जसले केवलकार भित्रयाए

रवीन्द्र माकाजु २०८० कार्तिक २१ गते १२:०६

अहिले मुलुकमा सर्वत्र केवलकार बनाउने होड चलेको छ । कास्कीबाट मुक्तिनाथ मन्दिरसम्म सम्भवत संसारकै सबैभन्दा लामो केवलकार बन्ने खबरले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । बन्दीपुर, बुटवल, पोखराको सराङकोट आदि ठाउँमा केबलकार निर्माण भएका छन् । यस बेला नेपालका केबलकार कसले कसरी कहाँ सुरु गरे भन्ने जिज्ञासा हुनु स्वभाविकै हो । यसै परिवेशमा नेपालमा पहिलो केबलकारका परिकल्पनाकार एवं मनकामना केबलकारका संस्थापक लक्ष्मणबाबु श्रेष्ठसँग पहिलो भेट हुँदा गरिएको कुराकानीका अंश यहाँ प्रस्तुत गरेको छु ।


माता मनकामना मन्दिर परिसर पुग्ने जो कोही पनि केबुलकार कस्ले बनायो होला भनेर सोध्ने गरेको मैले देखें । मनकामना केबुलकारका परिकल्पनाकार लक्ष्मणबाबु आज भन्दा ७२ वर्ष पहिले गोरखाको पोखरीथोकमा जन्मिएका हुन् । केबुलकारको माध्यमबाट माता मनकामनाको सहज दर्शन गर्न सुविधा पुर्‍याएका लक्ष्मणबाबु माता मनकामनाका अर्का प्रियभक्त लखन (लक्ष्मण) जस्तै–जस्तै हुन् । उनले केबलकार बनाइदिँदा टाढा–टाढाबाट समेत भक्तहरु माता मनकामना मन्दिरमा पूजा अर्चना गर्न आउने गर्दछन् । यसर्थ लक्ष्मण बाबुले माता मनकामनाको इतिहासमा नयाँ अध्याय थपेका छन् ।


माता मनकामनाको असीम कृपा पाएर उनले चौतर्फी विकास गरे । परिवारिक माया ममता न्यानो पाए । सामाजिक मान, मर्यादा, सम्मान पाए । मनकामना केवुलकार सोचे भन्दा राम्ररी चलेकोमा लक्ष्मणबाबु मख्ख थिए । केबुलकार सञ्चालन हुनु अगाडि माता मनकामना मन्दिरमा दर्शन गर्नेहरुको संख्या वार्षिक १८ हजार हाराहारी थियो । केबुलकार राख्ने बेलामा उनले सोचेका थिए– केबुलकार चलेपछि वार्षिक ३ लाख भक्त मनकामना पुग्नेछन् ।

Advertisement


एकचोटि तत्कालीन राजा वीरेन्द्रले केबुलकारको नाफा/घाटाबारे चासो राखे । लक्ष्मणबाबुले भने–सरकार ! सोचे भन्दा राम्रो छ । पाँच वर्षमा ऋण तिर्न सक्षम हुनेछु । लक्ष्मणबाबुको कुरालाई राजा वीरेन्द्रले पत्याएनन् । उनले मुसुक्क हाँस्दै भने–साँच्चै भनेको कि मीठो कुरा गरेको ?


केबुलकार चढेर मनकामना माईको दर्शन गर्ने रहर सबैको लागि स्वभाविकै हो । भारतीय पूर्व प्रधानमन्त्री चन्द्रशेखरदेखि बलिउडका फिल्मी स्टारहरु प्रायः सबै मनकामनाको दर्शन आए । पहिला पहिला काठमाडौंबाट गोरखा हिंडेर नै जानु पथ्र्यो । सवारी साधनको सुविधा थिएन । गोरखाबाट चार–पाँच दिन लगाएर उकाली ओराली गर्दै काठमाडौं पुग्नु पथ्र्यो । त्यस बेला यात्राको क्रममा लक्ष्मणबाबुको मनमा अनेकौं नालीबेली खेल्थ्यो ।

Advertisement

पोखराका फेवा बाँध, बेगनास बाँध, विजयपुर बाँध, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, फूलवारी रिसोर्ट उनी उनै लक्ष्मणले बनाएका हुन् ।


एक डाँडाको टुप्पोबाट अर्को डाँडाको टुप्पोसम्म डोरी टाँगेर पुग्दा कति मजा आउँछ होला भन्ने सोच्थे । उकाली ओराली गर्नुपर्ने झञ्झटको विकल्प खोज्थें । उनको सपना थियो– म कुनै न कुनै दिन माता मनकामनामा केबुलकार लगाउने छु । उनले सानैमा काठमाडौंको डेरा नजिक रोपवेको टावर देखेका थिए । उनी काठमाडौंमा पढ्न बस्दा रोपवे र केबुलकारका बारे जानकारी लिन खोज्थे ।


पछि उनले बुझ्दै जाँदा युरोपमा केवलकारको प्रविधि भित्रिईसकेको थियो । सन् १९८८ सम्म लक्ष्मणबाबु ठेक्कापट्टाको काममा नै व्यस्त भए । त्यसै वर्ष तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सरकारले मनकामनामा केवुलकार सञ्चालन गर्न अनुमति दिने पैतिस दिने सूचना गोरखापत्रमा जारी गरेछ । अति व्यस्तताका कारण लक्ष्मणबाबुले दरखास्त हाल्न भ्याएनन् । दरखास्त हाल्न नपाएकोमा साह्रै विचलित भए । तर उनी उद्योग मन्त्रालय धाउन भने छोड्दैनन् । केवुलकार परियोजनाबारे सोधखोज गरिरहे । त्यस बेला मनकामना केबुलकारका लागि ५ जनाले दरखास्त हालेको थाहा पाए ।


सन् १९९५ सम्म कसैले केवुलकार बनाएनन् । लक्ष्मणबाबु उद्योग मन्त्रालय जाँदा आचार्यले लक्ष्मणबाबुलाई जवाफ दिए–एक जना मानिसले आफ्नो लाईसेन्स प्रत्येक वर्ष नवीकरण गर्छ, तर काम भने सुरु गरेका छैनन् । लक्ष्मणबाबुले जिज्ञासा राखे– वर्षै पिच्छे लाइसेन्स नवीकरणमात्र गरे हुने कि काम पनि थालनी गर्नु पर्ने ? लाइसेन्सवालाले बनाउन सक्दैन भने बनाउन सक्नेलाई पो लाइसेन्स दिनुपर्ने हो कि ?


लक्ष्मणबाबुको यस कुराले डाइरेक्टर साहेबको मन छोयो । उनले आफ्ना कर्मचारीहरुसँग भलाकुसारी गरे । धेरै कर्मचारीले लाइसेन्स खारेज गर्न नमिल्ने तर आवश्यक प्रक्रिया भने चलाउन मिल्ने सुझाव दिए । उद्योग मन्त्रालयले लाइसेन्स लिने व्यक्तिलाई पत्र लेखी केवुलकार बनाउने हो कि होइन भनेर जवाफ मागे । बनाउने हो भनेता पनि काम भने सुरु गरेनन् । ५÷६ महिनापछि लक्ष्मणबाबु पुनः उद्योग मन्त्रालय गए । डाइरेक्टर आचार्यले एक महिनाभित्र काम सुरु नगरे लाइसेन्स खारेज गर्ने व्यहोराको पत्र लेखे । अन्त्यमा काम नथालेका कारण इजाजतपत्र रद्द गरियो ।


मन्त्रालयले लक्ष्मणबाबुलाई रीतपूर्वक दरखास्त हाल्न भन्यो । केवुलकार सञ्चालन गर्न स्वीकृतिपत्र पाएपछि लक्ष्मणबाबुले केवुलकार कम्पनीका बारेमा बुझ्न थाले । यता, उपयुक्त ठाउँ खोज्दै गरे । आवुखैरेनीबाट केवुलकार सञ्चालन गर्ने भनिएता पनि विविध कारणले अहिलेको कुरिनटार स्टेसन उपयुक्त ठहरियो । पछि ई.स. १९९८ जनवरीबाट निर्माण कार्य सुरु भयो । लक्ष्मणबाबु स्वयं अहोरात्र खटे । अनेकौं समस्यासँग जुधे । उनले भने–म सबै कुरा खान्छु, तर जीवनमा हरेस खान्नँ ।
मनकामना केवुलकार युद्धस्तरमा नै निर्माण भएको थियो । त्यसका लागि ६० करोड लगानी लाग्यो । अष्ट्रियाको डोपलमायर कम्पनीले तयार गरेको प्रविधि जडान गरियो । केवुलकार निर्माण सम्पन्न हुँदा लक्ष्मणबाबुको जीवनमा ठूलो खुसी छायो । उनको बाल्यकालदेखिको सपना पूरा भयो ।


केवुलकारको औपचारिक सुरुआत गर्न राजा वीरेन्द्रलाई गरिदिन आग्रह गरिएको थियो । त्यस बेला स्वास्थ्य लाभका लागि लन्डन जानु परेकाले उनले तत्कालीन युवराज दीपेन्द्रलाई पठाए । लक्ष्मणबाबुको लगनशीलतालाई देखेर अस्ट्रियन राजदूतले धेरै पटक अष्ट्रियाका लागि अवैतनिक वाणिज्यदूत बनिदिन आग्रह गरे । महामहिम राजदूतको वचनलाई लक्ष्मणबाबुले पछिल्लो पटक टार्न सकेनन् । अन्त्यमा उनी वाणिज्यदूत पनि बने ।


२०१७ सालदेखि विकास, निमार्णमा हात बढाएका लक्ष्मणबाबुले पोखराको फेवा बाँध, बेगनास बाँध, विजयपुर बाँध, पोखराको नेपाल राष्ट्र बैंकको भवन, तत्कालीन गण्डकी अञ्जल अस्पताल भवन (हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), अन्तर्राष्ट्रिय स्तरको मणिपाल अस्पताल, पाँचतारे होटल फूलवारी रिसोर्ट निर्माण गरेका थिए । उनले मेचीदेखि महाकालीसम्म धेरै विकास, निर्माण कार्यमा सहभागी हुने मौका पाए । उनले विश्व बैंक, एसियाली विकास बैंकका आयोजना निर्माण गरेका छन् । राष्ट्रको विकास र निमार्णमा उनको भूमिकालाई कम आँक्न सकिन्न ।


लक्ष्मणबाबु सानै उमेरदेखि मनकामना मन्दिर जाने गर्दथे । किन हो कुन्नि उनलाई मनकामना मन्दिर जान साह्रै रहर लाग्थ्यो । फुर्सद हुनासाथ मनकामना मन्दिर जाने गर्दथे । त्यस बेला डेढ, दुई घण्टामा गोरखा बजारदेखि मनकामना मन्दिर डाँडामा उक्लन्थे । लक्ष्मणबाबुले मनकामना मन्दिरलाई जीर्णोद्वार मात्र होइन, नेपाली शैलीमा आधुनिक भव्य मन्दिर बनाउने योजना बनाए । उनले ज्ञानेन्द्र र राजा वीरेन्द्रलाई पनि मन्दिरको योजनाबारे अवगत गराए । १० जना इन्जिनियरलाई ६ महिना लगाएर मनकामना गुरु योजना तयार पारे ।


तर उनको योजनालाई सम्बन्धित निकायले अझैसम्म बुझ्न सकेको छैन । लक्ष्मणबाबु मनकामनाको द्वार सबैका लागि खुला राख्नुपर्ने धारणा व्यक्त गर्छन् । लक्ष्मणबाबुको जीवनमा बिर्सन नसकिने घटना वि.स. २०१७ सालतिर भयो । चितवनमा कृषि विभागका भवन बनाउनका लागि टेन्डर आह्वान गरेको विज्ञापन गोरखापत्रमा छापिन्छ । ईच्छुक व्यक्तिले एकको टिकट टाँसी दरखास्त हाल्नु होला भन्ने उल्लेख हुन्छ ।


लक्ष्मणबाबुले ठेक्का पर्छ कि पर्दैन भनेर भाग्य परीक्षा गर्न दरखास्त हाल्छन् । तर ठेक्का उनलाई नै हात पर्छ । दुई महिनापछि उनी बसेको क्षेत्रपाटी डेरामा केशव नाम गरेको सुब्बा लक्ष्मणबाबुलाई खोज्दै आईपुग्छन् । ल जाउँ अफिस भन्दछन् सुब्बा बाजे । लक्ष्मणबाबु तीन छक पर्छन् । सुब्बा बाजेले लक्ष्मणबाबुलाई तिमीले हाकिमसँग जे भन्नु छ त्यहीँ भन भनेर सिंहदरबार लग्छन् ।
विभागका महानिर्देशक चन्द्रवीर गुरुङले लक्ष्मणबाबुलाई झपारेर जेल हाल्ने कुरा गर्छन् । त्यस बेला लक्ष्मणबाबुले उत्तर दिएछन्ः विज्ञापनमा त जेल हाल्ने कुरा लेखेको थिएन । जेल हाल्ने कुरा उल्लेख भएको भए मैले टेन्डर हाल्ने नै थिइनँ । मन्त्रालयका हाकिमहरुले भने – ठेक्कापट्टा काम राम्रो हो, यसलाई नछाड, घरमा सल्लाह गरेर आऊ ।


लक्ष्मणबाबुले सोचे–क्या फसाद ! उनले आफू पढ्न आएको वृतान्त सुनाए । अन्त्यमा घर सल्लाह गरेर आउँछु भनी उम्किए । केही समयपछि केशव बाजे पुनः उनलाई लिन आए । लक्ष्मणबाबु धेरै पटक विभिन्न बहाना गरेर उम्कदै थिए । एक दिन उनलाई सिंहदरबारमा हाकिमहरुले भनेः तिमीसँग पैसा छैन भने हामी जोहो गरिदिन्छौ, तिमी गएर काम सम्हालमात्रै ।


कर्मचारीको सहयोग र सुझाव पाएर लक्ष्मणबाबु चितवन पुगे । उनकै नेतृत्वमा कृषि विभागका भवनहरु बने । पछि उनलाई शिक्षा मन्त्रालयको भवन बनाउने काम दिइयो । उनले थुप्रै पैसा कमाउन थाले । उनी विकास, निमार्णका काममा झनै हौसिए । पछि उनले कम्पनी दर्ता गरे । जुन कम्पनी अहिले चितवन कोई नामले प्रसिद्ध छ ।


कामकै सिलसिलामा एउटा प्रोजेक्टमा उनले नराम्ररी घाटा खाए । उनका दाजु किसनबाबुले ठूलो सहयोग गरेर ढाँडस दिए । जीवन संगिनी धनकुमारीले दुःखमा कहिल्यै साथ छाडिनन् । सधैं उत्साह, उमंग र हौसला दिईरहिन् । दाजु किसनबाबुले गरेको सहयोग र उपकार लक्ष्मणबाबु बिर्सन सक्दैनन् । पछि काम गर्दै जाँदा घाटा पूर्ति हुन थाल्यो । लक्ष्मणबाबुको विचारमा इष्टमित्र, शुभचिन्तक साथीभाइ ठूलो सम्पत्ति हो । उनलाई विपत्तिमा धेरै साथीहरुले सहयोग गरे । आफ्ना मित्रहरु दीर्घराज कोइराला, मुकुन्दबहादुर थापा, शंकरमान मल्ल, सागर नरसिंह मल्ल, आत्मकृष्ण श्रेष्ठ, चन्द्रवीर गुरुङ आदिलाई सम्झन्छन् ।


लक्ष्मणबाबुको विवाह त्रिचन्द्र कलेजमा पढ्दाकीसहपाठी धनकुमारी हमालसँग २०१७ सालमा भएको थियो । ३ छोरा र १ छोरीका धनी लक्ष्मणबाबु अहिले आफ्नै कम्पनीहरुमा सक्रिय छन् । छोरी रोशनी, छोराहरु राजु, रोशन र राजेशको विवाह भइसकेको छ । उनीहरु आ–आफ्ना काममा व्यस्त छन् । लक्ष्मणबाबु आफ्नै व्यवसायमा संलग्न हुँदाहुँदै २०७० फाल्गुन १ गते यस धर्तीबाट बिदा भए ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया