प्रदेश खेलकुद परिषद–कर्मचारी छलफल

समाधान संवाददाता २०८० पुष ५ गते १३:०५

पोखरा ।
प्रदेश खेलकुद परिषद(प्रखेप) गण्डकीले कर्मचारीसँग छलफल गरेको छ । साबिक पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुकोसंयुक्त बैठकले एकजुट भएर अघि बढ्ने निर्णय लिएको छ ।


परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा भएको बैठकले साविक क्षेत्रीय खेलकुदमा कार्यरत कर्मचारीसमेत मंगलबारको निर्णय अनुसारअघि बढ्ने तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई प्रदेश खेलकुदका विभिन्न विभाग अन्तर्गत रही कार्य गर्ने गरी बैठकले तय गरेको जनाउँदै विगतमा देखिएका समस्या बसेर छलफलका आधारमा टुंग्याउने निर्णयसमेत भएको उनले जनाए ।


‘आजको बैठकले राम्रो सन्देश दिएको छ,’ सदस्य सचिव शर्माले भने, ‘राखेप अन्तर्गत क्षेत्रीय खेलकुदमा कार्यरत ६ जना कर्मचारीले अब प्रदेश खेलकुदमा रहेर हामीलाई सहयोग गर्नुहुनेछ ।’ राखेपले कर्मचारीका समस्या समाधान गर्न ओएनएमको कार्यदलसमेत गठन गरीअघि बढिसकेको जनाउँदै सदस्य सचिव शर्माले ओएनएमको प्रक्रियागत रुपमा नसकिएसम्म कर्मचारीले प्रदेश अन्तर्गत रहेका विभिन्न विभाग सम्हाल्ने उल्लेख गरे ।

Advertisement


बैठकमा साबिक क्षेत्रीय खेलकुदमा कार्यरत डिबी नेपालीले ओएनएमले गति नलिँदा कर्मचारीका समस्या बल्झिएको जनाए । उनले भने, ‘हामीले लामो समयदेखि खेलकुद विकासका लागि योगदान दिएका छौं । हामी ओएनएम छिटो पारित भएमा सबैका लागि सहज हुनेछ । तर पनि हालको अवस्थामा हामी प्रदेश खेलकुद अन्तर्गत रहेर कार्य गर्न कुनै दुविधा छैन ।’


साबिक क्षेत्रीय खेलकुदका प्रशिक्षण विभाग प्रमुख बलराम लामाले क्षेत्रीय खेलकुदको खारेजीसँगै प्रक्रियागत रुपमा कार्य गर्न समस्या भएको जनाउँदै कर्मचारीका समस्या फुकाउन राखेप र परिषदले छिटो पहल गर्नुपर्ने औंल्याए । बैठकले कर्मचारीको हाजिर साबिककै कार्यालयमा रहे पनि त्यसको प्रमाणिकरण भने प्रदेश खेलकुद परिषदले गर्ने भएको छ ।

Advertisement

साबिक क्षेत्रीय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीलाई प्रशासन तथा समन्वय शाखा, बलराम लामालाई प्रशिक्षण शाखा, ई. अनिल अधिकारीलाई योजना शाखा, डम्वरबहादुर नेपाली (डिवी)लाई प्रशासन, मायाँ गुरुङलाई प्रशासन र प्रशिक्षण शाखा र भोज कुंँवरलाई प्रशिक्षण तथा प्रशासन शाखाको जिम्मेवारी दिइने परिषदले जनाएको छ ।


बैठकमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख नीलकण्ठ ढकाल लगायतको सहभागिता थियो । बैठकमा आसन्न राष्ट्रपति खेलकुद प्रतियोगिता लगायत कार्यालयहरुको व्यवस्थापन, ऐन कार्यान्वयन, कार्यालय सञ्चालन र व्यवस्थापन, खेल मैदानहरुको व्यवस्थापन तथा संरक्षण, खेलकुद गतिविधि, खेलाडी उत्पादन, जिल्लामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको नामावली संकलन लगायतका विषयमा छलफल भएको परिषदले जनाएको छ ।

तपाईको प्रतिक्रिया