सोरठी नाच हेर्न घलेगाउँ

राष्ट्रिय समाचार समिति (रासस) २०८० कार्तिक १६ गते १०:५८

लमजुङ ।
प्राकृतिक छटाले भरिपूर्ण यहाँको क्व्होलासोथर गाउँपालिका ३ स्थित घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक चहलपहल हुन भएको छ । दसैँअघि सुनसान जस्तै रहेको यहाँका घराबासमा दसैँलगत्तै चहलपहल सुरु भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिए ।


सचिव घलेका अनुसार घरबासमा दसैँ सुरु भएयता दैनिक ४० देखि ५० जना पर्यटक आउन थालेका छन् । ‘दुई दिन अघिसम्म दैनिक २ सय जनासम्म पर्यटक आइरहेका थिए । विगतमा दैनिक ३ सयदेखि ५ सय जनासम्म आउने गरेकामा पर्यटक आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा छ’, उनी भन्छन् ।


यहाँ पर्यटकीय याममा प्रतिघरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नआउदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चालक पर्यटक आगमन बढेसँगै उनीहरूको सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उनी भन्छिन्, ‘अहिले त प्रत्येक घरबास सञ्चालकले दैनिक जसो आम्दानी गर्न थालिसकेका छन् ।’

Advertisement


विसं २०५७ बाट सञ्चालनमा आएको यहाँको घरबासमा अहिले ४४ घरमा घरबास सञ्चालन छ । जसमा एकै पटक ३ सय जनासम्म बस्नसक्ने क्षमता छ । साथै २ वटा होटलसमेत सञ्चालनमा छन् ।

घले गाउँ गुरुङहरूको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन ठाउँ हो

Advertisement


घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूको जातीय पहिचानसहितको सांस्कृतिक नृत्यसमेत देखाउने गरिएको छ । विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।


घले गाउँ नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन ठाउँ हो । गाउँमा करिब १ सय ३५ घरधुरी छन् । यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण हिमाल दोस्रो, अन्नपूर्ण हिमाल चौँथो, माछापुच्छे«, हिमालचुली, लमजुङ र बुद्व हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।


यहाँ घले राजामध्ये अन्तिम घले राजा ज्याल्बु रुजा क्लेको शालिक पनि राखिएको छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले स्थानीय तहमै उत्पादित अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायतका परिकार खुवाउने गर्दछन् ।


पर्यटकलाई सत्कारसँग आफ्ना कला संस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरूको जातीय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गर्ने गरिएको छ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ ।


घलेगाउँमा प्रतिव्यक्ति १ रातको १ हजार २ सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एक छाक भोजन र बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।


घले गाउँ काठमाडौँंबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको १ सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म १ सय १० किमीको दूरीमा छ । त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया