ठगी आरोपमा वडा सदस्य पहारीसहित ४ जना पक्राउ

समाधान संवाददाता २०८० मंसिर २४ गते १०:३५

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी गरेको अभियोगमा वडा सदस्यसहित ४ जनालाई पक्राउ गरेको छ । फेवाताल किनारामा फोटोग्राफी गर्नेहरुबाट ठगी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो ।


फेवा किनारामा फोटोग्राफी गर्दै आएका १५ जना युवकले आफूहरु पटकपटक ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की उजुरी दिएका थिए । सोही उजुरीका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले वडा सदस्य पहारी, लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराललाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया भइरहेको रहेको डिएसपी विकले बताए ।


पोखरा महानगरपालिका वडा नम्बर ६ ले २५ जना युवालाई लेकसाइडमा फेवा किनारामा फोटोग्राफी गर्न अनुमति दिएको थियो । उनीहरुले वडा कार्यालयमा दर्ता गर्दा ४ हजार शुल्क तिर्दै आएका थिए । त्यो ठेक्का मिलाइदिने व्यक्तिलाई प्रति महिना १३ हजार रुपैयाँ बुझाउँदै आएका थिए । सोही कार्यमा वडा सदस्य पहारीसमेत संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

Advertisement


स्रोतका अनुसार वडा सदस्य पहारीले सीमित कोटा राखेर केही व्यक्तिहरुलाई २५ जनाको त्यो कोटा मिलाइदिने गरेका थिए । त्यो समूहले फोटोग्राफी गर्ने सबैसँग प्रतिमहिना १३ हजार उठाउँदै आएको थियो । ‘वडामा कर पनि बुझाउँथ्यौं, २५ जनाकै अनुमति लिएर राखेको त्यो समूहलाई छुट्टै १३ हजार रुपैयाँ बुझाउनुपर्ने थियो । नयाँ फोटोग्राफी गर्नेलाई सजिलै प्रवेश समेत दिँइनथ्यो । अनुमतिबिना कोही गएर फोटो खिचेँ, समूहले धक्की समेत दिन्थ्यो,’ फोटोग्राफी गर्दै आएका एक युवकले भने ।


फेवा किनारा पुगेर फोटो खिच्नेहरुको गुनासोपछि प्रहरीले फोटोग्राफी व्यवसाय दर्ता गर्नेलाई नियन्त्रणमा लिएको थियो । पहारी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट जनप्रतिनिधि निर्वाचित भएका हुन् । विकास गठबन्धनको साझा उम्मेदवार थिए । यसरी फेवा किनारामा फोटो खिच्ने अनुमति पाएकाहरुले पर्यटकसँग प्रति फोटो १० रुपैयाँ लिँदै आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया