राजनीतिदेखि प्राज्ञसम्म

रवीन्द्र माकाजु २०८० कार्तिक १३ गते १४:४६

गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्यबहादुर खड्का बिखर्चीलाई पोखरामा नचिन्ने कमै होलान् । प्राय बिखर्ची भन्नासाथ सबैले उनै सूर्यबहादुर सम्झन्छन् । जो बहुरुपी विखर्ची उपनामले चिनिन्छन् । नेपाल जनभावना पार्टीका केन्द्रीय अध्यक्षका रूपमा पनि चर्चित नै थिए । उनले चुनावको बेला गाडीमाथि बसेर भाषण गरेको दृश्य धेरैले बिर्सेका पनि छैनन् । न त उनले २०५६ सालमा जिल्ला शिक्षा अधिकारीलाई त पशु होस् तसर्थ लौ घास खाऊ भनेर टेबलमा घास राखिदिएको घटना ।


उनी गीत गाएर मत माग्दथे । नेपाली कांग्रेसमा धेरै वर्ष बिताएका बिखर्चीले आफ्नो भाऊ नपाएपछि नेपाल जनभावना पार्टी खोले । जनभावना पार्टीको पनि दाउ नचलेपछि उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पसेर सिंगो जनभावना पार्टीलाई नै विलय गराए । भनिन्छ पुरस्कार स्वरूप अहिले उनी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पदमा आसिन छन् ।


मैले बिखर्चीलाई पहिलोपटक २०४५ सालमा जन्माष्टमी शोभायात्रामा पूरै नाच्दै गाउँदै हिडेको देखेको हुँ । अत्यन्त जाँगरिला तर होचा कदका बिखर्चीसँग पछि आत्मीय र प्रगाढ सम्बन्ध हँुदै गयो । कुलपति जस्तो गरिमामय पदका कारण उनलाई साहित्यिक कार्यक्रममा जान भ्याइ नभ्याई छ । उनका थुप्रै पुस्तक प्रकाशित छन् । उनले कुनै बेला संकल्प गरेका थिए हरेक वर्ष नयाँ पुस्तक छाप्न सकिन भने दसैं नै मनाउन्न । उनको संकल्प अहिलेसम्म पूरा भएको छ । बिखर्ची यसलाई परमात्माको असीम कृपा सम्झन्छन् ।

Advertisement


२०१२ साल असोज ३० गते आइतबार एका बिहानै जन्मिएका सूर्यबहादुर बिखर्चीले सानै उमेरदेखि स्वास्थमा विध्न, वाधा झेल्नुपर्‍यो । दसैंमा पिङ खेल्न जाँदा कति लडे लडे । ९ वर्षको हुँदा कुकुरले टोकेर साप्रोमा नराम्ररी प्वाल पारिदिए । जे जस्तो अवस्था झेल्नु परे पनि बिखर्ची पढाइमा अब्बल थिए । उनी सुरुमै ३ कक्षामा भर्ना भए । ४ नपढी पुन ५ कक्षामा भर्ना भए । विद्यालयमा प्रायः शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा कविता सुनाउँनै आतुर हुन्थे । विखर्ची साहित्यिक कार्यक्रममा प्रायः प्रथम र द्वितीय हुन्थे । त्यस बेला उनका प्रतिष्पर्धी हुन्थे – प्रकट पंगेनी ‘शिव’ ।

२०४१ मा भारतमा पुस्तक छपाउन बिखर्ची बनेपछि राखिएको उपनाम अझै उनलाई प्रिय लाग्छ

Advertisement


बिखर्ची सानैदेखि रोगी र कमजोर भएकाले आमाले उनलाई बलियो बनाउन झारफुक गर्नेदेखि लिएर भूत पिचास पन्छाउन पनि बाँकी राखिनन् । विखर्चीले २०३० सालमा टेस्ट पास गरेता पनि एसएलसी भने ०३३ सालमा मात्र दिन पाए । त्यसपछि उनी विश्वशान्ति माविमा मुखियाको पदमा जागिरे भए । उनले गरेको अथक मेहनतबाट तत्कालीन हेडमास्टर परशुराम क्षेत्री प्रभावित भए । त्यस बेला विद्यालयमा नाटक प्रदर्शन गर्ने क्रममा खाल्टोमा परेर बिखर्ची नराम्ररी लडे । दाहिने गोडा दाउरा भाचिएझै भाच्चियो ।


एसएलसी पास भएपछि बिखर्ची गाउँकै चन्द्रप्रभा माविमा शिक्षक बन्न पुगे । त्यस बेला उनलाई एक अमेरिकी स्वयमसेवकले घोडा दिएका थिए । बिखर्ची त्यही घोडा चढेर विद्यालय पढाउन गएको सम्झन्छन्–त्यो वायुपंखी घोडा थियो, अति छिटो दौडने । एक पटक धन्दै मलाई खसालेको भाग्यले जोगिएँ ।


२०३४ सालका बिखर्चीको विवाह विष्णुमायासँग भयो । तर घरज्वाइ बस्न दबाब दिएकाले खटपट भयो । २०३५ सालमा हरिमाया सुवेदीसँग विवाह गर्न बाध्य भए । विखर्चीले स्कुल पढाउँदै प्राइभेट रूपमा २०३७ सालमा आइए पास गरे । २०३६ सालको जनमत संग्रहका बहुदलको पक्षमा खुलेरै लागे । शिक्षक आन्दोलनमा पनि होमिए । उनले त्यस बेला भने– जबसम्म शिक्षकका जायज माग पूरा हुँदैन, तबसम्म प्रजातन्त्र पुनस्र्थापना हुँदैन ।


बिखर्ची नेपाल शिक्षक संगठनको आन्दोलनमा काठमाडौ जाँदा समातिएर ११ दिन प्रहरी हिरासतमा रहे । पछि पोखरा ल्याई बिखर्ची र दीपक पौडेललाई चर्को यातना दिइयो । पछि शिक्षक आन्दोलन सफल भयो । सरकारले नराम्ररी घुडा टेक्यो । २०३२ सालमै रणेको जीवन उपन्यास लेखेका बिखर्चीले आफ्नो साहित्यिक यात्रालाई जारी राख्दै २०३७ सालमा वीरे र पातली खण्डकाव्य छापे । ती लोकप्रिय बने । २०४० सालमा फूल फूल्यो रुखको डालीमा छापे भने ०४१ सालमा लेखनाथ स्मृति खण्डकाव्य लेखे ।


२०४१ सालमा भारतमा पुस्तक छपाउन जादा उनको खल्ती रित्तो भयो । उनी बिखर्ची बने । उनले सो पीडा जीवनमा कहिल्यै भुल्न सकेनन् र बिखर्ची उपनाम राखे । जो अहिलेसम्म छँदै छ ।


२०४३ सालको आम निर्वाचनमा बिखर्ची पनि राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवार बने । उनी त्यसबेला काँधमा माइक बोकेर गति गाउँदै भाषण गर्दै हिड्थे । शायद यही क्रममा उनले धेरै गीत सृजना गर्ने मौका पाए । चुनावमा हारेपछि बिखर्ची धादिङ निगालापानीको चण्डेश्वरी माविमा शिक्षक हुन पुगे । पछि उनले हेडमास्टरको जिम्मेवारी पनि सम्हाले ।


०४५ सालमा विखर्ची माउन्ट अन्नपूर्ण स्कुलमा शिक्षक बने । त्यसबेला उनले बिए पास गरिसकेका थिए । ०४६ सालको जनआन्दोलनमा उनी ४९ दिन थुनिए । बहुदल प्राप्त भईसके पछि पोखरामा हुने राजनैतिक दलको कार्यक्रममा बिखर्ची कवितावाचन गर्न पछि पर्दैनथे । नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन गीतमार्फत उनी लागि पर्दथे ।


०४८ सालमा उनले शारदा बोर्डिङ स्कुल खोले नदिपुरमा । सोही वर्ष उनले प्राइभेट रूपमा स्नातकोत्तर पढाइ पूरा गरे । ०५१ सालमा पृथ्वीनारायण क्याम्पसमा आंशिक शिक्षकका रूपमा नियुक्ति पाए । ०५४ सालमा उनले पखालिएको सिउँदो नाटक प्रदर्शन गरे क्षेत्रीय नाटक महोत्सवमा । उनले थुप्रै गीत रचना गरेका छन् ।


प्याब्सन कास्की पूर्व अध्यक्ष विखर्चीले आफ्नो जीवनमा कहिल्यै नबिर्सने घटना सुनाए । ०५६ सालको चैत्र महिनाको घटना हो । आफ्नो विद्यालयलाई कक्षा १० सम्मको स्वीकृति माग्न जाँदा तत्कालीन जिल्ला शिक्षा अधिकारी हरिश्चन्द्र यादवले आर्थिक सहयोग माग गर्नुका साथै विभिन्न वहाना र मानसिक यातना दिएकाले आक्रोशित भइ बिखर्चीले उनलाई त पशु होस् तसर्थ लौ घास खाऊ भनी टेबलमा घास राखिदिएको घटनाले राष्ट्रिय पत्रपत्रिका एवं सञ्चार माध्यममा निकै स्थान पाएको थियो । यस घटनालगत्तै सम्बन्धित निकायबाट उनले १० कक्षासम्मको स्वीकृति पाएका थिए ।


नेपाल जनभावना पार्टीलाई बिखर्चीले एमालेमा विलय गराए । ०७८ वैशाख १४ गते उनी गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त भए । उनी अहिले भाषा, संस्कृति कला संगतिको विकासमा दत्तचित्त छन् । लामो समयसम्म शिक्षण पेशा, साहित्यको सृजनामा क्रियाशिल बिखर्चीका हालसम्म करिब ५० पुस्तक प्रकाशित छन् । विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित छन् । दजनौं साहित्यिक संघ, संस्थामा आवद्ध बिखर्चीले पछिल्लो पटक ०७७ सालमा राष्ट्रपतिबाट प्रवल जनसेवा पदक पनि पाए ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया