तामाङ पत्रकार संघको २० औं स्थापना दिवस

समाधान संवाददाता २०८० मंसिर २२ गते १३:४२

पोखरा ।
तामाङ पत्रकार संघको २०औं स्थापना दिवसको अवसर पारेर तामाङ पत्रकार संघ कास्कीले पोखरामा बुधबार शुभकामना आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दीपेन्द्र श्रेष्ठले तामाङ पत्रकार संघ कास्कीले पछिल्ला सबै कुरा बुझेर संघको स्थापना गरी आफ्ना कार्यक्रमलाई गतिशील बनाइरहेको भन्दै प्रशंसा गरे ।


आफ्नो समुदायको भाषा, संस्कृतिको विषयलाई उठान गर्दै क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो । श्रेष्ठले पत्रकार महासंघले बनाएको आचारसंहिताभित्र रहेर पत्रकारिता क्षेत्रमा अगाडि बढ्न सबैमा आग्रह गर्दै पत्रकारिताको जग बलियो बनाउन अतिआवश्यक रहेको बताए ।


‘जातीय पत्रकार संस्था भनेको राज्यले विभेदमा पारेका जातिको विषयलाई वकालत गर्ने बुझ्नुपर्छ, यो कुनै पार्टी केन्द्रित संस्था होइन,’ उनले थपे, ‘तामाङ समुदायको समस्या उठाउँदा सोही समुदायको व्यक्ति पक्खर हुन्छ र गलत सन्देश प्रवाह हुँदैन ।’

Advertisement


श्रेष्ठले पत्रकारिताको प्रक्रियाको बारेमा प्रकाश पार्दै सामाजिकीकरणमा मिडियाको योगदानबारे चर्चा गरे । कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले आदिवासी जनजातिको सवालमा फोनिज अग्रसर रहेको जानकारी दिँदै तामाङ पत्रकार संघ कास्कीले प्राविधिक विषयमा तालिम गर्न चाहेमा सहजीकरण गर्न तयार रहेको बताए ।


नेपाल तामाङ घेदुङ संघका संघीय उपाध्यक्ष दीपक तामाङले लामो इतिहास बोकेको यस संस्थाले कास्कीमा भने आफ्नो पाइलालाई बिस्तारै गति दिएकोमा शुभकामना प्रकट गरे । सञ्चार क्षेत्रमा आफ्नो भविष्य देख्नुपर्ने कुरा मुख्य रहेको भन्दै यस तामाङ पत्रकार संघ कास्कीले प्रोफेसनल पत्रकार बनाउन काम गर्नुपर्नेमा उनको जोड थियो ।

Advertisement


नेपाल तामाङ घेदुङ संघ कास्कीका अध्यक्ष भक्त तामाङले कास्कीमा तामाङ पत्रकारको संख्या र गुणस्तरमा सहयोग गर्न संघ तयार रहेको बताए । आफु स्वयं फोटो पत्रकारितामा रहेको हुँदा संघलाई आवश्यक परेको खण्डमा निशुल्क तालिम प्रदान गर्न आफू तत्पर रहेकोे बताए । तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन रसमाया तामाङले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया