घर घरमै पस्छ चितुवा

समाधान संवाददाता २०८० कार्तिक १७ गते १०:४६

बलेवा ।
गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जंगल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईवस्तुको चरिचरण क्षेत्र थियो । दिनभरि गाईबस्तु चरेकै कारण जंगल हुनबाट पाखा जोगिएका थिए । आजभोलि फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ । त्यसैले ती पाखामा जंगल भरिएको छ ।


१० वर्षअघिसम्म बस्तीको नजिक नदेखिने जंगली जनावर आजभोलि बागलुङका ग्रामीण बस्तीका घरघरमै देखिन थालेका छन् । जंगली जनावर बस्ती नजिकमात्रै पुगेका होइनन्, एकाध घरमा ती जनावरले क्षतिसमेत पु¥याउन थालेका छन् ।


जिल्लाको दक्षिण जैमिनी नगरपालिका १ कुश्मीशेराकी चन्द्रमा शर्माको गोठमा ४ दिनअघि चितुवा पस्यो । साँझकै समयमा घरदेखि केही परको जंगलमा कराइरहेको चितुवा रातको समयमा गोठमा पसेर खोरमा थुनेका बाख्रालाई आक्रमण गर्‍यो । चन्द्रमाले १ वर्षअघि १० हजार तिरेर ल्याएको माउबाख्रो चितुवाले खोरबाट निकालेर चार कान्लामुनि पुर्‍यायो ।
पातलो गाउँमा छिमेकी निस्केर धपाउँदाधपाउँदै घाँटीमा घाउ बनाएर रगत चुसेको अवस्थामा बाख्रो चितुवाको मुखबाट खोसियो । बाख्रो १ दिनभन्दा बढी बाँचेन ।

Advertisement


गाउँ छेउका पल्लो पाखार सामुदायिक वन र जलुके तारेभिर सामुदायिक वनमा चितुवा कराउन छोडेका छैनन् । दिनभर गाउँमा बाँदरको आतंक छ । रात परेपछि चितुवा कराउँदै घरघरै आइपुग्छन् । ‘पहिला वनमा चराउन लगेका बाख्रा चितुवाले खान्थ्यो घरमै पसेको कमै सुनिन्थ्यो’, शर्माले भनिन्, ‘५ महिना पहिला बनाएको नयाँ खोरका फलिया फालेर बाख्रो उडायो, पाठा घाइते छन् ।’


उनको बाख्रो खाएको १ दिनपछि चितुवाले छिमेकमा बाँदर धपाउन पालेको गुरुप्रसाद आचार्यको कुकुर खायो । गोठकै छेउको खोरमा थुनेको कुकुर रातको समयमा चितुवा पसेर खाएको आचार्यले बताए । ‘गाउँ पातालो छ । मान्छेभन्दा जंगली जनावर धेरै हुन थाले’, उनले भने, ‘गरिखान नसकिने अवस्था आयो । बालीनाली बाँदरले खान्छ । पशु पाले बाघलाई, कसरी बस्नु गाउँमा ?’

Advertisement


बसाइँसराइले बस्ती पातलो हुनु, जंगलमा आहाराको कमी हुनु र नजिकमा रहेको निकुञ्जमा मध्यवर्ती क्षेत्र नहुनुले जंगली जनावर गाउँ पस्न थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख शरद अधिकारीले बताउँछन् । ‘मुख्यगरी जंगलमा आहारा नभएपछि मात्रै जंगली जनावर जोखिम मोलेर गाउँ पस्छन्,’ उनले भने, ‘जिल्लामा सिकार आरक्ष छ । तर वफर जोन छैन । आरक्षबाट बाहिर निस्केका जनावर बस्तीसम्म पुगेका हुन सक्छन् ।’

तपाईको प्रतिक्रिया