लेखनाथ महोत्सव आजदेखि

समाधान संवाददाता २०८० पुष ५ गते १२:५०

लेखनाथ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ लेखनाथमा आजबाट महोत्सव हुँदै छ । १९ औं संस्करणको लेखनाथ महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेका हुन् ।


महोत्सवको तयारी सकिएको र बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने महोत्सव मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । पुस १६ गतेसम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरणमा योगदान पुग्ने आयोजकको दाबी छ ।


दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, आन्तरिक एवं वाह्य पर्यटक आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याइने महोत्सवका प्रचारप्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ले बताए । महोत्सवले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान गर्ने उनको विश्वस छ ।

Advertisement


महोत्सवस्थलमा थ्रिडीमार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलइडी डिस्प्लेमार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकाबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका गतिविधि हुनेछन् ।


महोत्सवको बचतबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, बेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका काम गरिनेछ ।

Advertisement


३ सय ३४ स्टल रहने यो महोत्सव २ लाख ५० हजारभन्दा बढीले हेर्ने आयोजकको अपेक्षा छ । करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने महोत्सवबाट करिब ९० लाख आम्दानी र ८० लाख खर्च भई १० लाख बचत हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया