तेक्वान्दो प्रशिक्षकलाई तालिम

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:४३

पोखरा ।
गण्डकी प्रदेशका तेक्वान्दो प्रशिक्षकहरुलाई विशेष प्रशिक्षण दिइएको छ । नेपाल तेक्वान्दो संघको आयोजना र गण्डकी प्रदेश तेक्वान्दो संघको संयोजनमा भएको तालिममा ३० प्रशिक्षक सहभागी छन् ।


आइतबार सुरु भएको ५ दिने तालिम बिहीबारसम्म चल्नेछ । उनीहरुलाई कोरियाको किमयाङ विश्वविद्यालयका प्राध्यापक जुसिक पार्कले प्रशिक्षण दिइरहेका छन् । यो विश्वविद्यालयले सन् २०२४ देखि लगातार तीन वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतिश्पर्धा आयोजना गर्दै छ ।


प्राध्यापक पार्कले तेक्वान्दोमा नेपालमा सिकाइमात्र हुने गरेको जनाउँदै उत्कृष्ट प्रदर्शनका लागि अध्ययनसमेत जरुरी भएकोमा जोड दिए । ‘उत्कृष्ट नतिजाका लागि औपचारिक अध्ययन जरुरी छ । नेपालका खेलाडी र सरोकारवालाले चाहनुपर्छ, म नेपाली तेक्वान्दो खेलाडीलाई र यसबारे अध्ययन गर्न चाहनेलाई कोरियामा छात्रवृत्तिमा पढ्ने व्यवस्थाका लागि पहल गर्छु,’ उनले भने ।

Advertisement


पिएस तालिम नाम दिइएको यो यो प्रशिक्षणमा प्राध्यापक पार्कले मोबिलाइलेजसन, मुभमेन्ट, कार्डियोभास्कुलर, पोल्योमेट्रि, एक्टिभ ब्यालेन्स जस्ता सीप सिकाएका छन् । अहिले यो तालिम नेपालका डोजाङ प्रमुखहरुलाई दिइएको छ । यस्तो विशिष्ट तालिम तेक्वान्दोको राष्ट्रिय टिमलाई दिन सके फरक नतिजा आउने नेपाली प्रशिक्षक कविराज खड्गी बताउँछन् ।


तेक्वान्दो खेलमा खेलाडीको प्रदर्शनलाई प्रभावकारी बनाउन फरक र विशिष्ट खालको तालिम आयोजना भएको तेक्वान्दो संघ गण्डकी अध्यक्ष जगनबहादुर गुरुङले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया