मिजार समाज गण्डकीको नयाँ समिति

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:२७

पोखरा ।
उत्पीडित दलित समुदाय अन्तर्गत मिजार (सार्की) जातिको संगठित संस्था मिजार समाज नेपालको गण्डकी प्रदेश स्तरीय समिति चयन गरिएको छ । संस्थाको हालै पोखरामा सम्पन्न मिजार समाज नेपालको प्रथम गण्डकी प्रदेश स्तरीय सम्मेलनबाट कास्कीका शालिकराम गोतामेको अध्यक्षतामा सर्वसम्मत रुपमा ५१ सदस्यीय समिति चयन गरिएको हो ।


समितिको ३ उपाध्यक्षमध्ये महिला उपाध्यक्षमा बाग्लुङकी लक्ष्मी बोहोरा, म्याग्दीका दिलबहादुर चर्मकार(सिके) र स्याङ्जाका ईन्द्रकुमार रुचाल चयन भएका छन् । समितिको मुख्य सचिवमा लमजुङका किसान संगीत, कोषाध्यक्षमा कास्कीकी मिना नेपाली र सचिवहरुमा कास्कीका गौमाया नेपाली, पर्वतकी सुमित्रा नेपाली र नवलपुरका दुर्गाबहादुर रुचाल छन् । सदस्यहरुमा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, तनहुँ, गोरखा, मनाङ र मुस्ताङका प्रतिनिधिबाट चयन गरी ५१ सदस्यीय समिति गठन भएको मुख्य सचिव किसान संगीतले जानकारी दिए ।


कतिपय जिल्लामा मिजार समुदायको उल्लेख्य बसोबास रहेको बताउँदै समुदायका लागि क्रियाशील काम गर्दै आएका व्यक्तिलाई समितिमा थप गर्दै जाने पनि उनले बताए । प्रदेशका ११ वटै जिल्ला र बसोबासको उपलव्धताका आधारमा सम्भव भएसम्म पालिकास्तरीय समिति गठन गर्ने लगायतका कार्यमा जुट्ने पनि उनले जानकारी गराए ।

Advertisement


मिजार समुदायमा सामाजिक, साँस्कृतिक रुपमा रहेका विभेद न्युनीकरण सँगै आर्थिक, स्वास्थ्य, शिक्षा, रोजगारी र स्वरोजगारी जस्ता पक्षमा सवल, सक्षम र सचेत बनाउने लक्ष्यका साथ मिजार समाजको गठन गरिएको नवगठित समितिका अध्यक्ष शालिकराम गोतामेले बताए । अझै पनि समुदायमा जातीय विभेद र छुवाछूत जस्ता विभेदित र अपहेलनापूर्ण मानसिकता र व्यवहार कायमै रहेको, मिजार समुदायको अवस्था समयासापेक्ष ढंगले माथि उठ्न नसकेको जस्ता समस्या रहेको बताउँदै तीनै तहका सरकार र अन्य सरोकारवालासँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ छ ।


मिजार समाज नेपालको चौंथो राष्ट्रिय सम्मेलन सहसंयोजक एवं गण्डकी प्रदेश प्रथम सम्मेलन आयोजक समितिका संयोजक ज्ञानबहादुर नेपालीको संयोजकत्वमा सम्मेलन सम्पन्न भएको हो । मिजार समाज २०५५ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई जातीय उत्थान, अधिकारको पक्षमा आवाज उठाउँदै र समातामूलक समाज निर्माणका सवालमा क्रियाशील रहेको सम्मेलन आयोजक समितिका अध्यक्ष नेपालीले जानकारी गराए ।

Advertisement

तपाईको प्रतिक्रिया