धमाधम लाइन काट्दै विद्युत् प्राधिकरण

सञ्जय रानाभाट २०८० कार्तिक २० गते १०:४४

सञ्जय रानाभाट, पोखरा ।
विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले बक्यौता नतिर्ने उपभोक्ताको लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ । कात्तिक १२ गतेदेखि प्राधिकरणले विशेष अभियान नै चलाएर बक्यौता नतिर्ने उपभोक्ताको लाइन काट्न सुरु गरेको पोखरा वितरण केन्द्रका सूचना अधिकृत प्रदीपकुमार भुवाजीले बताए ।


उनका अनुसार पोखरा वितरण केन्द्रले विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशन अनुरुप ६० दिनभन्दा बढी बक्यौदा महसुल नतिर्ने उपभोक्ताको लाइन काटिएको हो । तर, सूचना अधिकृत भुवाजीका अनुसार अहिले काटिएको लाइन ४ महिना भन्दा बढीदेखि बक्यौता नतिर्ने ग्राहकको लाइन काटिएको हो । पोखरा वितरण केन्द्रमा मात्र ५७ हजार उपभोक्ता छन् । जसमध्ये पोखरा वितरण केन्द्रले ३४ करोड बक्यौता बापतको रकम उठान बाँकी छ । विद्युत् उपभोक्ताबाट असुल उपर नभएसम्म यो अभियान निरन्तर हुने जनाएको छ ।


विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको हकमा मौजुदा महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म पाँच प्रतिशतका दरले थप शुल्क लाग्नेछ । ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

Advertisement


मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताको विद्युत् लाइन काट्न सक्छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि विनियमावलीमा छ ।

कारागारदेखि अदालत हुँदै मन्त्रालयसम्मका काटिए लाइन

Advertisement


गण्डकीका मन्त्रालयदेखि कारागारको लाइन काटियो
प्राधिकरणकै निर्देशन अनुरुप केही दिनअघि मात्र पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश सरकारको ऊर्जा मन्त्रालयको बिजुली काटेको थियो । मन्त्रालयले बाँकी बक्यौता तिरेपछि अहिले लाइन जडान भएको छ । आइतबार पनि वितरण केन्द्रले लाइन काट्ने क्रममा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय र कास्की कारागारकै विद्युत लाइन काटेको छ । १ सय १७ वटा उपभोक्ताको लाइन अहिलेसम्म प्राधिकरणले काटिसकेको छ ।


भौतिक पूर्वाधार मन्त्रालयले बक्यौता बापत डेढ लाख र कास्की कारागारले २० लाख तिर्न बाँकी भएपनि वितरण केन्द्रले लाइन काटेको हो । तर, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कारागार जस्तो संवेदनशील ठाउँमा बिजुली नकाट्न वितरण केन्द्रलाई अनुरोध र एक हप्तामा तिर्ने आश्वासन दिएपछि वितरण केन्द्रले लाइन जडान गरेको हो । भौतिक पूर्वाधार मन्त्रालयमा काटिएको लाइन दिनभर बक्यौता रकम नबुझाएपछि जडान गरिएको छैन ।


प्राधिकरणको पोखरा वितरण केन्द्रका सूचना अधिकारी प्रदीपकुमार भुवाजीले साउनयता मात्र वितरण केन्द्र ५७ हजार ग्राहकमध्ये १२ हजार ६२ ग्राहकको लाइन काटिसकेको जानकारी दिए । ‘प्राधिकरणले लाइन काट्ने र बक्यौता बुझाएपछि पुन जडान गर्ने काम निरन्तर नै हुन्छ । तर, बक्यौता लिने रकम बढ्दै गएपछि अभियान नै चलाएको हो ।


यो अभियान चलाएपछि मात्र ९ सय वटा ग्राहको लाइन काटिएको छ । लाइन काटिएपछि पोखरा वितरण केन्द्रले मात्र १ करोड ३५ लाख बक्यौता कलेक्सन गरेको छ । यसअघि नै पोखरा वितरण केन्द्रले जलाधार कार्यालय पोखरा, आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत कास्की र भूमि व्यवस्थापन कार्यालयको लाइन काटेर जडान गरेको छ ।


‘पोखरा वितरण केन्द्रबाट उठ्नुपर्ने ३४ करोड रुपैयाँमध्ये २२ करोड सरकारी निकायबाट उठ्न बाँकी हो । जसमध्ये २० लाख कास्की कारागारकै छ । कास्कीमा रहेका प्रहरी कार्यालयहरुको पनि बक्यौता उठ्न बाँकी छ । अन्य रकम प्राइभेट सेक्टरको रकम हो,’ सूचना अधिकृत भुवाजीले भने । वितरण केन्द्रले सरकारी कार्यालयमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाबाट उठान बाँकी छ । सडक बत्ती बापत पोखरा महानगरले ११ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया