सरुभक्तका सबै मुक्तक एकै कृतिमा

समाधान संवाददाता २०८० मंसिर ४ गते ११:१७

पोखरा ।
सरुभक्तका ३ मुक्तक कृति प्रकाशित थिए, २ अप्रकाशित । प्रकाशन पनि बजारमा अप्राप्य भइसकेका पुराना कृति र अप्रकाशित कृतिका सबै मुक्तक एउटै पुस्तकमा पाठकमाझ आएका छन् ।


नेपाल मुक्तक प्रतिष्ठान बेलायतले उनका मुक्तकहरुको सञ्चयन ‘सरुभक्तका मुक्तक’ प्रकाशन गरेको हो । शनिबार पोखरामा प्रतिष्ठान र मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको समारोहमा अग्रज कलाकार वात्स्यायन, मुक्तककार सरुभक्त, नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ लगायतले कृति सार्वजनिक गरे । पुस्तक बिक्रीबाट जम्मा भएको रकमबाट अक्षयकोष खडा गरी मुक्तकको उन्नयनमा खर्च गरिने प्रतिष्ठानका सल्लाहकार डा रुपक श्रेष्ठले बताए ।


मुक्तककार सुरुभक्तले ०३५ मा प्रकाशित आफ्नो पहिलो कृति ‘बन्द खामभित्र’देखि पछिल्लो क्रमका मुक्तकमा समय र आफूले देखेको जीवन, जगतलाई चित्रण गर्ने कोशिष गरेको उल्लेख गरे । ‘मैले बाँचेको समय र परिवेश चित्रण गर्न खोजेको छु । नयाँ जिज्ञाशु पुस्ता, अनुसन्धाता र मुक्तकप्रेमीहरुलाई सहज होस् भनी एकै पुस्तकमा सबै मुक्तक प्रकाशन गरिएको हो,’ उनले भने ।

Advertisement


नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मुक्तकमा युवावस्थाको प्रेम र सामान्य जीवनका पक्ष समेट्ने युगमा सरुभक्तले जीवन र जगतका गम्भीर पक्ष यसमा समेटेको उल्लेख गरे । ‘मुक्तक रुख होइन, जरा होइन, हाँगा पनि होइन, बिज हो । जुनमा सिंगो रुख बन्ने सामथ्र्य निहित हुन्छ । नेपाली मुक्तकमा जीवन, दर्शनका गहन पक्ष समावेश गर्ने श्रेय सरुभक्तलाई जान्छ,’ उनी भन्छन् ।


नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तको यो कृतिको मूल्य ५ सय रुपैयाँ छ । कृतिमा १ हजार १७ वटा मुक्तक छन् ।

Advertisement


कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गाप्रसाद पोखरेल, आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेल, मुक्तक मञ्च केन्द्रीय समिति पोखराका अध्यक्ष रामजीप्रसाद आचार्य लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया