परराष्ट्रविद थापाको ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण

समाधान संवाददाता २०८० मंसिर ६ गते १३:०९

काठमाडौंं ।
पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत एवं नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ । काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा मंगलबार आयोजित एक विशेष समारोहबीच सांसदद्वय डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा, हरिबहादुर थापा र लेखक डा. भेषबहादुर थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।


पुस्तकमा डा. थापाले आफूले बाँचेको परिवेश, अपनाएको पेसा र सङ्गत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण गरेको सांसद डा. स्वर्णिम वाग्लेले बताए । ‘यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट् सम्बन्धहरूको कूटनीतिक व्याख्या छ,’ डा. वाग्लेले भने, ‘डा. थापाको यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो । जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि हो ।’


पुस्तकमा डा. थापाले आफ्नो कर्मजीवन एवम् पारिवारिक जीवन आदि विविध पक्षको चित्रण जीवन्त रूपमा आए पनि कतिपय विषयवस्तुमा थप व्याख्या र विस्तार आवश्यक रहेको सांसद सुमना श्रेष्ठले बताइन् । ‘म जस्ता युवाका लागि देशको अतीतको ज्ञान दिन यो पुस्तक सहयोगी छ । मलाई लाग्छ, अर्को यस्तै पुस्तक पनि डा. थापाको आउनुपर्छ ।’ नेपालको कूटनीतिदेखि शासन–प्रशासनसम्मका विषयमा रहेका वास्तविकता पुस्तकमा रहेकाले यसले वर्तमान पुस्तालाई देशको विगत बुझाउन सहयोग पुग्ने उनले जनाइन् ।

Advertisement


डा. भेषबहादुर थापाले जीवनको ६५ वर्ष राज्यका लागि कूटनीतिक जिम्मेवारीमा बिताएको भनिदिए पनि हुने लेखक तथा पत्रकार सुधीर शर्माले बताए । ‘यो पुस्तक पढ्दा उहाँ नेतृत्वको भन्दा पनि देशप्रति उत्तरदायी रहेको बुझ्न सकिन्छ,’ उनले भने, ‘उहाँलाई राजाको मान्छे भन्ने गरिए तापनि राजदरबारसँगै टसल परेको पनि देखिन्छ ।’ पुस्तकमा आवश्यकताभन्दा बढाइचढाइँ गरी केही पनि नलेखिएको उनले जनाए ।


पुस्तकमा डा. थापाले २००७ सालपछि नेपाल कसरी फरक हुँदै आयो, वैदेशिक सम्बन्ध कसरी अघि बढ्यो, पञ्चायतकालीन समयको शासन–प्रशासन केकसरी चल्यो आदि विषयमा व्याख्या–विश्लेषण गरेको शर्माको भनाइ छ । त्यति मात्र नभएर राजदरबार, राजा र वैदेशिक सम्बन्ध आदिमा पनि पुस्तकले विशेष जानकारी दिने उनले बताए । भारत होस् या अमेरिका, अथवा दौत्य सम्बन्ध भएका अरू कुनै देश, तिनीसँगको कूटनीतिक सम्बन्ध कसरी अघि बढ्यो भन्ने विषयमा पनि पुस्तक विशेष रहेको उनको भनाइ छ ।

Advertisement


डा. भेषबहादुर थापाको जीवनीमा आधारित पुस्तक ‘राष्ट्र–परराष्ट्र’ पत्रकार हरिबहादुर थापाले सहलेखन गरेका हुन् । कार्यक्रममा पत्रकार थापाले पुस्तक लेखनको अनुभवसमेत साझा गरे । ‘यो पुस्तक ०७० साउनमा लेख्न सुरु गरिएको हो । तर डाक्साबको पारिवारिक वियोगका कारण काम बीचमा रोकियो । अनि हामीले पनि पुनः पुस्तक लेखन अघि बढाउन उहाँलाई आग्रह गर्न सकेनौं । पछि मात्र उहाँकी छोरी मञ्जुश्रीको पहलमा यो पुस्तकलेखन सकियो ।’

तपाईको प्रतिक्रिया