सीप विकासका तालिम सुरु

समाधान संवाददाता २०८० पुष ५ गते १२:३१

पोखरा ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजनामा बुधबारबाट विभिन्न तालिम सुरु भएका छन् । प्रथम चौमासिकका १७ तालिममा १ सय ८० जना प्रशिक्षार्थी सहभागी छन् ।


गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले तालिम औपचारिक रुपमा सुरुआत गरिन् । उनले स्वाबलम्बी हुनु जत्तिको ठूलो कुरा केही नभएको औंल्याइन् । मन्त्री सिम्खडाले सम्पत्ति अरुलाई बाड्नुपर्ने, खर्च गरेर सकिने उदाहरण दिँदै ज्ञान, सीप भने जति खर्चियो उति बढ्ने तथ्य मनन गर्न आग्रह गरिन् ।


मन्त्री सिम्खडाले भनिन्, ‘सके व्यावसायी, उद्योगी बनाऔं, नसके स्वरोजगार त बनौँ । आफ्नै खुट्टामा उभिनुजत्तिको ठूलो कुरा अरु केही छैन ।’ प्रशिक्षार्थीलाई आर्जित तालिमलाई जीविकोपार्जनको आधार बनाउन आग्रह गर्दै उनले बेला बेलामा आफूले अनुगमनसमेत जनाइन् ।

Advertisement


केन्द्रका कार्यालय प्रमुख लक्ष्मीभद्र वाग्लेले तालिमबाट मानिसको ज्ञान, सीप र धारणा विकास हुने उल्लेख गरे । उनले देशमै उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्न यस खालका तालिम आयोजना गरिएको जनाए । ‘यथासक्य यो तालिमपछि तपाईहरु देशमै उत्पादनमा लाग्नोस्, स्वरोजवार वा व्यवसायी बन्नुस् । कदंकदाचित विदेश जानुपरे पनि दक्ष जनशक्तिका रुपमा काम गर्न सहयोग पुगोस् भन्ने लक्ष्य हो,’ वाग्लेले भने ।


केन्द्रले अहिले पोखरामा ९ र पोखराबाहिर ८ प्रकारका तालिम दिइरहेको छ । भाडाका साँधुरा घरमा तालिम दिनुपर्ने अवस्था, पर्याप्त स्रोत, साधन नभएको जनाउँदै वाग्लेले यी सीमिततालाई हटाउन मन्त्रालयसँग आग्रह गरे । तालिमपछि सीप परीक्षण जरुरी हुने औंल्याउँदै उनले सिटिइभिटीबाहेक प्रदेशले यस खालको संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

Advertisement


केन्द्रका कार्यक्रम अधिकृत डिल्लीराज सुवेदीले सीप सिकेपछि व्यवहारमा परिवर्तन र आयआर्जनमा वृद्धि हुनुपर्नेमा जोड दिए । पोखरामा रहेको यो केन्द्रको कार्यक्षेत्र गण्डकीका कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, मनाङ र नवलपुर गरी ७ जिल्ला हुन् ।

तपाईको प्रतिक्रिया