मुस्ताङमा महिनामै भित्रिए ८० हजार पर्यटक

सुन्दरकुमार थकाली २०८० मंसिर ६ गते १३:०३

जोमसोम ।
मुस्ताङमा एकै महिनामा झन्डै ८० हजार पर्यटक भित्रिएका छन् । दसैं तिहार र छठ पर्वको छेको पारेर कात्तिक महिनामा ७९ हजार ३७३ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार अनुकुल मौसमसँगै कात्तिक महिनामा स्वदेशी पर्यटक ७३ हजार ८७९ र विदेशी पर्यटक ५ हजार ५०४ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् ।


ती पर्यटक मुस्ताङ भित्रिँदा १३ हजार ९०१ सवारी साधन मुस्ताङ जिल्ला प्रवेश गरेको प्रहरीको रेकर्डमा छ । जसमध्ये मोटरसाइकल ६ हजार ४०८, जिपकार ६ हजार २८९ र बस ७५० मुस्ताङ प्रवेश भएको प्रहरी प्रमुख डिएसपी पाण्डेले जानकारी दिए ।

Advertisement


मुस्ताङ आएका कतिपय पर्यटकहरु पोखरा—जोमसोम हवाई मार्ग हुँदै आएका हुन् भने अधिकांश पर्यटक बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आएका हुन् । विगतका वर्षहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)चेक पोस्टले विदेशी पर्यटकको मात्र तथ्यांक संकलन गर्ने गरेकोमा चालु वर्षको साउनदेखि जिल्ला प्रहरी कार्यालय मुस्ताङको पहलमा प्रहरी चौकी घाँसाले डिजिटल प्रणाली मार्फत स्वदेशी र विदेशी पर्यटकको अभिलेख राख्न सुरु गरेको डिएसपी पाण्डेले जानकारी दिए ।

योसेवासँगै मुस्ताङमा स्वदेशी पर्यटकको विस्तृत तथ्यांक संकलनमा समेत टेवा पुग्ने डिएसपी पाण्डेले उल्लेख गरे ।
मुस्ताङमा बर्सेनि औसत ६० हजार विदेशी र करिब ५ लाख स्वदेशी पर्यटक आउने अनुमान गरिएको छ । सडक यातायात सहज भएसँगै पछिल्लो समय स्वदेशी पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको बताइन्छ ।

Advertisement


मुस्ताङमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठ महिनासम्म पर्यटकीय सिजन मानिन्छ । योसमय पर्यटकका लागि मुस्ताङ घुम्ने अनुकुल समय हो । तर, बर्खायाममा वर्षाका कारण नदी कटान र बाढी/पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध हुने गर्दा पर्यटकको यात्रा निकै कष्टपूर्ण हुन्छ ।


मुस्ताङ आएका धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन र कागबेनीमा पितृको नाममा श्राद्ध र तर्पण दिन्छन् । दसैंतिहारको छेकोमा भने मुस्ताङ घुम्ने युवयुवतीको लर्को नै लाग्छ । मुस्ताङ भ्रमणमा आएका पर्यटकले कोरलानाका, लोमान्थाङ दरबार, ढुम्बाताल र मार्फा गाउँको अवलोकन गरी फर्किने गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया