सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल जेल चलान

समाधान संवाददाता २०८० असोज २२ गते १०:३९

पोखरा ।
सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलाको इजलासले सहकारीका कोषाध्यक्ष रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।


बचतकर्ताको सहकारीविरुद्ध उजुरी दिएपछि गत भदौ २४ गते सहकारीका पूर्वसञ्चालक गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुजी जारी भएको थियो । रम्तेललाई प्रहरीले भदौ २५ गते काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि दोस्रोपटक थप १२ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ ।


प्रहरीले केही दिनअघि सहकारीको ठगीसम्बन्धी घटनामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सहकारी ऐनअनुसार ठगी मुद्दामा प्रहरीले १९ जनालाई विपक्षी बनाउँदै ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्न सरकारी वकिललाई राय दिएको थियो । सोहीअनुसार सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । रम्तेलबाहेक पक्राउ पुर्जी जारी भएका १८ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी


पक्राउ पुर्जी जारी भएका सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा फरार छन् । वर्तमान तथा पूर्व सञ्चालक सुरज श्रेष्ठ, कैलाश दर्लामी, धीरजकुमार दास, प्रमोद भट्टराई, मनोज नकर्मी, भविश्वर अर्याल, आइस्मा गुरुङ, हेमन्त अधिकारी, कविता तामाङ, सागर केसी, शिवबहादुर गुरुङ, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ पनि पक्राउ पुर्जीपछि फरार छन् ।

Advertisement


पोखरामा जिबी राई समूहले २०६५ सालमा खालेको सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको छ । सहकारीबाट सबैभन्दा धेरै जिबी राईको दाजुभाइकै कार्यकालमा अपचलन भएको निष्कर्ष छ ।


जिबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख, जिबीका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख, संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख र थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ हिनामिना भएको देखिएको प्रहरीले जनाएको छ ।


पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न गत भदौ १० गते विशेषज्ञ समिति गठन गरेको थियो । उक्त अध्ययन टोलीले प्रतिवेदनसमेत तयार पारिसकेको छ । सो प्रतिवेदनअनुसार सुरुदेखि नै सहकारीको रकम अन्य क्षेत्रमा लगाउँदै आएको देखिएको छ । जिबी दाजुभाइकै कार्यकालमा ठूलो रकम अपचलन भएकोसमेत प्रतिवेदनमा उल्लेख छ । सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको प्रतिवेदनको ठहर छ ।

तपाईको प्रतिक्रिया