यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेदले सडकमा पुर्याउँछ

समाधान संवाददाता २०८० पुष ५ गते ७:५९

पोखरा ।
बेलुका भएपछि उनीहरु ग्राहकको पर्खाइमा हुन्छ । सडकपेटी उनीहरुको ग्राहक पर्खाइको थलो हो । पोखरा पृथ्वीचोकदेखि सिर्जनाचोकको सडकपेटीतिर बेलुकी ८ बजेपछि उनीहरु आइपुग्छन् । सडकमा हिँडिरहेका वा गाडीमा गुडिरहेकाहरुतिर नजर फ्याँक्छन् । नजरसँग नजर जुधाउनेमध्ये केही जिज्ञासु सोधपुछका लागि पुग्छन् अनि कुराकानी सुरु हुन्छ । कति उनीहरुको ग्राहक बन्न राजी हुन्छन् कति हुँदैनन्, तर्केर जान्छन् ।


ग्राहक पर्खने उनीहरु यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हुन् । यसरी ग्राहकसँग जाने धेरैजसो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरु असुरक्षित यौन व्यवसायमा संलग्न छन् । यसरी तेस्रोलिंगी भेटिने ठाउँलाई ‘हटस्पोट’ भन्ने गरिएको छ । यो समुदायको हितमा कार्यरत नौलो बिहानी पोखराको तथ्यांकमा कुल तेस्रोलिंगीमध्ये ३० प्रतिशतभन्दा बढी यौन व्यवसायी छन् ।


यौन व्यवसाय उनीहरुको रहरभन्दा बाध्यता रहेको सम्बद्धहरु बताउँछन् । नौलो बिहानीकी कार्यक्रम अधिकृत रजनी थकाली समाजकै हेला, होचो र विभेदले यो समुदाय यौन धन्दामा पुग्न बाध्य भएको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो समुदायमाथि जन्मदेखि नै विभेद सुरु हुन्छ । सम्मान, रोजगारी, समाजमा इज्जत नपाएपछि पुग्ने त सडकमै हो । राज्यले हाम्रो समुदायको हितका लागि धेरै काम गर्न बाँकी छ ।’ थकालीको भनाइसँग धेरैजसो तेस्रोलिंगी सहमत छन् ।

Advertisement


नौलो बिहानी यो समुदायको हितमा काम गर्ने कास्कीको एकमात्र संस्था हो । यसको तथ्यांकमा यो वर्ष ६ सय १६ जना यो समुदायका मानिस सम्पर्कमा आएका छन् । तीमध्ये ३४ प्रतिशत यौन व्यवसायमा संलग्न भएको बताइन्छ ।


यौन व्यवसाय त्यो पनि असुरक्षित तवरको रहेको संस्थाका मनिटरिङ एन्ड एभ्यालुयसन अफिसर अनिष भुजेलको भनाइ छ । यकीन तथ्यांक नभए पनि आधा जति यो समुदायका सदस्य असुरक्षित यौन व्यवसायमा संलग्न भएको हुन सक्ने उनी औंल्याउँछन् । ‘केहीले बजार प्रतिनिधि, किरान पसल चलाएर जीविका गर्नुभएको छ । धेरै यौन व्यवसायमा हुनुहुन्छ । हामी यो समुदायको बढी चहलपहल हुने ठाउँमा पुगेर उनीहरुको खोजी गर्छौं,’ भुजेलले भने ।

Advertisement


नौलो घुम्तीले यो समुदायको जोखिममा रहेकाहरुको निशुल्क एचआइभी जाँचका लागि क्लिनिक चलाएको छ । मेरो साथी क्लिनिकले अनलाइन बुक गरी एचआइभी टेस्ट गर्न मिल्ने व्यवस्था गरेको छ । तर यो क्लिनिक दर्ता हुन बाँकी छ । कार्यक्रम अधिकृत थकाली भन्छिन्, ‘हाम्रो समुदायका सदस्यलाई बाहिरका क्लिनिकमा जान, समस्या भन्न गाह्रो हुने भएकाले यही क्लिनिक चलाएका हौँ ।’


पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ यो समुदायको उत्थानका लागि प्रभावकारी योजना बनाउने प्रतिवद्धता व्यक्त गर्छिन् । भन्छिन्, ‘आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक तालिम हामी दिन्छौँ, तालिमपछि रोजगारीका अवसर आउँछन् । आफ्नै काम गर्न चाहनेलाई बिउँ पुँजी दिने योजना पनि महानगरले चलाइरहेको छ ।’


हिंसाबारे छलफल हुँदा समाजको पिँचमा रहेको तेस्रोलिंगी समुदाय पनि समेटिनुपर्ने नारी जागरण अभियानकी संयोजक अञ्जु केसीको भनाइ छ । ‘कसैले हिंसा भोग्नु नपरोस् भनी रहँदा जन्मदेखि विभेद भोग्ने समुदायलाई छुटाउन मिल्दैन, यो समुदायलाई साथसाथै लैजानुपर्छ,’ उनी भन्छिन् । अभियानले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा क्वेर समुदाय रहेको ठाउँमै पुगेर उनीहरुलाई सम्मानसमेत गरेको थियो ।


कास्कीमा यो समुदायको यकीन तथ्यांक छैन । पहिचान खुलेपछि विभेद सहुनपर्ने भएकाले जनगणनामा पनि यो समुदायको सही तथ्यांक नआएको सरोकारवालाहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनको अध्ययनले होमोसेक्सुअल ओरिन्टेसन भएका मान्छे कुल जनसंख्याको ३ देखि ४ प्रतिशत हुने जनाएको छ । त्यसैअनुसार नेपालको ३ करोड जनसंख्यामा ८ देखि ९ लाख यो समुदाय भएको अनुमान छ ।

तपाईको प्रतिक्रिया