३ पत्रकारलाई कीर्ति पुरस्कार

समाधान संवाददाता २०८० पुष ५ गते ११:४७

पोखरा ।
पोखरा तथा काठमाडौंका ३ अग्रज पत्रकारलाई बुधबार कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित वृत्ति सम्मानबाट डा सुरेश आचार्य, माधव शर्मा र कृष्ण बास्तोलालाई सम्मान गरिएको हो ।


नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगायतले उनीहरुलाई सम्मान गरे । सो पुरस्कारको राशि नगद १ लाख ११ हजार १ सय ११सहित दोशल्ला र सम्मानपत्र छ । प्राविधिक कारणले वितरण गर्न बाँकी रहेका विगतका पुरस्कारसमेत एकैपटक बाँडिएको हो । कीर्ति पुरस्कार ०७७ बाट डा आचार्य, ०७८ बाट शर्मा र ०७९ बाट बास्तोला सम्मानित भएका हुन् ।


कार्यक्रममा पूर्व प्रधानमन्त्री देउवाले देश र लोकतन्त्रको रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहने बताए । ‘मिडियाका लागि ब्याड न्युज इज गुड न्युज हुन्छ, तर पनि त्यसलाई छाडेर पत्रकार रचनात्मक बन्नुपर्छ,’ उनले भने, ‘मिडियाले रचनात्मक र सिर्जनात्मक गतिविधिलाई उचित स्थान दिनु पर्छ ।’ उनले विकृति र विसंगति बढेकाले सबै क्षेत्रमा सुधार आवश्यक भएको बताए । त्यो सुधार पत्रकारिता र राजनीति दुवैतिर जरुरी रहेको सभापति देउवाले औंल्याए ।

Advertisement


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेक न्युज तथा सामाजिक सञ्जालमार्फत भएको छाडातन्त्रलाई नियन्त्रण गर्नुपर्ने विचार राखे । स्वतन्त्र प्रेसको सम्मान गर्ने उल्लेख गर्दै उनले प्रेसलाई नियन्त्रण गर्ने नभई नियमन गरिने जनाए । ‘प्रेसलाई नियन्त्रण गर्नुपर्छ भन्ने पक्षमा सरकार छैन, अहिले देखिएका केही गतिविधि सह्य छैनन् । ती प्रवृत्तिको नियमन जरुरी छ,’ उनले भने ।


मुख्यमन्त्री पाण्डेले गण्डकी सरकारले चाडै मिडिया ऐन निर्माण गर्ने प्रतिवद्धतासमेत जनाए । यसअघिका सरकारले २ पटक सदनमा पेश गरे पनि पारित नभएको मिडिया विधेयक अहिले फेरि गण्डकी प्रदेशसभामा छलफलमा छ ।

Advertisement


गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आवश्यक कानुन निर्माण गरी पत्रकारिता क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिइन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्यले मिसन पत्रकारिता हुँदै व्यावसायिक हुने दिशमा अघि बढेको नेपाली पत्रकारिताको विकासका लागि आवश्यक ऐनहरु चाँडै निर्माण हुनुपर्ने विचार राखे ।


सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमबीच फरक हुनुपर्ने र कानुनले फरक रुपमा नियमन गर्नुपर्ने उनको भनाइ छ । पुरस्कृत व्यक्तित्व आचार्यले भने, ‘सञ्चार मन्त्रालयमा अहिले पाँच विधेयक थन्किएका छन् । कानुनी नबनाई निर्देशिकाको भरमा मिडिया चलाउनु उचित हुँदैन ।’ समारोहमा पुरस्कृत व्यक्तित्वहरु माधव शर्मा र कृष्णप्रसाद बास्तोलाले नेपालको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरुबारे बोलेका थिए ।


कार्यक्रममा नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्साल, प्रतिभा छनोट समितिका संयोजकहरु पुण्य पौडेल र बद्रीविनोद प्रतीक, पुरस्कारका संस्थापक किरण केसी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल लगायतले बोलेका थिए ।


पूर्व सांसद, पोखराका उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारजनले स्थापना गरेको सूर्यप्रेम बहुउेद्देश्यीय समाजसेवा ट्रस्टद्वारा कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७३ सालबाट प्रदान गर्दै आएको छ । यसअघि पत्रकारहरू युवराज घिमिरे, नारायण कार्की, किशोर नेपाल र बद्रिविनोद प्रतीकलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया