न्याय दिलाउँदा खुसीको अनुभूति !

रवीन्द्र माकाजु २०८० मंसिर १० गते ९:१२

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेपालकै एक चर्चित व्यक्तित्वका रूपमा परिचित छिन् । नेपालका समग्र ७ सय ५३ पालिकामध्ये न्याय सम्पादनमा उत्कृष्ट कार्य गरेवापत मञ्जु राष्ट्रपतिबाट सम्मानित पनि भईन् । मञ्जुदेवी पोखरा महानगरपालिकाबाट पहिलो पल्ट निर्वाचित महिला उपमेयर हुन् भने लगातार दोस्रो पटक निर्वाचित भईन् । अत्यन्त मिलनसार, शालिन व्यक्तित्वका धनी मञ्जुदेवी पार्टीभित्र एक ईमान्दार लगनशील र लोकप्रिय व्यक्तित्वका रूपमा ख्यातिप्राप्त छिन् ।
०७४ सालको निर्वाचनमा मञ्जुदेवी पहिलोपल्ट उपमेयरमा निर्वाचित भईन् । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरेको छ । जहाँ स्थानीय तहमा आफ्ना क्षेत्राधिकार भित्रका विवाद निरुपण गर्ने उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन गर्नुपर्ने प्रावधान थियो ।


सुरुमा मञ्जुदेवी अकमक्क परिन्, तर उनले हिम्मत र विवेकले काम लिईन् । धेरैले यो समितिबाट प्रभावकारी काम होला भन्ने सोचेनन् । मञ्जुले आफ्नो क्षेत्राधिकारलाई राम्ररी अध्ययन, मनन् गरिन् । समितिले पनि दायाबाँया नहेरी न्याय दिन थाल्यो । हेर्दाहेर्दै यो न्यायिक समिति लोकप्रिय बन्दै गयो । उनलाई प्रभावित पार्न पार्टी, जातिगत समूह र टोलवासीबाट पनि प्रयास गर्ने कार्य भने नभएको होइन तर उनले आफ्ना इमान्दारिता र विवेकलाई खरो रूपमा प्रस्तुत गर्दै आईन् । अहिले अटुट अडानका कारण मान्छेले उनलाई प्रेसर गर्न पनि छाडे । अहिले नेपाल भरीमा पोखराको न्याय सम्पादन समितिलाई एक आदर्श नमुनाको रूपमा हेर्ने र लिने गरिन्छ । र एक नमुना पाठशालाको रूपमा मान्छेले हेर्ने गरे । अहिले उनी अब्बल दर्जाका न्यायधीशझै बनेकी छिन् ।


उपमेयर मञ्जुका भनाई अनुसार अहिले हप्ताको दुई पटक सोमबार र बुधबार इजलास बसेर न्यासम्पादन हुने गरेको छ । धेरैलाई यसका बारेमा जानकारी दिन नसकिएको यथार्थता स्वीकार्दै मञ्जुदेवीले भनिन्–अहिले पोखराको ३१ वडामा मात्र मेलमिलाप केन्द्र गठन भएको छ । १ सय ४४ जना मेलमिलापकर्ता छन् । प्राय मञ्जुको नेतृत्वमा भएका न्यायिक फैसलालाई पुनरावेदन अदालतले पनि सही ठहर गर्ने गरेकोमा सन्तुष्ट मञ्जु प्रायः कानुनका किताव पढ्न मन पराउँछिन् । दीन, दुःखीलाई छोटो समयमा १ सय रूपैयाँ शुल्क लिएर न्याय दिलाउन पाउँदा उनी खुसी महसुस गर्ने गर्छिन् । उनलाई लाग्छ–मैले स्वयम् न्याय पाइरहेको छु ।

Advertisement

कुन पदसम्म जान चाहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा जवाफ दिइन्–पार्टीले मलाई जे जस्तो जिम्मेवारी दिन्छ, त्यसलाई सहजै स्वीकार्छु ।


विसं. २०१८ साल मंसिर १६ गते स्याङ्जाको सिरुबारी पञ्चमूलमा जन्मिएकी मञ्जुको उच्च शिक्षा पृथ्वीनारायण क्याम्पसमा भएको थियो । विद्यार्थी कालदेखि नै उनको झुकाव वामपन्थी विचारधारातर्फ मोडियो । स्कुल पढ्दा शिक्षकहरु माओ, लेनिनका ज्ञान दिन्थे । क्याम्पसका पढाइ पूरा गरेपछि सर्वहारा वर्गको उत्थान र नारी मुक्तिका लागि अखिल नेपाल महिला संघमा आवद्ध भईन् । ०५५ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संगठित सदस्यता लिइन् ।

Advertisement


विभिन्न भातृ संगठनमा आवद्ध हँदै उनी अनेमसंघ पोखरा नगरको सचिव बनिन् । केन्द्रीय सदस्य पनि भइन् । अहिले उनी रुपा गाउँपालिका इन्चार्ज छिन् र नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य पनि छन् । तत्कालीन नगर प्रमुख मानबहादुर जिसी अस्वस्थ हुँदा मञ्जुले लामो समय नगर प्रमुखको जिम्मेवारी पनि सम्हालिन् । उनीसँग वौद्धिक सक्षमता, धैर्य, गाम्भीर्य जस्ता गुण भएको स्वीकार्दै ५ नम्बरका पूर्व वडाध्यक्ष धनबहादुर नेपाली भन्दछन् –वास्तवमा उपमेयर मञ्जुदेवी गुरुङ पोखरा र पोख्रेलीलाई स्नेह गर्ने एक मातृशक्ति पनि हुन् ।


वि.सं. २०३८ सालमा उनको विवाह मेखबहादुर गुरुङसँग भएको थियो तर ०४९ सालको अन्तर्राष्ट्रिय विमान दुर्घटनामा मञ्जुले जीवनसाथीलाई गुमाउनु पर्यो । हाल मञ्जुका एक पुत्र र एक पुत्री छन् । उपप्रमुख गुरुङले न्यायिक समितिका अलावा महानगरका धेरै सेवा कार्यमा आफ्नो समय खर्चनु परेको छ । महानगरपालिकाको सेवा कार्यमा आफूलाई व्यस्त राखेखी मञ्जुसँग जीवनको लक्ष्य के छ ? कुन पदसम्म जान चाहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा जवाफ दिईन्–पार्टीले मलाई जे जस्तो जिम्मेवारी दिन्छ, त्यसलाई सहजै स्वीकार्छु । यो नै कार्यकर्ताको धर्म हो जस्तो लाग्छ ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया