जोमसोम—कागबेनी कालोपत्र हुने

सुन्दरकुमार थकाली २०८० कार्तिक २१ गते १०:२२

जोमसोम ।
राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक अन्तर्गत जोमसोम—कागबेनी १३ किमी सडकमा कालोपत्र गर्ने तयारी भएको छ ।४ वर्षअघि ग्राभेल बनेको बेनी जोमसोम कोरला) सडक आयोजनालाई हस्तान्तरण भइसकेकोपछि भौतिक पूर्वाधार मन्त्रालयले २०७८ मा जोमसोम—कागबेनी सडकमा कालोपत्र गर्न बजेट विनियोजन गरेको थियो ।


०७६ मा जोमसोम—कोरला पहिलो खण्ड अन्र्तगत जोमसोम—ताङ्वे १८ किमी सडकमा सडक स्तरोन्नति तथा ग्राभेलको काम खड्ग कृष्ण जेभीले पूरा गरेको थियो । त्यस बेला जोमसोम—कोरला १ सय १० किमी सडकका ७ खण्डलाई २ अर्ब ६ करोड बजेट छुट्याइएको थियो । जसमध्ये चराङ—छोसेर २५ किमी ग्राभेल सडकको काम ६ वर्ष बितिसक्दासमेत पूरा हुन सकेको छैन ।


०७८ असोज ४ गते ठेक्का सम्झौता भएको जोमसोम—कागबेनी १३ किमी सडकको सम्झौता लागत २८ करोड १४ लाख छ । त्यस बेलाको सडकलाई थप स्तरोन्नति गरी २ वर्षभित्र कालापत्र् गर्ने गरी रौटाहा आत्रेय जेभीले सम्झौता गरेको थियो । तर, निर्माण कम्पनीले सम्झौता अवधि सकिन लाग्दासमेत सडक स्तरोन्नति तथा कालोपत्र सकेको छैन ।

Advertisement

म्याद गुज्रेपछि निर्माण कम्पनीले तिहार लगत्तै जोमसोम कागबेनी सडक अस्फाल्ट पिच गर्ने तयारी गरेको छ


अहिले यो सडक कालोपत्रे गर्न रौटाहाले जिम्मा लिएको छ । सम्झौता अवधि चालु आर्थिक वर्ष २०८० को असोज ३ सम्म रहेको जोमसोम—कागबेनी कालोपत्र सडक निर्माणको अवधि १ वर्ष म्याद थप गरी २०८१ को असोज ३ गतेसम्म कायम गरिएको छ । म्याद सकिएको डेढ महिनामा जोइन कम्पनी रौटाहाले कालोपत्र गर्ने तयारी थालेको हो ।

Advertisement


आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार जोमसोम—कागबेनी कालोपत्र सडकको पछिल्लो भौतिक प्रगति ४० प्रतिशत छ । जोमसोम—कागबेनी १२ किमी र कागबेनी श्राद्धस्थलदेखि मुख्य राजमार्ग सडकसम्मको १ किमीमा कालोपत्र गर्ने योजना रहेकोमा अहिले कालोपत्र सडक स्टक्चरको काम अन्तिम चरणमा पुगेको चापागाईले उल्लेख गरे ।


जोमसोम—कागबेनी कालोपत्रका लागि रेटेनिङ वाल लगाउने ,बेस्ट वाल, सबग्रेड, कल्भर्ट, ड्रेन निर्माण, सवबेस, रिभर प्रोटेक्सन लगायतका काम अन्तिम चरणमा छन् । आयोजनाका अनुसार दसैंअघिसम्म कालोपत्रका लागि सब वेस बिच्छ्याउन कार्य अन्तिम चरणमा पुगेको र त्यसपछि प्राइम ट्याक गरी अस्फाल्ट कालोपत्र गर्ने तयारी छ ।


तर, दसैं मान्न घर गएका मजदुरहरु काममा फर्किएका छैनन् । इन्जिनियर चापागाईले तिहारपछि कालोपत्रको कामलाई अघि बढाइने सुनाए । जोमसोम—कागबेनी सडक कालोपत्रे भएमा मुक्तिनाथ मन्दिरको यात्रा सहज हुनेछ । कागबेनी—मुक्तिनाथ सडकमा कालोपत्र बनेपछि जोमसोम—मुक्तिनाथ पूरै २१ किमी सडक कालापत्र हुनेछ । जोमसोम—कागबेनी सडक हुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङ पुगिन्छ । निर्माण कम्पनीको चरम ढिलासुस्ती र वेवास्ताले जोमसोम—कागबेनी कालोपत्र सडकको काममा बिलम्ब भएको हो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया