औद्योगिक व्यापार मेला आजदेखि

समाधान संवाददाता २०८० मंसिर २१ गते ११:३३
फाइल फाेटाे

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक मेला बिहीबारदेखि सुरु हुँदैछ । संघले उद्यम, व्यवसाय प्रवद्र्धनको उद्देश्यसहित आयोजना गर्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो ।


मेलाको पूरै तयारी सम्पन्न भएको संघले जनाएको छ । मेलाको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने छन् ।


बिहीबार बिहान १०ः३० बजे पोखरा उद्योग वाणिज्य संघको सचिवालय पोखरा ४, गैह्रापाटन पोखराबाट मेलास्थल पोखरा ९, नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रसम्म प्रभातफेरी कार्यक्रमको पनि आयोजना हुँदैछ । प्रभातफेरीमा विभिन्न आमा समूह, टोल विकास संस्था, सामाजिक संघ÷संस्थाहरुको सहभागिता रहने छ भने प्रभातफेरी कार्यक्रममा सहभागी आमा समूहको सहभागिताको कदर गर्दै प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

Advertisement


मेलाअन्तर्गत डोमतर्फ ५४, अटोका ५० र अन्य विभिन्न खालका १४६ गरी वटा स्टल गरी करिब २५० स्टल हुनेछन् । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानहरुको बिक्री र प्रदर्शन हुने आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले जानकारी दिए ।


महिला उद्यमशीलता विकासकै लािग मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै स्वरोजार हुन चाहने महिलाहरुका लागि आवश्यक पर्ने मेसिनरी सामानहरुको प्रदर्शनीको पनि व्यवस्था मिलाइएको प्रजापतीले जनाए ।

Advertisement


मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीको लागि ६० रुपैयाँ कायम गरिएको छ । अवलोकनकर्ताले खरिद गर्ने १ सयको टिकटबाट १० र विद्यार्थीले खरिद गर्ने टिकटबाट ५ रुपैयाँ जाजरकोट भूकम्पपीडतलाई प्रदान गरिने संघले जनाएको छ ।


मेलाबाट अनुमानित आम्दानी ९० लाख रुपैयाँमा अनुमानित खर्च ८० लाख कटाउँदा १० लाख रुपैयाँ बचत हुने अनुमान छ । मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघले बताएको छ ।

तपाईको प्रतिक्रिया