दसैं आयो, महँगी ल्यायो

मूल्य नबढेको कुनै वस्तु नै छैन, मासुदेखि मरमसला र खाद्यान्न सबैको भाग अचाक्ली उकालिएको छ

प्रमिला कुँवर २०८० असोज ३० गते ११:४८

पोखरा ।
नयाँबजारकी सीता केसीलाई दसैं कसरी मनाउने भन्ने चिन्ता छ । बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य बढेकाले महँगीमा दसैं कसरी मनाउने भनेर उनी चिन्तित बनेकी हुन् ।


नयाँबजारमा किराना पसल सञ्चालन गर्दै आएकी केसीले दैनिक उपभोग्य वस्तुको मूल्यले जनताको ढाड सेकिएको गुनासो गरिन् । पसलमै सामान झार्दा हरेक हप्ता सामानको मूल्य १० रुपैयाँदेखि झन्डै दोब्बर बढेर आउने गरेको उनको अनुभव छ ।
‘एक महिनाकै अन्तरमा अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर भएको छ,’ ‘ग्यास, खाने तेलदेखि साबुन लगायत सबैको मूल्य बढेको छ,’ उनले भनिन्, ‘बजार मूल्य थेग्ने नसक्ने गरी महँगी बढेकाले आर्थिक अवस्था कमजोर भएकालाई यो वर्षको दसैं महँगिने भएको छ ।’


केसीका अनुसार एक महिनामै जिराको मूल्य दोब्बर भएको छ । भदौमा एक केजीको ६ सय रुपैयाँसम्म पर्ने जिराको मूल्य असोजमा वृद्धि भएर केजीको १३ सय रुपैयाँसम्म भएको छ । पछिल्लो १५ दिनमा किलोमै ४० रुपैयाँ चिनीको मूल्य बढेको छ । चिनीको मूल्य १०० बाट बढेर १४० सम्म पुगेको छ । प्याज र गोलभेडा दुबैको मूल्य केजीको १०० रुपैयाँ पर्छ । ग्यास सिलिन्डरमा १ महिनामा २५० रुपैयाँ वृद्धि भएको छ । ग्यास १९ सय रुपैयाँसम्म पर्छ ।

Advertisement


बजारमा कि त सामानको कि मूल्य बढेर आउँछ कि त सामानको तौल घटेर आउँछ । रारा चाउचाउ पहिला ७५ ग्रामको आउँथ्यो भने अहिले तौल घटेर ६० ग्राम भएको छ त्यस्तै वाईवाई क्विक चाउचाउको पनि ६५ ग्राम तौलबाट घटेर ५५ ग्राम भएको छ ।


भद्रकालीमा कोठा भाडामा लिएर बसेकी कमला परियारलाई पनि दसैं कसरी मनाउने भन्ने पिरलो छ । श्रीमानले दोस्रो बिहे गरेर उनलाई छोडेपछि कुखुराको दाना बनाउने ठाउँमा काम गरेर दुई छोराछारी र घर चलाउँदै आएकी छन् । कमलाले कोठाभाडा प्रत्येक महिना ७ हजार तिर्छिन् । १०÷१५ हजार तलबले पहिला सजिलै खान पुग्थ्यो भने अहिले महँगी बढेर अत्याश्वक सामानबाहेक अरु किन्न सक्ने अवस्था नै नरहेको उनको गुनासो छ ।

Advertisement

भदौमा एक केजीको ६ सय रुपैयाँसम्म पर्ने जिराको मूल्य असोजमा वृद्धि भएर केजीको १३ सय रुपैयाँसम्म भएको छ


‘महँगी बढेर उपभोग्य वस्तु किन्नै नसकिने अवस्था छ, महँगी भनेर भोकै बस्न सकिँदैन, छोराछोरीलाई त नयाँ लुगा किन्दिनुप¥यो म पुरानैले काम चलाउँछु । पैसा नभए त मनको रहर पनि हराउने रहेछ, उनले भनिन् ‘दसैंमा माग र बिक्री बढ्ने मौकाको फाइदा उठाउँदै व्यवसायीले खाद्यान्न, लत्ताकपडा लगायत उपभोग्य वस्तुको मूल्य बढाएका छन् । स्थानीय सरकारले मनपरी ढंगले कर बढाउँदा हामी जस्ता न्युन आय भएका सर्वसाधारणलाई दसैं महँगो पर्ने भयो ।’


दसैंको मुखमा इन्धनको मूल्यवृद्धिसँगै सवारी साधनको भाडा बढ्ने हुँदा उपभोक्तामा यसको प्रत्यक्ष असर परेको चिप्लेढुंगा मिनी मार्केट समितिका उपाध्यक्ष निरु कटुवालले उल्लेख गरिन् । कोरोना महामारी पछि सुस्ताएको व्यापार आर्थिक मन्दिले उठ्नै नसकेको बताउँदै कालोबजारी, इन्धनको मूल्यवृद्धिले महँगी बढेको उनको भनाइ छ ।


‘व्यवसायीका समस्या कसले सुन्छ ? निरुले प्रश्न गरिन्, ‘एक लाखको सामान एक झोला पनि हुँदैन, ग्राहकले परेको मूल्यभन्दा कममा सामान माग्छन्,’ उनले भनिन्, ‘बैंक सहकारीले ऋण दिन्न, व्यवसाय धान्न धौधौ परेको छ, व्यवसाय पलायन हुन बेर छैन ।’


अन्य समयको तुलनामा दसैंमा सामानको कारोबार बढी हुने हुँदा मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदा कारोबार नै कम हुने कटुवालको धारणा छ ।


निरुका अनुसार बजारमा अधिकांस सामानको मूल्य बढेकाले दसैंमा उपभोक्ता चर्काे महँगीको मारमा छन् । चाडपर्वको समयमा बजारमा मूल्यवृद्धिसँगै कालोबजारी हुने भएकाले सरकार बजारमा नियन्त्रणमा लाग्नुपर्छ । बजारमा लत्तकपडा, जुत्ताचप्पल, खाद्यान्न, तरकारी, विद्युतीय सामानदेखि अधिकांश सामानको मूल्य बढेको छ ।


खसीबोका व्यवसायी विष्णुकुमार श्रेष्ठले खसीबोको मूल्य प्रतिकेजीमा ५० देखि ७० रूपैयाँ बढेको बताए । एक केजी खसी मासुको मूल्य ६२५ देखि ६६० सम्म पर्ने श्रेष्ठले बताए । स्थानीय तथा प्रदेश सरकारले बाख्रापालनलाई अनुदान र सहयोग नगर्दा खसिबोका महँगो पर्न गएको सुनाए । गाउँमा भेटेनरी छैन, अनलाइन बिल हुँदैन जसले व्यवसायमा मेहनत अनुसारको सफलता हुँदैन, त्यसमाथी बिचौलियाले समस्यामा पारेका छन् । न किसानले उचित मूल्य पाउँछन्, न त हामीलाई सहज छ न ग्राहकलाई ।


तनहुँ, स्याङजा, लमजुङ लगायत ठाउँबाट खसीबोका लिएर बिक्री वितरण गरिँदै आएको श्रेष्ठले जानकारी दिए । आन्तरिक उत्पादनमा सरकारले जोड दिनुपर्ने बताउँदै राज्यलाई कर तिरे वापत अनुसारको सेवा सुविधा पाउनुपर्ने उनको माग छ ।
पोखरा उद्योग वाणिज्य संघ उपमहासचिव शोभा गौतमले चाडपर्वको समयमा बजारमा वस्तु तथा सेवाको खरिदबिक्री बढी हुँदा कालोबजारी बढ्ने हुँदा प्रभावकारी ढंगले अनुगमन भइरहेको जानकारी दिइन् । सर्वसाधरण मारमा नपरुन् भन्ने उद्देश्यले कमसल, म्याद नाघेका, मिसावटयुक्त सामानको बिक्री नहोस् भनेर अनुगमन भइरहेको उनको भनाइ छ ।


गौतम भन्छिन्, ‘हामीले सर्वसाधरणलाई ठगिनबाट जोगाउन र गुणस्तरीय वस्तु उपलब्ध गराउन प्रयास गरिरहेका छौं, व्यवसायीलाई पनि मर्का नपर्ने गरी काम गरिरहेका छौं । अनुगमनका समयमा संवेदनशील हुन आवश्यक छ । अनुगमन भइरहेको पसलप्रति सर्वसाधारणको मनमा नकारात्मक धारणा सिर्जना हुने रहेछ, पसलले गलत गरेको भएर त अनुगमन भएको होला भन्ने बुझ्नुहुँदो रहेछ ।


अरुको देखासिकी नगरी आफ्नो क्षमताले सक्ने गरि दसैं मनाउन उनले आग्रह गरिन् । दसैं नेपालीको परिचय रहेको र यसले परिवारमा खुसीयाली, मेलमिलाप, साथ सहयोग ल्याउने बताइन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया