गण्डकीका यातायातबाट आधा अर्ब राजस्व

राष्ट्रिय समाचार समिति (रासस) २०८० मंसिर १९ गते १२:३५

म्याग्दी ।
गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साढे ४ महिनाको अवधिमा ५६ करोडभन्दा बढी राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मंसिर १५ गतेसम्म ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार ३ सय ४९ राजस्व संकलन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।


बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा २ यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले सो राजस्व संकलन गरेका हुन् । मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितका अनुसार सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ३१ करोड ७१ लाख ३५ हजार सात सय ८१ राजस्व संकलन गरेको छ ।


यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्कीले ६ करोड ४७ लाख ३९ हजार ९ सय २६, बाग्लुङले ४ करोड १० लाख ३२ हजार ६ सय ७०, नवलपुरबाट ६ करोड ३४ लाख ७९ हजार ६ सय ७४, डुम्रेबाट ४ करोड १० लाख ९१ हजार एक सय ७५ राजस्व संकलन भएको छ ।

Advertisement


गोरखा, लमजुुङ र स्याङ्जाको यातायात सेवा शाखाबाट एकमुुष्ट ४ करोड १० लाख ७ हजार १ सय २३ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व संकलन भएको हो ।


आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब २४ करोड र २०७९/८० मा ३ अर्ब १७ करोड राजस्व संकलन गरेका यातायात कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यअनुसार नै राजस्व संकलन गरेका मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता टीकाराम पौडेलले बताए ।

Advertisement


प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब १५ करोड राजस्व संकलन गरेकामा यातायात कार्यालयहरुको योगदान करिब आधा छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जालीले यातायात कार्यालयहरुको सेवालाई सरलीकरण, झन्झटरहित, सहज र प्रविधिमैत्री बनाउन जोड दिएको जनाए ।


चालु आर्थिक वर्ष सुुरु भएयता पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू गर्न विसं २०७७ मा भएको निर्णय कार्यान्वयन गरिएको र बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गरिएको मन्त्री जुग्जालीले उल्लेख गरे ।


सवारी साधन दर्ता र नवीकरणसम्बन्धी सेवा दिने हाम्रो कार्यालयमा फाइललाई डिजिटलाइजेसन गरेर लाइन बस्न र बिचौलियाको सहयोग लिन नपर्ने बनाइएको यातायात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालले बताए । सेवाग्राहीको अत्यधिक चाप र भीड हुने भएकाले बिहान ८ बजेदेखि नै सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालन गर्न र सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत बुझाउने व्यवस्था मिलाइएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीका प्रमुुख जितेन्द्रजंग केसीले बताए ।


दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्ने, संघीय सरकार मातहतको सर्भरमा पटकपटक आइरहने समस्याका कारणले सेवा प्रवाहमा चुनौती रहेको यातायात कार्यालयका प्रमुखहरुले बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया