पाल्पाली सहकारीको सेयर पुँजी पौने ३ करोड

समाधान संवाददाता २०८० मंसिर १७ गते १३:१६

पोखरा ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ९ को आर्थिक वर्ष २०७९/०८०मा सेयर पुँजी २ करोड ८५ लाख ८ हजार ८ सय कायम भएको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी २ करोड ८८ लाख २६ हजार ८ सय २ रुपैयाँ थियो ।


सहकारीको पाँचौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनमा अध्यक्ष चिरञ्जीवी श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० सम्ममा सहकारीको कुल निक्षप बढेको जानकारी दिए । गत आर्थिक वर्षमा सहकारीको निक्षेप १ करोड २२ लाख ९९ हजार ४ सय १० रहेकोमा अहिले १ करोड ५३ लाख ७२ हजार १ सय २५ पुगेको छ ।


यस आर्थिक वर्षमा सहकारीले ३ करोड ६४ हजार ९ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सहकारीले गत आर्थिक वर्षमा ३ करोड १२ लाख २७ हजार २ सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Advertisement


गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले केही सञ्चालकको नियत खराब भएको कारण सहकारीमा नकारात्मक गाना, बजाना भएको बताए । उनले केही सहकारीका सञ्चालकले गरेको गलत कामको कारण समग्र सहकारी बदनाम भएको उल्लेख गरे । ‘सात सिद्धान्त तथा मुल मर्म र भावना अनुसार चले सहकारीमा कुनै समस्या आउँदैन,’ उनले भने, ‘सञ्चालकहरुको आन्तरिक द्वन्द्व तथा जिम्मेवारी लिएका व्यक्तिलाई अफ्टेरोमा पार्नको लागि समेत कृत्रिम रुपमा समस्या खडा गरिएको छ ।’ उनले देशको आर्थिक विकासमा सरकारको जस्तै सहरकारी समेत भूमिका रहेको चर्चा गरे ।


जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले नीति विधि र प्रविधिमा चलेको खण्डमा सहकारीमा समस्या नपर्ने दाबी गरिन् । उनले केही सहकारी समस्यामा परे भन्दैमा अरु डगमगाउन नपर्ने उल्लेख गरिन् । उनले सेयर पुँजी र निक्षेप संकलनलाई सन्तुलन कायम गर्न सुझाव दिइन् ।

Advertisement


सञ्चालक समितिको तर्फबाट अध्यक्ष चिरञ्जीवी श्रेष्ठले प्रस्तुत गरेको कार्य प्रगति र आगामी कार्ययोजना, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको वार्षिक आय सहितको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका संयोजक नारायण पौडेलले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ ।


कार्यक्रममा रेसुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भानुभक्त भण्डारी, पाल्पाली बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, सञ्चालक समिति उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशमराज थापा, शिक्षा समितिका संयोजक बालचन्द्र परियार लगायतले सहकारीका बारेमा बोलेका थिए ।

अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ चयन भएका छन् । समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिव रेशम ‘रचक’ थापा, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष रेनुका बज्राचार्य छन् । सञ्चालक समितिको सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहेको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताए ।


लेखा समिति संयोजकमा सुनिल अर्याल र सदस्यमा केशव नेपाल र अनुपमान कर्माचार्य छन् । संस्थाका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल संयोजक रहेको निर्वाचन समिति सदस्य ताराप्रसाद पोखरेल र नारायणप्रसाद पौडेल सदस्य थिए ।


कार्यक्रममा संस्थागत सम्मान निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरेलाई प्रदान गरिएको छ । सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार श्याम कुँवरलाई सम्मान गरिएको छ । कार्यक्रममा सहकारीले गरेका कार्यक्रमको संयोजन गर्ने व्यक्ति तथा एसइई परीक्षामा उत्तीर्ण सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ ।


उत्कृष्ट सेयर सदस्य बलबहादुर राउतलाई सम्मान गरिएको छ । २०७६ असार १३ गते पोखरा महानगरपालिकाको सहकारी विभागका विधिवत दर्ता भएको सहकारीले पोखराको वडा नम्बर १ देखि १७ सम्म कार्यक्षेत्र विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया