‘नेपाल विकासशील देश बन्न सक्छ’

समाधान संवाददाता २०८० पुष ५ गते १२:२३

पोखरा ।
नेपाल सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी र नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा गण्डकी प्रदेश सभाका सदस्य, उद्योगी व्यवसायी तथा बुद्धिजीवीसँग अन्तक्र्रिया गरेका छन् ।


नेपाल अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुँदा नेपालले गर्नुपर्ने तयारी विषयक अन्तक्र्रिया गरेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले विकासशील देशमा जाँदा पर्न सक्ने असर र प्रभावको बारेमा अवधारणापत्र प्रस्तुत गरे ।


उनले अहिलेको नेपालको अवस्था र जाँदाका फाइदा र वेफाइदाको बारेमा विश्लेषण प्रस्तुति राखे । संयुक्त राष्ट्र संघले तय गरेको मापदण्ड अनुसार प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक तथा वातावरणीय जोखिमको सूचकांकको आधारमा अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुन सक्छ ।

Advertisement

प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, आर्थिक तथा वातावरणीय जोखिमको सूचकांकका आधारमा अति कम विकसितबाट स्तरोन्नति हुन सक्छ


‘तीन सूचकमध्ये नेपालले सन् २००३ देखि २०२१ सम्ममा मानव विकास सूचकांक र आर्थिक तथा वातावरणीय जोखिमको सूचकांकमा मापदण्ड पूरा गरेको छ,’ उनले भने, ‘विकासशील मुलुकमा जानको लागि अहिलेको लागि नेपालको अवस्था सन्तोषजनक छ । २ वटा मापदण्ड पुरा गरेको अवस्थामा प्रतिव्यक्ति आयको मापदण्ड पूरा नभए पनि हुन्छ ।’ उनले नेपालले गर्नुपर्ने पूर्व तयारी अन्तर्गत प्रतिव्यक्ति आय बढाउँदै जानुपर्ने सुझाव दिए ।

Advertisement


स्थिर मौद्रिक नीति र वित्तीय दिगोपन कायम गर्नुपर्ने चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न निजी क्षेत्रलाई सक्षम बनाउनुपर्ने बताए । उनले विकासशील देश भइसकेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु पठाउँदा भन्सार मुक्त, शुल्क मुक्त र कोटा मुक्तको प्रवेश सुविधामा कमी हुने संकेत गरे । उनले भारत र चीनले विकास सहायतालाई अति कम विकसित देशको सम्बन्धसँग नजोडिएकोले नेपाल विकासशील देशमा जाँदा असर नपर्ने तर्क गरे ।


नेपालले सन २०१५ देखि बहुपक्षीय विकास साझेदारबाट अनुदान नपाएको जानकारी दिँदै उनले विकासशीलमा जाँदा विकास साझेदारबाट आउने अनुदान नघट्ने तर्क गरे । उनले सयुक्त राष्ट्र संघका सदस्य राष्ट्रकोतर्फबाट गर्ने योगदान बढ्न सक्ने जानकारी दिए । उनले विकासशील देशका स्तरोन्नति भएपछि नेपालको विकासमा कोशेढुंगा सावित हुने दाबी गरे । नेपाल सन् १९७१ देखि विकासशील देशमा जाने समूहमा प्रवेश गरेको अवस्थामा नेपालले अधिकतम उपयोग गरेर फाइदा लिनुपर्ने उनको तर्क छ ।


अति कम विकसित देशको नागरिक भन्दा हिनताबोध भएको अवस्थामा विकासशीलमा गएपछि राष्ट्रिय प्रतिष्ठामा उल्लेखनीय योगदान पुग्ने दाबी गरे । उनले अन्तर्राष्ट्रिय समुदायमा नेपालको चासो बढ्ने बताए । कार्यक्रममा संविधान सभाका सदस्य चूडामणि जंगली, टीकाराम पंगेनी, कालीदास शर्मा, कृष्ण तिवारी र अञ्जु केसीले विकासशील देशमा जाँदाका फाइदा बेफाइदाको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया