स्वावलम्बन जीवन पद्धति केन्द्रमा हेम

समाधान संवाददाता २०८० मंसिर २४ गते ११:४७

पोखरा ।
अपांगता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको १५ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन शनिबार भएको छ ।


संस्थाको अधिवेशनसँगै सामाजिक परीक्षणसमेत गरिएको छ । अधिवेशनबाट अध्यक्ष हेमबहादुर गुरुङको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्लीराम सुवेदी, महासचिव अञ्जना केसी र कोषाध्यक्ष रिना पालिखे छन् ।


कार्यसमिति सदस्यमा गंगा गुरुङ, अमरबहादुर थापा, सन्ध्या सुवेदी, गोविन्द कार्की र कमल परियार छन् । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका उपसचिव भोजराज न्यौपानेले अधिवेशनको उद्घाटन गर्दै सीमित स्रोत र साधनका बावजुद सामाजिक सुरक्षाको क्षेत्रमा काम गरेको बताए । उनले संस्थाले कक्षा कोठा सिकाईदेखि राज्यको नीति निर्माणमा सहजीकरण गरेको उल्लेख गरे ।

Advertisement


राष्ट्रिय अपांग महासंघ गण्डकी नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले गण्डकी प्रदेश सरकारले अपांगता क्षेत्रको उत्थान तथा विकासमा जिम्मेवार नभएको आरोप लगाए । उनले अपांगताको क्षेत्रमा काम गर्ने संस्थालाई नियम बनाएर व्यवस्थित गर्न आग्रह गरे ।


‘अपांगताको क्षेत्रमा काम गर्ने संस्था कुनै गैर सरकारी संस्था नभएर दाता विना पनि चल्न खोज्ने अभियान केन्द्रीत संस्था हुन्,’ उनले भने, ‘संघीयतापछि यस्ता संस्थामा धेरै समस्यामा छन् । नियमित रुपमा दातृ निकाय तथा साझेदार संस्था नपाएको अवस्थामा तीन तहको सरकारले जिम्मेवारी बहन गर्नु पर्छ ।’ उनले पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्तिलाई जीवन यापनमा धेरै समस्या रहेको बताए ।

Advertisement


पोखरा महानगरपालिका सामाजिक महाशाखाका महिला विकास अधिकृत विष्णुमाया पौडेलले अपांगताको क्षेत्रमा महानगरले सम्बोधन गर्ने प्रयास गरेको दाबी गरिन् । १० प्रकारका अपांगता भएको व्यक्तिलाई केन्द्रीत गरी बजेट विनियोजन गरेको जानकारी दिँदै उनले यकिन तथ्यांक नहँुदा पहिचान र परिचयपत्रबाट वञ्चित हुनु परेको उल्लेख गरिन् ।


इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले अपांगता भएका व्यक्तिको आवश्यकता पहिचान गरी तीन तहको सरकारले नीति कार्यक्रम बनाउन नसकेको बताए । उनले आवश्यकता आधारमा भन्दा पनि राजनीति पहुँचको ठाउँमा बजेट लैजाने गरेको आरोप लगाए । उनले मानव अधिकारमैत्री अवधारणाका आधारमा अपांग, सिमान्तकृत, अल्पसंख्यक र दुर्गम क्षेत्रलाई केन्द्र विन्दुमा राखेर काम गर्न माग गरे ।


पत्रकार श्याम कुँवरले सहजीकरण गरेको कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिकाका सदस्य मन्दिरा परियार, गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष पदमराज पहारी, महासंघ नेपाल कास्कीका अध्यक्ष डा बुद्धिबहादुर थापा, सहारा आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका महासचिव अञ्जना केसी, केन्द्रका कार्यक्रम संयोजक दिनेश अधिकारी, चण्डी कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक सावित्री शर्मा दोरंगा, श्रवण दृष्टिविहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमाल लगायतले अपांगताका सवालमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया