मिथिला चित्रकला सिक्दै बालबालिका

समाधान संवाददाता २०८० मंसिर १० गते १०:३१

पोखरा ।
मधेस प्रदेशको मिथिला क्षेत्रमा लोकप्रिय मिथिला चित्रकला शनिबार पोखरेलीले अवलोकन गरेका छन् । करिब ३० जना पोखरेली बालबालिका आर्ट वर्कसपमा समेत सहभागी भए । वर्कसपसँगै कला प्रदर्शनीसमेत भएको छ ।


विद्यालयमा विभिन्न खालका पेन्टिङ सिकेका बालबालिका पृथक खालको मिथिला चित्रकला बनाउन व्यस्त भए । शनिबार दिउँसा करिब पाँच घन्टा भएको कला कार्यशालामा सहभागी बालबालिकाले उत्सुकतापूर्वक मिथिलाको कला सिक्नुका साथै आफैंले सिर्जनासमेत गरेका छन् ।


आइतबारसम्म चल्ने कार्यशालामा सहभागिताका लागि मधेश प्रदेशबाट सात कलाकार पोखरा आएका छन् । कलाकार सुनयना ठाकुरले त्रेता युगमा भगवान रामको वरियत आउँदा स्वागतका लागि घर घरमा बनाइएका चित्रहरुले विकसित हुँदै मिथिला चित्रकलाको रुप लिएको उल्लेख गरिन् ।

Advertisement


‘कुनै प्रशिक्षकले नसिकाई घर घरमा बनाइने मिथिलाको यो कला अहिले कंक्रिट भवनहरु बन्दै जाँदा सङ्कटमा पर्न थालेपछि संरक्षणका प्रयास थालिएका छन्,’ उनी भन्छिन् । कलाकार ठाकुरले यसलाई मिथिलाको मात्र नभई पूरै नेपालको कलाको रुपमा अपनत्व दिलाउन जरुरी भएको उल्लेख गरिन् ।


कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले कलाको माध्यमबाट संस्कृति संरक्षण र प्रवद्र्धन हुने जनाउँदै यस खालका कार्यक्रम ठाउँ ठाउँमा हुनुपर्नेमा जोड दिए । ‘ए डे विथ कलर्स’ भन्ने उद्घोषका साथ कार्यक्रम भएको हो ।
कार्यक्रम संयोजक कृपा श्रेष्ठले कला, साहित्य आदानप्रदान गर्दै ती क्षेत्रको श्रीवृद्धिका लागि कार्यक्रम गरिएको बताइन् ।

Advertisement

‘यसपालिको कार्यक्रम बालबालिका केन्द्रीत नै गरेका हौँ । बालबालिका नै वर्कसपमा धेरै सहभागी छन्,’ उनी भन्छिन् ।
कार्यक्रममा अग्रज कलाकार यादवचन्द्र भुर्तेल, कलाकार एवं कवि रमेश श्रेष्ठ, महिला उद्यमी रामकली खड्का, अभ्या क्लबका सञ्चालक निरज लामा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया