मुस्ताङमा थपिए १९ योजना

सुन्दरकुमार थकाली २०८० कार्तिक १६ गते १०:५१
घरपझोङ रिङरोड स्तरोन्नति गरिँदै । तस्बिरः सुन्दरकुमार थकाली ।

जोमसोम ।
गण्डकी प्रदेश सरकार अन्तर्गत चालु आर्थिक वर्ष २०८०÷०८१ लागि १९ वटा नयाँ योजना थपिएका छन् । सडक स्तरोन्नतितर्फ १७ र पुल निर्माणतर्फ २ गरी १९ वटा नयाँ योजना थपिएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
अघिल्ला आर्थिक वर्षमा दायित्व सरेका बहुर्षीय ५ योजना र १२ साल बसाली योजना निर्माणाधीन अवस्थामा छन् । योसँगै पूर्वाधार विकास कार्यालय मुस्ताङमा कुल साना÷ठूला गरी ३६ वटा योजना रहेको कार्यालयका सूचना अधिकारी घनश्याम रोक्कामगरले जानकारी दिए ।


यसअघिका बहुवर्षीया योजना अन्तर्गत लोमान्थाङ रिङरोड र घरपझोङ रिङरोडसहित करोड लागतका ५ योजना सम्पन्न हुन बाँकी छ । अघिल्लो आर्थिक वर्षबाट सरेका बहुर्षीय र साल बसाली योजना गरी १७ वटा योजना दायित्व सृजना भएको कार्यालयका सूचना अधिकारी रोक्का मगरले बताए ।


पूर्वाधार विकास कार्यालय मुस्ताङमा थपिएका योजनामध्ये १७ वटा सडकका लागि १३ करोड २० लाख र २ वटा पुल निर्माणका लागि १ करोड ९० लाख बजेट विनियोजन भएको कार्यालयका सूचना अधिकारी रोक्कामगरले उल्लेख गरे । पूर्वाधार विकासका लागि चालु वर्ष थपिएका नयाँ योजना धेरैजसो उपल्लो मुस्ताङका लागि परेको बताइएको छ ।

Advertisement

१७ सडक र २ गरी १९ योजना थपिएकोमा अधिकांश उपल्लो मुस्ताङ केन्द्रित छन्


उपल्लो मुस्ताङको पर्खाल घेरिएको माटोको सहर लोमान्थाङ गेटदेखि लोमान्थाङ वाल वरिपरी आरसिसी सडक निर्माणका लागि प्रदेश सररकारले साढे ४ करोड बजेट विनियोजन गरेको छ । यस्तै, लोमान्थाङ स्वागत गेटदेखि लोमान्थाङ हुँदै थाकारनाङ जोड्ने सडक स्तरोन्नतिका लागि १ करोड विनियोजन भएको कार्यालयका सूचना अधिकारी रोक्कामगरले बताए ।

Advertisement


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १,२ र ३ नम्बर वडा जोड्ने रानीपौवा, पुराङ हुँदै झोङ तेताङ जोड्न सडकका नयाँ योजनामा परेको हो । यसका लागि १ करोड बजेट विनियोजन भईसकेको र उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले बताएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र अन्तर्गत समर घ्याकर कृषि सडकका लागि ५० लाख, लोघेकर दामोदरकुण्डको घिलिङ गाउँ भित्र सडक स्तरोन्नतिमा ५० लाख, घिलिङ गाउँ भित्रको सडक निर्माण योजनामा ६० लाख, मुस्ताङको घरपझोङ ३ को सोनामको घरदेखि स्याङ गाउँ जाने कृषि सडक निर्माण तथा गल्छी नियन्त्रणका लागि ३० लाख, थासाङ ५ को टिटी गाउँ लार्के सडक निर्माणमा ५० लाख, लोमान्थाङको ताङ्लादेखि लोमान्थाङ सडक स्तरोन्नतिमा ५० लाख र थासाङ गाउँपालिका १ टुकुचे—झोङो जोड्ने कृषि सडक निर्माण तथा स्तरोन्नतिमा ५० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयले बताएको छ ।

यस्तै, गण्डकी प्रदेश सरकार अन्र्तगत पुल निर्माणतर्फ घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा २ योजना परेका हुन् । जस अन्र्तगत वारागुङ—२ को छेङ्गुर झोङ जोड्ने मोटरेबल पुलका लागि १ करोड ५० लाख र घरपझोङ ५ को ढुम्बाताल जाने ठिनी खोला मोटरेबल पुलका लागि ४० लाख बजेट परेको हो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया