किसान भन्छन्ः अनुदान भन्ने थाहा छैन

राष्ट्रिय समाचार समिति (रासस) २०८० कार्तिक १७ गते ११:३१

ढोरपाटन ।
शिरमा हरियो गलबन्दी, शरीरमा मैला कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिन्छन्, रनबहादुर सिर्पाली । गोठ वरपर दुई सय ५० बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् ।


युवावस्थामा १ सय ५० सय भेडाबाख्रा पालेको सुनाउने उनी अहिले तागत घट्दै गएपछि कम पाल्न थालेको बताउँछन् । बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका ५ का उनले व्यावसायिक रुपमा भेडापालन गन थालेको ६३ वर्ष भयो । ९ वर्षकै उमेरदेखि गोठालो गर्न थालेका सिर्पाली अहिले ७२ वर्षका भए ।


एउटै पेसामा यति लामो समयसम्म निरन्तरता दिई राख्ने यासदै होलान् । सरकारी कर्मचारी भए पनि २० वर्षमात्रै जागिरमा रहन्छन् । तर, सिर्पाली दशकौँसम्म एउटै पेसामा अनवरत रुपमा लागि राखेका छन् । बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भेडाबाख्राको स्याहारमै व्यस्त हुने उनी दसैँ अगाडि मात्रै बुकीबाट झरेका थिए । विकट गाउँमा जन्म हुँदा सानैबाट गोठालोमा लाग्नुपरेको उनले गुनासो गरे ।

Advertisement


आफ्नो बाल्यकालमा अहिलेको जस्तो पढ्ने लेख्ने चलन नभएको हुँदा आफूले पढ्न नपाएको उनी बताउँछन् । अहिले तमानखोला दुर्गम नै मानिन्छ । पहाडैपहाडले घेरिएको तमानखोलाका अधिकांश नागरिक रनबहादुर जस्तै पशुपालनमा लागेका छन् । अग्ला भिर पाखा र पशुपालनका लागि राम्रो वातावरण रहेको हुँदा हजारौँ पशु पाल्न सहज हुने उनको भनाइ छ ।


अझै १० वर्ष १ डेढ सय भेडा पाल्न सक्ने उनी बताउँछन् । गाउँमा पाका पूर्खादेखि खेतीपाती गर्ने र पशुपालन गर्दै आएको हुँदा आफूले पनि सानैदेखि यही पेसा अंगाल्दै आएको उनले बताए । पछिल्लो समय नयाँ पुस्ता भेडापालनमा चसो नदिँदा परम्परागत पेसा हराउन थालेको उनी बताउँछन् ।

Advertisement


४ वर्ष अगाडिसम्म बुकीमा हजारौँ भेडा र सयौँ गोठाला भेटिने गरेकामा अहिले त्यो सङ्ख्या निकै न्यून भएको सिर्पाली बताउँछन् । समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिँदै गएको हुँदा व्यापार व्यवसाय गर्ने बढ्न थालेको उनको भनाइ छ ।
‘सहर बजारमा सुविधा धेरै हुन्छ, हाम्रा गाउँ ठाउँमा बल्ल अलिअलि विकास हुन थालेको छ, पहिले मोटर गाडी देख्न सहर जानुपथ्र्यो, अहिले गाउँमै गाडी गुड्छन्, भेडाबाख्राले पनि अहिले त गाडी देख्न पाए, हाम्रो जमानामा साह्रै दुःख थियो, नून, चामल बटौली (बुटवल) पुगेर ल्याउनुपथ्र्यो, आजभोलि घरमै पाइन्छ,’ उनले भने, ‘हामी सानो–सानो हुँदा गाउँभरिका मान्छेले भेडाबाख्रा पाल्थे, एउटा घरमा कम्तीमा पनि १ सय भेडाबाख्रा र गाईभैँसी हुन्थे, अचेल त्यस्तो छैन, युवा बजार जान थाले, विदेश जान थाले त्यही भएर गोठालो गर्ने पनि घटे ।’


सिर्पालीका भेडाको बथानमा काला, सेता र खैरो रंगका पाठापाठी र माहु भेडाबाख्रा छन् । हुलमूलमा हराउने हुँदा ती सबैका सिङमा रातो, हरियो लगायतका रंग लगाइएका छन् । बर्खामा बुकी र हिउँदमा बेँसी झर्ने गर्दा घाँस र दाना पुर्‍याउन सहज हुने भएको छ । भेडापालनबाटै परिवार चलाउँदै आएको उनी बताउँछन् ।


पहिले–पहिले गोठ बलाङ, मान्द्रो (बाँसको चोयाबाट बनेको सामान)ले बनाउने गरेको सुनाउँदै अहिले त्रिपाल र टेन्टले छाउन थालेको उनी बताउँछन् । ‘स्थानीय, प्रदेश र संघीय सरकारले कृषिकका लागि हरेक वर्ष अनुदानका कार्यक्रम ल्याउने गरेका छन् । तर ती कार्यक्रमले रनबहादुर जस्ता सयौँ किसानलाई अझै पनि छुन सकेको छैन,’ उनी भन्छन्, ‘कृषि अनुदान भन्ने मलाई थाहा छैन ।’

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया