गुन्जिए नारायण गोपालका गीत

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:१८

पोखरा ।
स्वर सम्राट नारायण गोपालका कालजयी गीतसँगै पोखरेली कलाकारले उनको स्मरण गरेका छन् । ३३ औं नारायण गोपाल स्मृति दिवस २०८० को सन्दर्भमा भएको कार्यक्रममा संगीतकार नवराज बराल, सविना सुनाम र पिंग्ला भट्टले नारायण गोपालका तिमी देऊ या नेदेऊ र सिरिमा सिरी गीत गाए ।


गायक वीनित जोजिजुले बिर्सेर फेरि मलाई नहेर, लक्ष्मी गिरीले मेरो आँखालाई राख्ने, विनोद राईले झरेको पातझै, प्रदीप सारुमगरले मेरो गीत तथा मेरो प्रतिबिम्ब गीत गाएका छन् । जोजिजु म्युजिक स्कुल रानीपौवाको मञ्चमा गायक एमडी काफ्लेले तिम्रो जस्तो मुटु, जय चापागाईंले केही मीठो बात गर, सविना सुनामले अल्झेछ क्यारे पछ्यौरी र अर्जुन नकर्मीले तिम्रो जस्तो मुटु बोलका नारायण गोपालको गीत गाए ।


कार्यक्रममा नवीन छन्त्यालले यति चोखो यति मीठो दिऊला तिम्लाई माया, नवीन थापाले केही मीठो बात गर, रोशन गुरुङले सानैमा हुरी, गौरव थापाले मलाई नसोध कहाँ दुख्छ घाऊ, महिमा श्रेष्ठले यति धेरै माया दिई, उत्प्रेम जोजिजुले मलाई नसोध कहाँ दुख्छ बोलको गीत गाएका छन् ।

Advertisement


समारोहमा वाद्यवादनमार्फत सानु जोजिजुले भोइलिनबाट यति धेरै माया दिई बोलको गीतको धुन सुनाए । हार्मोनियममा नवराज बराल र पप्पु थापामगर, तबलामा मिलन गिरी, गितारमा उत्प्रेम जोजिजु, बेस गितारमा अनुपम रिजाल, क्याजोनमा जय चापागाईले साथ दिएका थिए ।


पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले नेपाली गीत संगीतमा नारायण गोपालको अविस्राणीय योगदान रहेको बताए । कार्यक्रममा सप्तरंगी साँस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष अभिमन्युविक्रम राणा, जोजिजु म्युजिक सेन्टरका व्यवस्थापक सानु जोजिजु, गायिका महिमा श्रेष्ठले गीत संगीत क्षेत्रमा नारायण गोपालको योगदानको बारेमा बोलेका थिए ।

Advertisement


सप्तरंगी साँस्कृतिक प्रतिष्ठानको आयोजना तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रमको संयोजन जोजिजु म्युजिक सेन्टरले गरेको थियो ।

तपाईको प्रतिक्रिया