पुराना मौलिक लोकभाकालाई संरक्षण गर्न जुटे आमा समूह

राष्ट्रिय समाचार समिति (रासस) २०८० मंसिर २५ गते १३:४९

बागलुङ ।

मौलिक कला, संस्कृति र गीत संगीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत संगीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि अन्य ठाउँमा खासै पाइँदैन ।


बागलुङको जैमिनी नगरपालिका–३ दमेककी टीकादेवी क्षेत्री ६५ वर्ष भइन् । यो उमेरमा पनि उनी गीत गाउने र रमाइलो गर्ने निकै रुचि राख्छिन् । बुढ्यौली लागे पनि टीकादेवीलाई पुराना भागाका गाउन कुनै समस्या छैन । मेला, पर्व र गाउँमा लाग्ने महोत्सवमा अहिले पनि उनी गीत गाउन हिँड्छिन् । खास गरी उनले बिना सालैजोको ठाडी भाका, यानीमाया, सुनिमाया र झ्याउरे गीत गाउने गरेकी छन् ।

Advertisement


पछिल्लो समय नयाँपुस्ताले आधुनिक र विदेशी गीतसंगीतप्रति चासो दिँदा मौलिक लोकभाका हराउँदै गएको जनाउँदै उनले चिन्ता व्यक्त गरिन् पुराना मौलिक लोकभाकालाई संरक्षण गर्न टीकादेवीको नेतृत्वमा महिला आमा समूहनै सक्रिय भएका छन् । गाउँमा सिर्जना आमा समूहमार्फत मौलिक गीतसंगीतको जगेर्ना भइरहेको छ ।


बूढापाकाले जानेबुझेका र गाउँदै आएका पुराना गीत संगीत नयाँपुस्तालाई सिकाउने प्रयास उनीहरुले गर्न थालेका छन् । धेरै लोकभाका हराउँदै गएपछि सिर्जना महिला आमा समूह सक्रियरुपमा यसको संरक्षणमा लागेका हुन् । गाउँमा हुने हरेक सार्वजनिक कार्यक्रम तथा परम्परागत चाडपर्वमा युवापुस्तालाई सँगै राखेर उनीहरुले गीत गाउने गरेकँ छन्। युवा गाउँ छोडेर विदेश तथा बजार झर्न थालेपछि सिक्ने मान्छेसमेत हराउँदै गएका छन् ।

Advertisement


अहिले बजारमा आउने आधुनिक, र्‍याप, हिन्दी र अङ्ग्रेजी गीतका कारण वर्षौं पुराना मौलिक गीत लोपोन्मुख हुँदै गएको टीकादेवीले बताइन्। पुराना गीत नसिकेसम्म गाउन नसकिने उनको भनाइ छ । गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णताः दिनुपर्ने हुँदा यो ठाडी भाका गाउन कठिन हुने क्षेत्रीको भनाइ छ। मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा यस्ता भाका गाउने चलन रहेको उनको धारणा छ ।

अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम बिना सालैजोको ठाडी भाका, सालैजो र झ्याउरे भाका भएको उनको भनाइ छ । आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यस्ता गीत हराउन थालेको टीकादेवीले बताइन् ।

गलकोट नगरपालिका–१० की पार्वती काउचा मगरले पहिले–पहिले रोधी बस्ने र पुराना भाका गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडेपछि ती भाका हराउँदै गएको बताइन् । अहिले रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पप तथा लोकगीतले ठाडी भाका हराउन थालेको उनको भनाइ छ । पुराना भाका कलाकारले पनि कमै मात्रा गाउने गरेको उनले बताइन् । बाउआमा, बाजेबजैबाट आफूहरुले पुराना भाका गाउन सिके पनि अहिलेका पुस्ताले चासोनै नदिने काउचाले बताइन् । उति बेला गीत गाउँदागाउँदै बिहे गर्ने चलन रहेको भन्दै अहिले त्यो चलन पनि हराएको उनको धारणा छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया