पोखरामा मिथ्या मन्थन

समाधान संवाददाता २०८० असोज २१ गते १४:५७

पोखरा ।
म्याप्सःद रिडिङ क्लबले यही २० गते शनिबार पोखरा–२९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा दीपक पराजुलीको उपन्यास मिथ्यामाथि परिचर्चा कार्यक्रम गरेको छ । सुजाता तिवारी परिचर्चाकार र रसिसहरि भण्डारी टिप्पणीकर्ता रहेको उक्त कार्यक्रमा लेखक दीपक पराजुलीको पनि उपस्थिति थियो ।


परिचर्चाकार तिवारीले उपन्यासका पात्रहरु र घटनाक्रमका बारेमा विश्लेषण गरिन् । उपन्यासको नाम मिथ्या भए पनि पात्रका प्रवृत्ति र घटनाले सत्य कुरा भनिरहेको महसुस भएको बताइन् । टिप्पणीकर्ता रसिसहरि भण्डारीले उपन्यासको लेखन शैलीका बारेमा प्रकाश पारे । उपन्यासमा पात्रले खेलेको भूमिका मार्फत वर्तमानको सन्दर्भलाई समेत तीखो व्यंग्य गरेको बताए । कार्यक्रममा लेखक पराजुलीले मिथ्या उपन्यासको रचनागर्भबारे बोल्नुका साथै सहभागीहरूले राखेका जिज्ञासाहरूको सम्बोधन पनि गरेका थिए ।


सहभागीहरूमध्ये सागर पौडेलले उपन्यासमा प्रयुक्त इतिहास र धर्म–दर्शनका विषयबारे जिज्ञासा राखेका थिए । त्यस्तै अर्की सहभागी मीना डल्लाकोटीले उपन्यासकारको कल्पना शक्ति प्रबल रुपमा देखिए पनि उपन्यासको संरचना जटिल रहेको बारे टिप्पणी थिइन् । लेखक पराजुलीले हामी स्वतन्त्र समाजमा रहेको र सबै लेखकहरू आफ्नै शैलीमा लेख्न स्वतन्त्र रहेको बताए ।

Advertisement

सत्य बहुधा हुन्छ भन्ने कुरामा आफ्नो विश्वास रहेको विचार व्यक्त गरे । जटिलताको विषयमा भने पाठकले पनि पुस्तक पढ्दा मिहिनेत गर्नुपर्ने र जटिल विषयहरूमा पनि रुचि राख्नुपर्ने बताए ।


म्याप्सः द रिडिङ क्लबले प्रत्येक महिना कुनै पुस्तकमाथि परिचर्चा कार्यक्रम गर्ने गरेको छ । मिथ्या उपन्यासमाथिको परिचर्चा कार्यक्रम क्लबद्वारा आयोजित तेस्रो शृंखला हो भने यसअघि पहिलो शृंखलामा नयनराज पाण्डेको ‘उलार’ र दोस्रो शृंखला अली ग्रिपरको ‘द बेयरफुट सर्जन’ पुस्तकमा परिचर्चा कार्यक्रम गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया