कार्थकको अन्तिम उपन्यास सार्वजनिक

समाधान संवाददाता २०८० मंसिर २७ गते ११:१५

काठमाडौं ।
स्वर्गीय लेखक, संगीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम अंग्रेजी उपन्यास अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौंको लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, लेखक तथा समीक्षक प्रा. अभि सुवेदी र कार्थकपत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।


कार्यक्रममा केदारभक्त माथेमा पिटरलाई आफूले धेरै पछि मात्र भेटे पनि किन यति ढिला भेटेछु भनेर थकथकी लागेको बताए । ‘उहाँसँग कुरा गर्दा यस्तो लाग्यो, किन मैले धेरै अघि भेट्न सकेनछु,’ उनले भने ।


पुस्तकमा पिटरले दार्जीलिङबाट काठमाडौं आउँदाको कथा त लेखेकै छन्, काठमाडौंबारे आउटसाइडरका रूपमा आफूले देखेभोगेका रूपमा पनि चित्रण गरेको उनले जनाए । ‘पिटरको स्वतन्त्र लेखन र व्यंग्यात्मक भाषाशैलीले पुस्तकलाई थप रोचक बनाएको छ । यसले मलाई असाध्यै तान्यो । तपाईंहरूलाई पनि म पढ्न आग्रह गर्छु ।’

Advertisement


पुस्तकका पात्र यथार्थ रहेको र यसले त्यति बेला अर्थात् पञ्चायतको समयताकको चित्रणलाई राम्ररी अभिव्यक्त गरेको प्रा. अभि सुवेदीले बताए । ‘यहाँ पात्र यथार्थ छन्, तिनको जमात ठूलो छ । पुस्तक पढ्दा मैले विद्यार्थीकाल सम्झिएँ,’ उनले भने ।


साथीहरूको संगत र आफू काठमाडौंमा बस्दा, यहाँ बस्न गरेका संघर्ष आदिलाई यहाँ राम्रोसँग बुनिएको पनि उनले जनाए । ‘कतैकतै साथीहरूको खुबै प्रशंसा छ,’ पुस्तकबारे सुवेदी भने, ‘कतैकतै भने यहाँका साथीहरू केही रहेनछन्, उतै पो रहेछन् कि भनेर दार्जीलिङलाई पिटरले सम्झिएका छन् ।’

Advertisement


कार्यक्रममा कार्थकपत्नी रञ्जना कार्थकले पिटरको सम्झना गरिन् । पिटरले आफ्नो सिर्जनात्मक लेखनभन्दा पनि अरुका लागि आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ । ‘जुन सायद उनले गर्नु थियो,’ उनले भनिन् ।


यसअघिका पुस्तक लेखनका विषयमा आफूहरूलाई थाहा भए पनि यो अप्रत्याशित कृति भएको उनले जनाइन् । ‘यो पुस्तक तयार पारिसकेको कुरा पिटर दिवंगत हुनु केही अघि मात्र हामीलाई भनेका थिए,’ उनले भनिन्, ‘त्यसैले पनि योउ पुस्तक हाम्रा लागि विशेष छ ।’


दार्जीलिङबाट नेपाल आई लामो समयसम्म नेपाली साहित्य, संगीत र सम्पादनमा महत्वपूर्ण योगदान दिएका कार्थकप्रतिको श्रद्धाञ्जलीका रूपमा आफूहरूले यो पुस्तक प्रकाशन गरेको प्रकाशक अजित बरालले जनाए । ‘काठमाडौं सेरोफेरोमा बस्नेहरूले यस उपन्यासमा आफूलाई पनि पाउनुहुनेछ,’ उनले भने ।


यो पुस्तक संस्करणात्मक आख्यान हो । यसमा विशेषगरी सन् १९६८ देखि १९७२ को काठमाडौंको चित्रण गरिएको छ । त्यति बेला पश्चिमा युवा–युवती स्वतन्त्रता र निर्वाणको खोजीमा हिप्पी ट्रायल पछ्याउँदै नेपाल आउँथे । यस पुस्तकले त्यसैको कथा भन्छ । कार्यक्रममा निर्मलमान तुलाधरले पिटर जे कार्थकको एउटा गीत ‘मायालु’ शीर्षकको गीत गाएर स्वर्गीय कार्थकको सम्झनासमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया