ज्योतिलाई सिर्जनशील कला पुरस्कार

समाधान संवाददाता २०८० असोज २१ गते १५:५९

पोखरा ।
युवा कलाकार ज्योति गुरुङका लागि शनिबार विशेष बन्यो । गृहनगर पोखरामा उनको एकल चित्रकला प्रर्दशनीकै दिन सिर्जनशील कलाकार समूहले पुरस्कृत गर्‍यो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लगायतले उनलाई सिर्जनशील युवा कला पुरस्कार २०८० बाट सम्मानित गरे ।


पुरस्कार राशि नगद १५ हजार र सम्मानपत्र छ । कलाकार विश्वरत्न शाक्यद्वारा स्थापित यो पुस्कार १९ औँ पटक प्रदान गरिएको हो । यो पुरस्कारबाट सम्मानित हुनेमा उनी पहिलो महिला कलाकार हुन् ।


कलाकार गुरुङले आफ्नो जन्मभूमिमा पहिलो एकल कला प्रदर्शनीकै दिन सम्मानित हुने विरल अवसरले आफू उत्साहित भएको सुनाइन् । ‘मैले परिवार र अग्रज कलाकारबाट कला सिकेँ, अझै सिक्दै छु । पुरस्कारले सिकाइलाई थप ऊर्जा दिएको छ,’ उनी भन्छिन् ।

Advertisement


देशमा एक दर्जनभन्दा बढी र विदेशमा आधा दर्जन कला प्रदर्शनी गरिसकेकी गुरुङको शनिबार भएको ‘स्टेप टु द नेचर’ शीर्षकको प्रदर्शनीमा दुई दर्जन चित्र प्रदर्शनीमा छन् । बाटर कलर प्रयोग गरी उनले पोखरा र आसपासको प्रकृति र मानव जीवन क्यान्भासमा उतारेकी छन् ।


कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले सिर्जनशील कलाकार समूहको स्थापना र पोखरेली कलाकारको एकताबारे प्रकाश पारे । प्रतिष्ठानका कुलपति बिखर्चीले कलाको महत्व बुझाउन विद्यालय तहबाटै कला शिक्षण गर्नुपर्नेमा जोड दिए ।

Advertisement


संस्थाका अध्यक्ष मिलन शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हेमकान्ति गुरुङ, पूर्वअध्यक्ष विश्व पराजुली, सदस्य निशान थापाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया