीमा जन्मेका पोषराजका माडीयात्रा (खण्डकाव्य– २०३९), मेक्सिम गोर्की (कवितात्मक जीवनी– २०४३), आमा स्मृतिका छालमा (शोककाव्य– २०४९), पागल प्रलाप (काव्य– २०५५), शहीद गाथा (महाकाव्य– २०५७), आदर्श कोकिल (काव्य), अग्निगर्भका आवाजहरु (कवितासङ्ग्रह), अतीतका पानाहरु (आत्मकथा), स्वप्न बिम्ब (काव्य), शुक्लागण्डकी (महाकाव्य) लगायतका कृतिहरु प्रकाशित छन् । मदनमोहन स्मृति पुरस्कार– २०६९, शारदा स्मृति पुरस्कार– २०७०, गण्डकी वाङ्मय पुरस्कार, पोखरा– २०७१ आदिबाट पौडेल यसपूर्व पुरस्कृत तथा सम्मानित व्यक्तित्व हुन् । दस हजार राशिको यस पुरस्कारद्वारा विगतमा गंगा कर्माचार्य पौडेल (२०७६), विश्वप्रेम अधिकारी (२०७७), छायाँदत्त न्यौपाने ‘बगर’ (२०७८) र चिन्तु गिरी (२०७९) सम्मानित भएका थिए ।


उल्लिखित तिनवटै पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न प्रतिष्ठानले सल्लाहकार त्रिलोचन ढकालको संयोजकत्वमा प्रतिष्ठानका उपाध्यक्ष अग्नि पल्लव र सदस्य रेशम गोतामे रहेको तिन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसअनुरुप नै यसपटक ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’ २०८० सुकुम शर्मालाई, ‘ज्याग्दीखोला साहित्य सम्मान’ २०८० वनमाली निराकारलाई र ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ २०८० पोषराज पौडेललाई प्रदान गर्ने भएको हो । पुरस्कार तथा सम्मानको कार्यक्रम दसैंपछि आयोजना गर्नुका साथै यी तिनवटै पुरस्कार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको जानकारी प्रतिष्ठानका सहसचिव नारायण मरासिनीले दिए ।

तपाईको प्रतिक्रिया