विपद् जोखिम कार्यक्रमलाई निरन्तरता दिन प्रस्ताव

समाधान संवाददाता २०८० पुष ४ गते १३:३७

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले विपद्को दृष्टिले जोखिम युक्त वडाहरुमा सञ्चालित कार्यक्रममा निरन्तरता दिन पोखरा महानगरपालिकालाई प्रस्ताव गरेको छ । पोखरा महानगरमा चलेको सहरी विपद् उत्थानशील निर्माण कार्यक्रम (अर्बानसी) तथा उत्थानशील जीविकोपार्जन (रेसिलेन्ट लाइभीहुड प्रोग्राम) परियोजनाको वहिर्गमन तथा हस्तान्तरण कार्यक्रममा सभापति डण्डराज शर्मा पौडेलले त्यस्तो प्रस्ताव गरेका हुन् ।


नेपाल रेडक्रस सोसाइटीले ब्रिटिश रेडक्रसको सहयोगमा स्थानीय सरकार र सहरी जनसंख्यासहित विशेष लक्षित समूहको विपद् उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ सन् २०१६ देखि २०२१सम्म ५ वर्षका लागि पोखरा महानगरपालिका सहरी विपद् उत्थानशील निर्माण कार्यक्रम चलाएको थियो ।


सो कार्यक्रमको सफलतापूर्वक सकिएपछि जनघनत्वको वृद्धिदर उच्च रहेको पोखरामा कार्यक्रमको माध्यमबाट रेडक्रस गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ सन २०२१ देखि २०२३सम्म उत्थानशील जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिएको छ । सभापति पौडेलले कार्यक्रमको अनुगमन र मूल्यांकनमा पोखराको अवस्था राम्रो भएको बताए । ‘विगतदेखि सञ्चालित कार्यक्रमको अगुवाई पोखरा महानगरको हो । हामी सहयोगी हौं,’ उनले भने, ‘कार्यक्रमको क्रममा तयार भएको दक्ष जनशक्तिलाई परिचालन गरी असल अभ्यास र प्रकृतिमा आधारित समाधानका उपायलाई निरन्तरता दिन आवश्यक छ ।’

Advertisement


उनले विपद् साझा सवाल भएकाले सबैको समन्वय र सहकार्यमा कार्यक्रमअघि बढाउन प्रस्ताव गरे । उनले समुदाय जागरुक र सक्षम भए विपद्लाई व्यवस्थापन गर्न सकिने बताए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले परियोजनाले अनुगमन तथा मूल्यांकनमा ८५ प्रतिशत उपलब्धि हासिल गरेको जानकारी दिए । उनले महानगरको सहकार्यमा कार्यक्रमलाई निरन्तरता दिन सकिने बताए ।


पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले विपद् व्यवस्थापनका सवालमा रेडक्रससँगको समन्वयमा कार्यक्रम गर्ने उल्लेख गरिन् । उनले आगामी दिनमा अर्को परियोजनासँग जोडिन सकिने बताइन् ।

Advertisement


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका विपद् व्यवस्थापन संयोजक उमेशप्रसाद ढुंगानाले बिट्रिश रेडक्रसको सहयोगमा विपद् व्यवस्थापनको काम गर्दै आएको जानकारी दिए । पालिका र वडालाई अग्रभागमा राखेर गरेको कार्यक्रमलाई अहिले भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गरेको उल्लेख गरे ।


सहरी विपद् उत्थानशील परियोजनाका संयोजक देवनारायण पौडेलले पोखरा महानगरका जोखिमयुक्त ८ वडामध्ये वडा नम्बर ६, १३ र १८लाई केन्द्रमा राखेर कार्यक्रम गरेको बताए । उनले महानगरको सबै योजना प्रणालीमा विपद् व्यवस्थापनको सवाललाई मुल प्रवाहीकरण गरेको जानकारी दिए । जोखिममा परेको समुदायलाई लक्षित जीविकोपार्जन कार्यक्रममा सहयोग पाएकामध्ये ८५ प्रतिशतले राम्रो काम गरेको उनले उल्लेख गरे ।


पोखरा महागरपालिका वडा नम्बर १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले समुदायलाई लक्षित गरी सञ्चालित कार्यक्रम राम्रो भएकाले निरन्तरता दिन आवश्यक भएको बताए । कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्का, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य वासुदेव बराल, वडा नम्बर १३ का वडा सदस्य रजनी परियार, रेडक्रस सोसाइटी पोखरा ६ उपशाखाका उपसचिव तुलसी सुवेदी, लाभग्राही जयलाल बराल, हेममाया तामाङ, धनमाया महर्जन लगायतले विपद् व्यवस्थापनका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया