शिशुवा—सातमुहाने सडक स्तरोन्नति गर्न विश्व बैंकको १ अर्ब दिने

समाधान संवाददाता २०८० पुष ४ गते ११:०१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३० को शिशुवादेखि रुपा गाउँपालिकाको सीमा सातमुहानेसम्मको सडक स्तरोन्नति गर्न विश्व बैंकले १ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बैंककै सहयोगमा अहिले तालचोकदेखि बेगनाशताल बसपार्कसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।


महानगरपालिकाले शिशुवादेखि सातमुहानेसम्मको सडक स्तरोन्नतिका लागि विश्व बैंकको सहयोग मागेको थियो । महानगरपालिकाको २ महिनाअघिको कार्यपालिका बैठकले उक्त सहयोग माग्ने निर्णय गरेको थियो । मंगलबारमात्रै विश्व बैंकका अधिकारीहरुले महानगरपालिकाले गरेको आग्रह अनुसार १ अर्ब रुपैयाँ स्वीकृत भएको जानकारी गराएको वडा नम्बर ३० का अध्यक्ष दुर्गा सुवेदीले सुनाए ।


‘उहाँहरुले अनुगमन पनि गर्नुभएको थियो,’ वडाध्यक्ष सुवेदीले भने, ‘आज (मंगलबार) मात्रै फोन गरेर १ अर्ब रुपैयाँ स्वीकृत भएको जानकारी दिनुभएको छ ।’ स्तरोन्नति गर्ने भनिएको सडकको अधिकांश भाग वडा नम्बर ३० मा पर्छ । केही भाग वडा नम्बर ३२ पनि पर्छ ।

Advertisement


उक्त सडकको स्थिति अहिले भने निकै जीर्ण छ । तालचोकदेखि बेगनाशतालसम्मको सडकलाई फुटपाथसहित ६ लेनको बनाउने विश्व बैंकको सहयोग उपलब्ध भएपछि शिशुवाबाट सातमुहानेसम्मको सडकको पनि चर्चा हुँदै आएको थियो । अब उक्त जीर्ण सडकले पनि उत्तिकै लेनमा फराकिलो हुने गरी स्तरोन्नतिको काम हुने भएको छ ।

१ वर्षमा नै काम सक्ने गरी स्तरोन्नति सुरु गरिने जानकारी वडाध्यक्ष सुवेदीले दिएका छन् । तालचोक—बेगनाशताल सडकको काम भने दसकौंअघि सुरु गर्ने भन्दाभन्दै ढिला भएको थियो । सडकको राइटअफ वे सफा नहुँदा काम सुरु हुन बेर लागेको थियो । सातमुहाने जाने सडकमा भने त्यस्तो ढिलाइ नहुने विश्वास गरिएको छ ।

Advertisement


सातमुहानेसम्म सडक स्तरोन्नति भए रुपा गाउँपालिका हुँदै लमजुङ जानेहरुलाई पनि सजिलो पर्नेछ । रुपा गाउँपालिकापट्टिको सडक भने कालोपत्रे र स्तरोन्नति भइसकेको छ । पालिकाको पहलमा गण्डकी प्रदेश सरकार रुपा हुँदै लमजुङ पुग्ने सडकहरुको केही वर्षअघि नै स्तरोन्नति तथा कालोपत्रे गरेको थियो । गाउँपालिकापट्टि स्तरीय कालोपत्रे सडक तर सातमुहानेपछि जीर्ण हुँदा स्थानीयले स्तरोन्नतिको माग गर्दै पनि आएका थिए ।

तपाईको प्रतिक्रिया