तनहुँकी विनु रानालाई मिस मगर उपाधि

समाधान संवाददाता २०८० मंसिर १ गते ११:३७

पोखरा ।
छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ को उपाधि तनहुँकी २० वर्षीया विनु रानामगरले जितेकी छिन् । निर्णायकले सोधेको प्रश्नको जवाफसहित अन्तिम १० प्रतिस्पर्धीलाई पछि पार्दै विनु यस वर्षको मिस मगर नेपाल बन्न सफल भएकी हुन् ।
उनले उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार रुपैयाँ, अवार्ड प्राप्त गर्न सफल भइन् । उनले मोस्ट डेडिकेटेडको टाइटल अवार्डसमेत आफ्नो पोल्टामा पारिन् ।


म्याग्दीकी दिवा पाइजामगर फस्ट रनरअप भइन् । उनले फस्ट रनर अपको ताजसँगै मोस्ट पपुलर तथा मोस्ट ट्यालेन्टेडको टाइटल अवार्ड पनि जितिन् । उनले नगद पुरस्कार ३० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् । म्याग्दीकै कविता थापामगर सेकेन्ड रनर अप घोषित भइन् । उनले सेकेन्ड रनर अपको ताजसहित बेस्ट वाकको टाइटल अवार्ड हात पारिन् । उनले नगद पुरस्कार २० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् ।


उदयपुरकी दीक्षा थापामगर थर्ड रनर अप भइन् । उनले थर्ड रनर अपको ताजसँगै मोष्ट इन्टेलिजेन्ट तथा बेस्ट पर्सनालिटीको टाइटल अवार्ड आफ्नो पोल्टामा पारिन् । उनले नगद पुरस्कार १० हजार रुपैयाँ र अवार्ड प्राप्त गरेकी छिन् । म्याग्दीकी उमा पुनमगरले भ्युअर्स च्वाइस अवार्ड जित्न सफल भइन् । उनले मोस्ट चार्मिङको टाइटल अवार्ड पनि जितिन् ।

Advertisement


मिस मगर नेपाल २०२३ मा सहभागी प्रतियोगीहरूले अन्य विभिन्न टाइटल अवार्ड समेत जित्न सफल भए । जसमा कर्णाली प्रदेशको सुर्खेतकी बबिता बाकाबलमगरले मोस्ट डिसिप्लिन तथा बेस्ट ट्रेनीको टाइटल अवार्ड जित्न सफल भइन् । बागलुङकी एलिना थापामगरले बेस्ट हेयर, म्याग्दीकी चिना पुनमगरले मोष्ट फ्रेन्डली, स्याङ्जाकी सलिना रानामगरले मोस्ट फोटोजेनिक र बागलुङकी खगी थापामगरले मोष्ट कन्फिडेन्टको टाइटल अवार्ड जित्न सफल भए ।


होटल पोखरा ग्रान्डमा सम्पन्न ग्रान्ड फिनालेमा बिजेता प्रतियोगीहरूलाई ताज प्रदान गरिएको थियो । मिस मगर नेपाल–२०२२ की विजेता मिलन थापामगरले २०२३ की मिस मगर नेपाल बिजेता विनु रानामगरलाई ताज पहिराइदिएकी थिइन् । त्यस्तै, मिस मगर नेपाल २०२२ की फस्ट रनर अप भावना खपाङ्गीमगर, थर्ड रनर अप प्रियंका गर्बुजामगर, मिस मगर नेपाल २०१९ बिजेता सनम गर्बुजामगर र कोरियोग्राफर सुस्मिता पुनमगरले अन्य बिजेतालाई ताज लगाइदिए ।

Advertisement


ग्रान्ड फिनालेको प्रमुख निर्णायकमा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष एवं नेपाल मगर संघका पूर्व महासचिव, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायकहरूमा प्राध्यापक निर्मल थापामगर, आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका महासचिव एवं नृत्य निर्देशक गोविन्द पुनमगर, गायिका एवं मोडल शान्ति श्रीसमगर र नायिका, मोडल तथा कोरियोग्राफर जेनिता थापामगर थिए । निर्णायक मण्डलको संयोजन मिस मगर नेपालका निर्देशक शिव थापामगरले गरेका थिए ।


कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापामगरले पछिल्लो समय वैदेशिक मोहले गर्दा युवायुवती पलायन हुने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरिन् । मगर समुदायको भाषा, संस्कृति लोप हुँदै जान थालेको भन्दै उपसभामुख थापाले भाषा, संस्कृति संरक्षणसँग युवा वर्गलाई जोड्नुपर्ने बताए । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले युवा महिलाको क्षमतामा निखारता ल्याउन मिस मगरजस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । प्रमुख निर्णायक वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले प्रतियोगिता जित्न शारीरिक रुपमा सुन्दर भएर मात्र नहुने भन्दै सुन्दरतासँगै बौद्धिकता पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।


कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगर, उपमहासचिव खेम पुनमगरले मगर जातिको आफ्नै मौलिक भाषा, संस्कृति र भेषभूषा रहेको बताउँदै भाषा, संस्कृतिको संरक्षण र मगर समुदायका प्रतिभाहरूको प्रस्फुटन गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भनाइ व्यक्त गरे ।


मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक सुरज थापामगर र सञ्चारकर्मी जूना थापामगरले गरेकी थिइन् ।


‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ एसटी क्रियसनद्वारा आयोजित छैटौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनालेमा विभिन्न नृत्यसमेत प्रस्तुत गरिएका थिए । कार्यक्रममा गायिका शान्ति श्रीस र उषा गुरुङले आ–आफ्नो सांगीतिक प्रस्तुति राखे ।

तपाईको प्रतिक्रिया