वन्यजन्तुको आक्रमणबाट ६५ पशुमा क्षति

सुन्दरकुमार थकाली २०८० कार्तिक १५ गते १३:३६
मुस्ताङका उच्च लेंकमा राति पशुचौपाया राख्ने गोठ ।

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा गत वर्ष वन्यजन्तुको आक्रमणमा परी १९ घरधुरीका ६५ पशुधनमा क्षति भएको छ । जसमध्ये उपल्लो मुस्ताङमा ६ घरधुरीका २७ वटा र तल्लो मुस्ताङमा १३ घरधुरीका ३८ पशुधनको क्षति भएको हो ।


राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) मुस्ताङ कार्यालयमा क्षतिपूर्तिका लागि माग गरिएको निवेदन अनुसार गत वर्ष उक्त संख्यामा पशुधनको क्षति भएको हो । उपल्लो मुस्ताङमा ६ घरधुरीको २७ वटा पशुचौपाया हिमचितुवाको आक्रमण परी क्षति भएको एक्याप लोमान्थाङका प्रमुख राम गुरुङले जानकारी दिए ।


उपल्लो मुस्ताङमा ५ घरधुरीको २६ वटा च्यांग्रा र १ घरधुरीको घोडालाई हिमचितुवाले मारेको थियो । जसमध्ये वारागुङ ३ का ताक्ला गुरुङको १२ वटा, लोमान्थाङ गापा सम्जुङका निमा ढिन्डुक गुरुङको ७ वटा, सोही स्थानकै ल्याक्चुङ गुरुङको ३ वटा, वारागुङ—३ का किरन गुरुङको १ वटा र लोमान्थाङ सम्जुङका ३ वटा हिमचितुवा गोठमै पसेर क्षति बनाएको थियो ।

Advertisement


लोमान्थाङ ठिङ्गरका कर्साङ ढोका गुरुङको १ घोडा पनि हिमचितुवाले क्षति बनाएको एक्याप लोमान्थाङको रेकर्डमा उल्लेख गरिएको छ । उपल्लो मुस्ताङमा वन्यजन्तुको क्षतिबाट सबैभन्दा बढी पशुधनको क्षति लोमान्थाङको सम्जुङमा भएको हो । उपल्लो मुस्ताङमा पशुधन क्षति भएकाहरुले निवेदन गरेको र उनीहरुलाई राहत उपलब्ध गराउन पहल भईरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख राम गुरुङले बताए ।


उपल्लो मुस्ताङमा पशुधन क्षति भएकाहरु सबै राहतका लागि सम्पर्कमा आउन नसकेको जानकारी दिए । गत आर्थिक वर्षमै तल्लो मुस्ताङमा पनि वन्यजन्तुको आक्रमणबाट सोही अनुमान भन्दा बढी पशुधनको क्षति भएको एक्याप जोमसोमको पशु क्षति भएको तथ्यांक छ । तल्लो मुस्ताङको ३ पालिकामा १३ घरधुरीको ३८ पशुचौपायालाई वन्यजन्तुले आक्रमण गरी क्षति बनाएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

Advertisement

उपल्लो मुस्ताङमा २६ च्यांग्रा र १ घोडालाई हिमचितुवाले मारेको थियो


जसमध्ये ९ घरधुरीको २८ वटा याकचौरी र ३ घरधुरीको १० वटा भेडाच्यांग्रालाई वन्यजन्तुले आक्रमण गरी क्षति तुल्याएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । तल्लो मुस्ताङमा पशुधनमा क्षति पुगेका १३ घरधुरीमध्ये अहिलेसम्म ३ घरधुरीको ८ पशुधनको क्षतिपूर्ति उलब्ध गराईएको र बाँकी घरधुरीको क्षतिपूर्ति प्रक्रियामा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले सुनाए ।


पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङमा वन्यजन्तुले स्थानीय पशुपालकलाई निकै सास्ती दिएको छ । यहाँ संरक्षित वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै जाँदा यहाँको सदियौंदेखिको पशुपालन व्यवसाय संकटमा पर्न थालेको हो । जलवायु परिवर्तनको असर थेग्न बाध्य मुस्ताङका पशुपालकले वन्यजन्तुले निरन्तर दुःख दिइरहेको छ ।


मुस्ताङमा बर्सेनि पशुधनको क्षति हुने तथ्यांक बढ्दै जान थालेको हो । पछिल्ले समय यहाँका पशुपालक क्षतिपूर्तिका लागि एक्याप कार्यालयमा पुग्ने गरे पनि क्षतिपूर्ति प्रक्रिया झन्झटिलो भएकै कारण सबै क्षति पुगेकाहरु एक्यापको पहुँचमा पुग्न नसकेको थासाङ २ सौरुका पशुपालक सोजन हिराचन बताउँछन् ।


मुस्ताङका पशुपालक किसानले व्यवसायिक रुपमा याकचौरी र भेडाच्यांग्रा पालन गर्दै आएका छन् । यहाँका उच्च लेक र खर्कहरुमा गोठै खडा गरेर पालन गरिएका पशुचौपाया हिमचितुवाको निसानामा परेका हुन् । हिमचितुवाको मुख्य आहारा नाउर हो । उच्च लेकमा रहने वन्यजन्तु नाउरहरु पानी खान बस्ती नजिक आउँछन् । यसरी बस्ती नजिक झर्ने नाउरलाई आहाराका लागि पछ्याउँदै गर्दा हिमचितुवा गोठमै पसेर पशुधनको क्षति पुर्‍याउने गरेको पशुपालक किसान हिराचनले सुनाए ।


त्यसो त हिमचितुवाले उच्च लेकको खर्ककै चरन क्षेत्रमा चरिरहेका पशुचौपाया माथि दिनदहाडै आक्रमण गर्ने गरेको छ । मुस्ताङमा सुरक्षित चरन क्षेत्र र सुरक्षित पशुचौपाया राख्ने भरपर्दो पूर्वाधार नहुँदा हिमचितुवाको जोखिम बढेको हो ।


वन्यजन्तुको आक्रमणबाट क्षति व्यवहोर्न बाध्य पशुपालकले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस, स्थानीय तह वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिससहित एक्याप कार्यालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।


यसरी पेश भएको पशुधन क्षतिको विवरण मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने गरिन्छ । एक्यापले संरक्षित क्षेत्रमा वन्यजन्तु क्षतिको राहत सहयोग सिफारिस गठन गरेको हुन्छ । वन्यजन्तु राहत सहयोग निर्देशिका २०६९ दोस्रो संशोधन २०७४ र तेस्रो संशोधन २०७५ को दफा ६ को (ख) बमोजिम तोकिएके राहत एक्यापमार्फत उपलब्ध गराउने गर्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया